गुरु नानकको ५५७औँ जयन्ती मनाइयो
काठमाडौँ, ८ मङ्सिरः शिख धर्मका प्रवर्तक गुरु नानकको ५५७औँ जन्मजयन्तीका अवसरमा कुपण्डोलस्थित गुरुद्वारमा धार्मिक कार्यक्रम आयोजना गरिएको छ ।
हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन गुरु नानकको जन्मजयन्ती मनाउने परम्पराअनुसार आयोजित कार्यक्रममा धार्मिक प्रवचन तथा गुरु ग्रन्थ साहिबको पाठ गरिएको थियो। यस दिनलाई शिख धर्मावलम्बीले गुरुपर्वका रूपमा मनाउने गर्छन् ।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले गुरु नानकले प्रतिपादन गरेको मानवतावादी दर्शन र शिक्षाको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । समाजमा विद्यमान द्वन्द्व र हिंसा अन्त्य गर्न गुरु नानकलगायत धर्मगुरुका उपदेश उपयोगी हुने उहाँको भनाइ थियो ।
वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले गुरु नानकले प्रतिपादन गरेको आध्यात्मिक दर्शन समाज सुधार र मानव कल्याणमा केन्द्रित रहेको बताउनुभयो । उहाँले जयन्तीका अवसरमा शिख धर्मावलम्बीलाई शुभकामना व्यक्त गर्नुभयो ।
गुरुद्वारका प्रमुख प्रितम सिंहले विश्वभरका शिख धर्मावलम्बीले प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन गुरु नानकको जन्मजयन्ती मनाउने गरेको जानकारी दिनुभयो ।
समाजसेवी जसपाल सिंहले ज्ञानेश्वर, बालाजु, पशुपति र थापाथलीलगायत स्थानमा रहेका प्राचीन नानक मठ शिख धर्मावलम्बीका पवित्र तीर्थस्थल भएकाले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशका विभिन्न स्थानमा रहेका गुरुद्वारमा पनि जयन्ती मनाइएको जानकारी दिनुभयो ।
गुरु नानकले तत्कालीन समाजमा विद्यमान सामाजिक विकृति र कुरीतिविरुद्ध आवाज उठाउँदै समानता, बन्धुत्व र सद्गुणमा आधारित विभेदरहित समाजको अवधारणा अघि सार्नुभएको विश्वास गरिन्छ ।
