विदेशी डलरको ब्याजले राष्ट्र बैंक मालामाल, देशभित्र अर्थतन्त्र बेहाल !
सरकारी ढुकुटीमा राष्ट्र बैंकको ४२ अर्ब भरथेग : उत्पादन ठप्प, बैंकमा पैसा थुप्रियो, रेमिट्यान्स र विदेशी ब्याजको भरमा चम्कियो केन्द्रीय बैंकको वासलात
काठमाडौं, ११ मंसिर । मुलुकको अर्थतन्त्रको ऐना मानिने नेपाल राष्ट्र बैंकको वित्तीय वासलात अहिले हेर्दा निकै आकर्षक देखिन्छ।
विदेशी मुद्रा सञ्चितिमा ऐतिहासिक वृद्धि, विदेशी बैंकमा राखिएको डलरको ब्याजबाट अर्बौं आम्दानी, सुनको मूल्यवृद्धिबाट प्राप्त लेखांकन लाभ र ८३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा ।
कागजमा हेर्दा नेपालको आर्थिक अवस्था निकै सबल र उत्साहजनक देखिन्छ। तर यही तथ्यांकको अर्को पाटो पल्टाउने हो भने देशभित्रको अर्थतन्त्रको तस्बिर भने ठीक उल्टो छ।
उद्योगधन्दा सुस्त छन्, निजी क्षेत्र लगानी गर्न हच्किएको छ, बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी थुप्रिएको छ, कर्जाको माग कमजोर छ र उत्पादन तथा रोजगारी सिर्जनाको गति अपेक्षाकृत निराशाजनक छ।
एउटै अर्थतन्त्रका दुईवटा अनुहार देखिएका छन्। विदेशमा नेपाली श्रमिकले पसिना बगाएर पठाएको रेमिट्यान्सले विदेशी मुद्रा सञ्चिति बढाएको छ, त्यही सञ्चितिलाई अन्तर्राष्ट्रिय वित्तीय बजारमा लगानी गरेर राष्ट्र बैंकले ब्याज कमाइरहेको छ। तर देशभित्र उत्पादन गर्ने, रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने क्षेत्र भने अझै गति लिन सकेका छैनन्।
यही विरोधाभासबीच नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/८३ को खुद नाफाबाट ४२ अर्ब रुपैयाँ सरकारको सञ्चित कोषमा दाखिला गर्ने निर्णय गरेको छ।
राजस्व संकलनमा दबाब, बजेट घाटा बढ्दो र सार्वजनिक खर्च व्यवस्थापनमा सरकारलाई हम्मेहम्मे परिरहेको अवस्थामा राष्ट्र बैंकबाट प्राप्त हुने ४२ अर्ब रुपैयाँ सरकारका लागि ठूलो वित्तीय भरथेग हो। तर प्रश्न यतिमै सीमित छैन—राष्ट्र बैंकको ढुकुटीमा पैसा थुप्रिँदा देशभित्रको अर्थतन्त्र किन चलायमान हुन सकेन ?
विदेशी मुद्राको सञ्चिति बढ्नु र आन्तरिक उत्पादन बढ्नु एउटै कुरा किन बन्न सकेन ? अनि विदेशमा नेपालीले कमाएको पैसाको ब्याजबाट केन्द्रीय बैंक मालामाल हुँदा स्वदेशी उद्योगी व्यवसायी किन लगानीको वातावरण खोज्दै भौँतारिनुपर्ने अवस्था आयो ?
८३ अर्ब ५६ करोड नाफा, सरकारलाई ४२ अर्ब
नेपाल राष्ट्र बैंकको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा केन्द्रीय बैंकले ८३ अर्ब ५६ करोड ९४ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ८० अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको राष्ट्र बैंकको नाफा एक वर्षमा ३ अर्ब ८ करोड रुपैयाँ अर्थात् ३.८४ प्रतिशतले बढेको हो।
राष्ट्र बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले कानुनबमोजिम विभिन्न अनिवार्य सञ्चिति कोषमा रकम विनियोजन गरेपछि बाँकी रहेको ४२ अर्ब रुपैयाँ नेपाल सरकारको सञ्चित कोषमा दाखिला गर्ने निर्णय गरेको छ।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा पनि राष्ट्र बैंकले सरकारलाई ४२ अर्ब रुपैयाँ नै उपलब्ध गराएको थियो। लगातार दुई आर्थिक वर्ष सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउन सक्नु केन्द्रीय बैंकको वित्तीय क्षमताका दृष्टिले महत्वपूर्ण उपलब्धि हो। तर यसलाई देशभित्रको अर्थतन्त्रले फड्को मारेको प्रमाणका रूपमा बुझ्नु भने वास्तविकताको अपव्याख्या हुनेछ।
राष्ट्र बैंकको नाफा बढ्नुको मुख्य आधार स्वदेशी उत्पादन, औद्योगिक विस्तार वा निजी क्षेत्रको लगानी वृद्धि होइन। यसको मुख्य स्रोत विदेशी मुद्राको लगानीबाट प्राप्त ब्याज आम्दानी हो। अर्थात्, नेपालको अर्थतन्त्रभित्र उत्पादन र रोजगारीको चक्र बलियो नभए पनि विदेशमा लगानी गरिएको विदेशी मुद्राले केन्द्रीय बैंकको आम्दानी बढाइरहेको छ।
विदेशमा डलरको ब्याज, राष्ट्र बैंकको ढुकुटीमा वर्षा
राष्ट्र बैंकको नाफा वृद्धिको सबैभन्दा महत्वपूर्ण आधार विदेशी मुद्राबाट प्राप्त ब्याज आम्दानी बनेको छ। गत आर्थिक वर्षमा केन्द्रीय बैंकले विदेशी मुद्राको लगानीबाट १ खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ९४ अर्ब ८१ करोड रुपैयाँ थियो।
एक वर्षमै विदेशी मुद्राबाट प्राप्त ब्याज आम्दानीमा करिब २३ प्रतिशत वृद्धि हुनु सामान्य उपलब्धि होइन। यसले राष्ट्र बैंकले विदेशी विनिमय सञ्चितिको व्यवस्थापन र अन्तर्राष्ट्रिय वित्तीय बजारमा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त गरिरहेको देखाउँछ।
२०८३ असार मसान्तसम्म राष्ट्र बैंकसँग २३ अर्ब १३ करोड अमेरिकी डलर बराबरको विदेशी विनिमय सञ्चिति थियो।
उक्त रकम विश्वका विभिन्न प्रतिष्ठित वाणिज्य बैंकमा आवधिक निक्षेप, सुन, विदेशी केन्द्रीय बैंकबाट जारी हुने ट्रेजरी बिल्स, नोट्स तथा बन्ड्स र बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बीआईएस) का सुरक्षित वित्तीय उपकरणमा लगानी गरिएको छ।
विश्व बजारमा कायम ब्याजदर, विदेशी मुद्रा सञ्चितिको विस्तार र लगानी व्यवस्थापनबाट प्राप्त प्रतिफलले राष्ट्र बैंकको आम्दानीलाई उचाइमा पुर्याीएको हो।
तर यहाँ एउटा गम्भीर आर्थिक प्रश्न छ। विदेशी बैंकमा डलर थुपारेर ब्याज कमाउनु वित्तीय व्यवस्थापनको सफल पक्ष भए पनि त्यही विदेशी मुद्रा स्वदेशी उत्पादन, उद्योग, पूर्वाधार र रोजगारी सिर्जनासँग जोडिन नसक्नु अर्थतन्त्रको संरचनात्मक कमजोरी होइन र ?
विदेशी मुद्राको सञ्चिति बढ्दै जाने तर स्वदेशी उत्पादनको आधार कमजोर भइरहने हो भने यस्तो समृद्धिले मुलुकलाई कहिलेसम्म धान्न सक्छ ?
देशभित्र २२ अर्ब ब्याज घाटा, बाहिरबाट कमाइको सहारा
राष्ट्र बैंकको वित्तीय विवरणले बाह्य अर्थतन्त्र र आन्तरिक अर्थतन्त्रबीचको असन्तुलनलाई अझ स्पष्ट बनाएको छ। विदेशी मुद्राबाट १ खर्ब १६ अर्बभन्दा बढी ब्याज आम्दानी गर्ने केन्द्रीय बैंकले स्वदेशी मुद्राको ब्याज कारोबारमा भने २२ अर्ब रुपैयाँ खुद नोक्सानी बेहोरेको छ।
अघिल्लो आर्थिक वर्षमा स्वदेशी मुद्राको ब्याज नोक्सानी ७ अर्ब ७६ करोड रुपैयाँ मात्र थियो। एक वर्षमै यो नोक्सानी झन्डै तीन गुणाले बढेको छ।
यसको कारण बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अधिकता र कर्जाको कमजोर माग हो। बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको छ। तर उद्योगी, व्यवसायी र निजी क्षेत्रले अपेक्षित रूपमा कर्जा लिएर नयाँ लगानी विस्तार गर्न सकेका छैनन्।
बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएपछि ब्याजदरलाई अनियन्त्रित रूपमा तल झर्न नदिन राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा (एसडीएफ) मार्फत बैंक तथा वित्तीय संस्थाबाट रकम तानिरहेको छ।
बैंकहरूबाट रकम तानेपछि राष्ट्र बैंकले त्यसको ब्याज तिर्नुपर्ने हुन्छ। यही प्रक्रियाले स्वदेशी मुद्राको ब्याज हिसाबलाई ऋणात्मक बनाएको हो।
यसको अर्थ बैंकमा पैसा नभएर अर्थतन्त्र रोकिएको होइन, पैसा भएर पनि लगानीको वातावरण र कर्जाको माग कमजोर भएकाले अर्थतन्त्रले गति लिन नसकेको हो।
बैंकमा अर्बौं रुपैयाँ थुप्रिँदा पनि नयाँ उद्योग खुल्न नसक्नु, निजी क्षेत्रले जोखिम लिन नचाहनु, व्यवसाय विस्तारको योजना स्थगित हुनु र रोजगारी सिर्जना सुस्त रहनुले अर्थतन्त्रको वास्तविक समस्या उजागर गर्छ।
पैसाको अभावभन्दा विश्वासको अभाव ठूलो समस्या बनेको संकेत यसले गर्छ। विदेशमा नेपाली श्रमिकले पठाएको डलरको ब्याजले राष्ट्र बैंकको स्वदेशी मुद्रामा भएको ब्याज नोक्सानी धानिरहेको छ। यो अवस्था वित्तीय हिसाबले व्यवस्थापनयोग्य भए पनि राष्ट्रिय अर्थतन्त्रको दीर्घकालीन स्वास्थ्यका दृष्टिले सुखद संकेत होइन।
३ खर्ब २६ अर्बको कागजी लाभ, नगद नाफा होइन
राष्ट्र बैंकको वित्तीय विवरणमा अर्को उल्लेखनीय पक्ष विदेशी विनिमय तथा सुनचाँदीको मूल्यमा भएको परिवर्तनबाट सिर्जित पुनर्मूल्यांकन लाभ हो।
गत आर्थिक वर्षमा सुनचाँदीको अन्तर्राष्ट्रिय मूल्यवृद्धिबाट ७१ अर्ब ७१ करोड रुपैयाँ बराबरको पुनर्मूल्यांकन लाभ देखिएको छ। त्यसैगरी अमेरिकी डलरलगायत विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनका कारण २ खर्ब ५४ अर्ब ८३ करोड रुपैयाँ बराबरको लाभ सिर्जना भएको छ।
यसरी कुल ३ खर्ब २६ अर्ब ५४ करोड रुपैयाँ बराबरको पुनर्मूल्यांकन लाभ देखिए पनि यो वास्तविक नगद नाफा भने होइन।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा र नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो हुँदा राष्ट्र बैंकसँग रहेको सुन तथा विदेशी मुद्राको नेपाली रुपैयाँमा गणना गरिएको मूल्य बढ्छ।
यसलाई लेखांकनमा लाभका रूपमा देखाइन्छ। तर सम्पत्ति बिक्री गरेर नगद प्राप्त नगरेसम्म यस्तो लाभलाई वास्तविक नगद आम्दानी मान्न मिल्दैन।
राष्ट्र बैंकले पनि यस्तो लाभलाई सम्पत्तिको बजार मूल्यमा आएको परिवर्तनका आधारमा गरिएको लेखांकन समायोजनका रूपमा स्पष्ट पारेको छ। त्यसैले ३ खर्ब २६ अर्ब रुपैयाँको पुनर्मूल्यांकन लाभलाई सरकारको खर्च गर्ने पैसा वा वितरणयोग्य नाफाका रूपमा बुझ्नु गलत हुन्छ।
अर्थतन्त्रको वित्तीय अवस्था विश्लेषण गर्दा वास्तविक नगद आम्दानी, लेखांकन लाभ र पुनर्मूल्यांकनबाट सिर्जित सम्पत्तिको मूल्यवृद्धिबीच स्पष्ट भिन्नता छुट्याउन आवश्यक छ। कागजमा सम्पत्ति बढ्नु र नागरिकको आम्दानी बढ्नु एउटै कुरा होइन।
३८ खर्ब ९७ अर्ब विदेशी मुद्रा, २३ महिनाको आयात धान्ने क्षमता
नेपालको बाह्य क्षेत्र भने पछिल्लो आर्थिक वर्षमा निकै बलियो देखिएको छ। २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशतले बढेर २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।
यो नेपालको विदेशी मुद्रा सञ्चितिको ऐतिहासिक उचाइ हो। राष्ट्र बैंकका अनुसार उक्त सञ्चितिले मुलुकको २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ।
सामान्यतया विकासशील मुलुकका लागि ६ देखि ७ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चितिलाई सुरक्षित मानिन्छ। नेपालको सञ्चिति त्यसको तुलनामा निकै माथि पुगेको छ।
समीक्षा अवधिमा मुलुकको शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ। चालु खाता पनि ९ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँले बचतमा छ।
यी तथ्यांकले नेपालको बाह्य क्षेत्र तत्कालका लागि दबाबमुक्त र वित्तीय दृष्टिले सुरक्षित रहेको संकेत गर्छन्। तर बाह्य क्षेत्रको सबलता आन्तरिक अर्थतन्त्रको सबलताको पर्याय भने होइन।
विदेशी मुद्रा सञ्चिति बढ्नुको प्रमुख आधार रेमिट्यान्स हो। वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमले विदेशी मुद्रा भण्डार बलियो बनाएको छ। यसले आयात भुक्तानी, बाह्य ऋण दायित्व र विदेशी मुद्रा बजारमा स्थिरता कायम गर्न मद्दत पुर्याीएको छ।
तर यही तथ्यांकभित्र अर्को विडम्बना पनि लुकेको छ। देशमा रोजगारी सिर्जना गर्न नसक्दा लाखौँ नेपाली विदेश जान बाध्य छन्। उनीहरूले विदेशमा श्रम गरेर पठाएको पैसाले मुलुकको विदेशी मुद्रा सञ्चिति बढिरहेको छ।
त्यसैको ब्याजबाट केन्द्रीय बैंकको नाफा बढिरहेको छ। तर उनीहरूलाई विदेश जान बाध्य बनाउने घरेलु अर्थतन्त्रमा अपेक्षित सुधार हुन सकेको छैन।
रेमिट्यान्सलाई केवल विदेशी मुद्रा सञ्चितिको स्रोतका रूपमा हेरेर पुग्दैन। त्यसलाई उत्पादन, उद्यमशीलता, सीप विकास र रोजगारी सिर्जनामा जोड्ने नीति आवश्यक छ।
अन्यथा युवाको श्रम निर्यात गर्ने र उनीहरूले पठाएको पैसाको ब्याजबाट वित्तीय सूचक चम्काउने चक्रबाट अर्थतन्त्र बाहिर निस्कन कठिन हुनेछ।
आयात बढ्यो, निर्यातको आकार अझै कमजोर
वैदेशिक व्यापारको तथ्यांकले पनि नेपालको अर्थतन्त्रको संरचनात्मक कमजोरी देखाउँछ। गत आर्थिक वर्षमा कुल वस्तु निर्यात १३.८ प्रतिशतले वृद्धि भएर ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। तर वस्तु आयात भने १६.२ प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।
निर्यातमा वृद्धि हुनु सकारात्मक भए पनि आयातको आकारको तुलनामा निर्यात निकै कमजोर छ। मुलुकले विदेशबाट ठूलो परिमाणमा वस्तु तथा सेवा खरिद गरिरहेको छ, तर त्यसको अनुपातमा आफ्ना उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्याएउन सकेको छैन।
रेमिट्यान्सका कारण आयात धान्न विदेशी मुद्रा उपलब्ध भइरहेकाले व्यापार घाटाको तत्कालीन दबाब कम देखिएको छ। तर आयातमा आधारित उपभोग र विदेशबाट आउने पैसामा निर्भर अर्थतन्त्र दीर्घकालीन रूपमा कति सुरक्षित रहन सक्छ भन्ने प्रश्न अनुत्तरित छ।
विदेशी मुद्रा छ भन्दैमा उत्पादन क्षमता स्वतः बढ्दैन। सञ्चिति छ भन्दैमा उद्योग खुल्दैनन्। बैंकमा पैसा छ भन्दैमा उद्यमीले लगानी गर्ने आँट गर्दैनन्। त्यसका लागि नीतिगत स्थिरता, लगानी सुरक्षा, पूर्वाधार, बजारको सुनिश्चितता र राज्यप्रतिको विश्वास चाहिन्छ।
महँगी घट्यो तर बजारमा आर्थिक उत्साह फर्किएन
मूल्यवृद्धिको सूचकांकमा भने गत आर्थिक वर्ष सन्तोषजनक सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षमा ४.०६ प्रतिशत रहेको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति घटेर २.०८ प्रतिशतमा सीमित भएको छ।
आपूर्ति प्रणालीमा सुधार, भारतमा महँगी घट्नु र आन्तरिक माग कमजोर रहनु मूल्यवृद्धि घट्नुका प्रमुख कारण हुन्। महँगी नियन्त्रणमा आउनु उपभोक्ताका लागि सकारात्मक पक्ष हो। तर मूल्यवृद्धि घट्नु मात्रै आर्थिक समृद्धिको प्रमाण बन्न सक्दैन।
बजारमा माग कमजोर छ, व्यवसायीको कारोबार सुस्त छ र उपभोक्ताको क्रयशक्ति तथा खर्च गर्ने क्षमतामा अपेक्षित सुधार हुन सकेको छैन भने कम मुद्रास्फीतिलाई मात्रै उपलब्धिका रूपमा व्याख्या गर्नु अपूरो हुन्छ।
आर्थिक गतिविधि विस्तार हुँदा माग बढ्छ, उत्पादन बढ्छ, रोजगारी सिर्जना हुन्छ र आम्दानीको चक्र चलायमान हुन्छ। तर नेपालको अर्थतन्त्रमा अहिले त्यो चक्रले अपेक्षित गति लिन सकेको छैन।
पैसा छ, लगानी छैन : निजी क्षेत्र किन हच्कियो ?
मौद्रिक क्षेत्रका सूचकांकले पनि आन्तरिक अर्थतन्त्रको कमजोर अवस्थालाई पुष्टि गर्छन्। गत आर्थिक वर्षमा विस्तृत मुद्राप्रदाय १३.४ प्रतिशत र संकुचित मुद्राप्रदाय १७.९ प्रतिशतले विस्तार भएको छ। तर कुल आन्तरिक कर्जा २.१ प्रतिशतले मात्र बढेको छ। मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.६ प्रतिशतले वृद्धि भएको छ।
अर्थात् बैंकिङ प्रणालीमा तरलता पर्याप्त भए पनि त्यसको अनुपातमा कर्जा विस्तार हुन सकेको छैन। उद्योगी व्यवसायीले नयाँ परियोजना सुरु गर्न, उद्योग विस्तार गर्न र व्यावसायिक जोखिम लिन आवश्यक आत्मविश्वास प्राप्त गर्न सकेका छैनन्।
यसको पछाडि नीतिगत अनिश्चितता, बजारको कमजोर माग, लगानी सुरक्षाको प्रश्न, प्रशासनिक झन्झट, उत्पादन लागत, सुस्त आर्थिक गतिविधि र भविष्यप्रतिको अन्योलजस्ता कारण जिम्मेवार हुन सक्छन्।
बैंकको ब्याजदर घटाउनु मात्रै लगानी बढाउने पर्याप्त उपाय होइन। लगानीकर्ताले आफ्नो पूँजी सुरक्षित हुन्छ, व्यवसायले बजार पाउँछ, राज्यको नीति बीचमै फेरिँदैन र लगानीबाट प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने विश्वास गर्नुपर्छ।
सरकारले लगानी सम्मेलन, आर्थिक सुधार र निजी क्षेत्रमैत्री नीतिका कुरा गर्दैमा उद्योगीको मनोबल बढ्दैन। व्यवहारमा लगानीको सुरक्षा, प्रशासनिक सहजता र नीतिगत निरन्तरता देखिनुपर्छ।
सरकारलाई ४२ अर्ब राहत तर अर्थतन्त्रको उपचार कसले गर्ने ?
गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको कुल खर्च १५ खर्ब ८२ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। तर अन्य प्राप्तिसमेत गरी कुल राजस्व संकलन १२ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ मात्र भएको छ। यसले सरकारको आम्दानी र खर्चबीच ३ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढीको अन्तर देखाएको छ।
यस्तो अवस्थामा राष्ट्र बैंकबाट प्राप्त हुने ४२ अर्ब रुपैयाँले सरकारी वित्त व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्या्उनेछ। तर सरकारको बजेट घाटा र सार्वजनिक खर्चको दबाब समाधान गर्ने स्थायी उपाय भने राष्ट्र बैंकको नाफामा निर्भर रहनु होइन।
सरकारले राजस्वको दायरा विस्तार गर्न, अनुत्पादक खर्च नियन्त्रण गर्न, पुँजीगत खर्चको प्रभावकारिता बढाउन र निजी क्षेत्रको लगानी प्रोत्साहित गर्न आवश्यक छ। राष्ट्र बैंकले दिएको रकमले तत्कालीन वित्तीय दबाब कम गर्न सक्छ, तर यसले देशभित्र उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने र राजस्वको स्थायी स्रोत निर्माण गर्ने काम गर्दैन।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार केन्द्रीय बैंकले आर्जन गरेको खुद नाफा सोझै सरकारलाई हस्तान्तरण गर्न मिल्दैन। मौद्रिक तथा वित्तीय स्थायित्व कायम राख्न आवश्यक वैधानिक कोषहरूमा रकम विनियोजन गरेपछि मात्र बाँकी रकम सरकारलाई उपलब्ध गराउन सकिन्छ।
सोही व्यवस्थाअनुसार मौद्रिक सञ्चिति दायित्व, वित्तीय स्थायित्व दायित्व सञ्चिति, खुला बजार स्थिरीकरण कोष, बैंकिङ विकास कोष र सुन प्रतिस्थापन कोषलगायतमा रकम छुट्याएर बाँकी ४२ अर्ब रुपैयाँ सरकारलाई दिने निर्णय गरिएको हो।
यसले राष्ट्र बैंकको संस्थागत वित्तीय अनुशासन र कानुनी व्यवस्थाको पालना भएको देखाउँछ। तर सरकारका लागि वास्तविक चुनौती ४२ अर्ब प्राप्त गर्नुमा होइन, त्यो रकमलाई उत्पादनशील क्षेत्रमा कसरी उपयोग गर्ने भन्नेमा छ।
विदेशी सञ्चिति होइन, स्वदेशी उत्पादन समृद्धिको आधार
नेपालको अर्थतन्त्र अहिले एउटा असहज विरोधाभासमा उभिएको छ। विदेशी मुद्रा सञ्चिति ऐतिहासिक उचाइमा छ, शोधनान्तर बचतमा छ, महँगी नियन्त्रणमा छ र केन्द्रीय बैंकले अर्बौं नाफा कमाइरहेको छ। तर देशभित्रको उद्योग, व्यवसाय, उत्पादन र रोजगारीले त्यसअनुसार गति लिन सकेका छैनन्।
यो अवस्थाले सरकार र आर्थिक नीति निर्मातालाई एउटा स्पष्ट सन्देश दिएको छ—अब अर्थतन्त्रको सफलता विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स र केन्द्रीय बैंकको नाफाबाट मात्र मापन गरेर पुग्दैन।
कति उद्योग सञ्चालनमा आए, कति नयाँ रोजगारी सिर्जना भए, कति युवाले स्वदेशमै काम पाए, कति वस्तु आयात प्रतिस्थापन भए, कति निर्यात बढ्यो र निजी क्षेत्रको लगानी कति विस्तार भयो भन्ने प्रश्नलाई आर्थिक सफलताको मुख्य मापदण्ड बनाउनुपर्छ।
विदेशमा श्रम बेचेर आएको पैसाले देशको ढुकुटी भरिनु तत्कालका लागि राहत हुन सक्छ। विदेशी बैंकमा राखिएको डलरको ब्याजले राष्ट्र बैंकको वासलात चम्किनु वित्तीय उपलब्धि हुन सक्छ। तर स्वदेशमा उत्पादन गर्ने हात निराश छन्, उद्योगी लगानी गर्न डराइरहेका छन् र युवा रोजगारीको खोजीमा विदेशिन बाध्य छन् भने त्यसलाई समृद्धिको पूर्ण तस्बिर मान्न सकिँदैन।
राष्ट्र बैंकले सरकारलाई दिएको ४२ अर्ब रुपैयाँले सरकारी ढुकुटीलाई केही राहत देला। तर देशको अर्थतन्त्रलाई चाहिएको राहत त्योभन्दा धेरै ठूलो छ।
देशलाई अब कागजी नाफाभन्दा वास्तविक उत्पादन चाहिएको छ, विदेशी मुद्राको सञ्चितिभन्दा स्वदेशी उद्योगको विस्तार चाहिएको छ, बैंकमा थुप्रिएको पैसाभन्दा लगानी गर्ने वातावरण चाहिएको छ।
अर्थतन्त्रको वास्तविक समृद्धि विदेशी बैंकमा नेपाली डलर कति थुप्रियो भन्नेबाट होइन, नेपालभित्र कति उद्योग खुले, कति रोजगारी सिर्जना भए र नागरिकको जीवनस्तर कति सुध्रियो भन्नेबाट मापन हुनुपर्छ।
अन्ततः प्रश्न ८३ अर्ब नाफा कमाउने राष्ट्र बैंकको होइन, त्यो नाफा सम्भव बनाउने रेमिट्यान्सको भरमा चलिरहेको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन नसक्ने राज्य संयन्त्रको हो।
विदेशी डलरको ब्याजले ढुकुटी भरिनु उपलब्धि होला, तर आफ्नै देशमा पसिना बगाएर जीवन चलाउन नसक्ने नागरिकको बाध्यता समृद्धिको प्रमाण हुन सक्दैन। ढुकुटी भरिएको छ, अब देशभित्रको अर्थतन्त्र पनि भरिभराउ बनाउने जिम्मेवारी सरकारको हो।
