Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विपद् प्रभावित क्षेत्रका लागि प्रदेश सरकारले छ अर्ब परिचालन गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |
newsabhiyan

ललितपुर, ८ मङ्सिरः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण गर्न प्रदेश सरकारले छ अर्ब परिचालन गर्ने बताउनुभएको छ ।

बागमती प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको भोटेकोशी बाढीपश्चात् पुनर्निर्माण र पुनःस्थापनाका क्षेत्रमा हालसम्म भएका कार्य, आगामी कार्ययोजनासम्बन्धी समन्वय बैठकमा उहाँले बाढी प्रभावित क्षेत्रमा पुनःस्थापना, पुनर्निर्माण र प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकतामा राखेर काम गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न क्षेत्रका योजना कटौती गरी विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रदेश सरकारले बजेट व्यवस्था गरेको छ ।

विपद् कोषमा रहेको १० करोड पाँच लाख तत्कालै खर्च हुने अवस्था आएपछि चालु बजेटमा रहेका कम प्राथमिकताका विकास योजना कटौती गरी प्रत्येक मन्त्रालयबाट १० देखि २० प्रतिशतसम्म बजेट व्यवस्थापन गरेको छ ।” 

मुख्यमन्त्री थापा मगरले सडक, पुल, बस्ती व्यवस्थापन, व्यवसाय पुनःस्थापना तथा अन्य प्रभावित संरचनाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने विश्वास दिलाउनुभयो ।

गत भदौ १० गतेको बाढीपछि प्रदेश सरकारले तत्कालै विपद् परिषद्को बैठक बसेर खोज, उद्दार, उपचार, राहत वितरण तथा वैकल्पिक सडक सञ्चालनका काम सुरु गरेको मुख्यमन्त्रीले स्मरण गर्नुभयो ।

उहाँले प्रभावित नागरिकका माग र आवश्यकताका आधारमा प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर योजनाबद्ध रूपमा बजेट कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुुभयो ।

विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तहबीच एउटै लक्ष्य र योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री थापा मगरले तीनै तहका सरकार छुट्टाछुट्टै ढङ्गले अघि बढ्दा अपेक्षित परिणाम हासिल गर्न नसकिने बताउनुभयो ।

प्रभावित नागरिकको पीडा प्रदेश सरकारले गम्भीरतापूर्वक महसुस गरेको उल्लेख गर्दै उहाँले स्थानीय जनप्रतिनिधिले सीमित स्रोतसाधनका बाबजुद उद्दार, राहत तथा व्यवस्थापनमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । 

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले  वास्तविक समस्यामा आधारित रही समस्या सम्बोधन हुने ढङ्गले व्यवस्थापन गरिनुपर्छ गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

उहाँले विपद्सम्बन्धी समयमा काम गर्न सकिएन भने स्थानीय निर्वाचनका कारण पुनर्निर्माण र पुनःस्थापनाका समस्या ओझेलमा पर्न सक्ने भएकाले बजेटबाट के–के काम गर्न सकिन्छ भनी ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभयो ।
 
प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सरल सहयात्री पौडेलले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन परम्परागत कार्यान्वयन प्रणालीभन्दा फरक र परिणाममुखी मोडेल अपनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पुनःस्थापनालाई मुख्यतः मानवीय सहायता, रोजगारी तथा जीविकोपार्जन, भौतिक पूर्वाधार र बस्ती व्यवस्थापनका क्षेत्रमा केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।

मन्त्री पौडेलको विपद्का कारण परिवारका सदस्य गुमाएका, व्यवसाय गुमाएका तथा आर्थिक रूपमा कमजोर बनेका नागरिकलाई लक्षित गरी मनोसामाजिक सहयोग, सिपमूलक तालिम र रोजगारीका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव थियो । 
 
प्रदेशसभा सदस्यहरु प्रभात तामाङ र रमेशकुमार महत तथा रसुवा र नुवाकोटका स्थानीय तहका प्रमुख उपप्रमुख, वडाअध्यक्ष लगायतले स्थानीय समस्याबारे जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan