भेनेजुएलाले विपक्षी नेताहरूलाई जिम्मेवारीमा जान रोक्ने कानुन खारेज गर्ने
काराकास, ११ मङ्सिर : भेनेजुएलाले विपक्षी नेताहरूलाई पदबाट रोक्ने कानुन खारेज गर्ने भएको छ । भनेजुएलाका राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले बिहीबार यो घोषणा गर्नुभएको हो ।
सन् २०२४ मा पारित भएको र राजनीतिक उत्पीडनलाई सहज बनाउने विपक्षीले विश्वास गरेको यो कानुनले देशविरुद्ध प्रतिबन्ध लगाउन प्रचार वा समर्थन गर्ने व्यक्तिहरूलाई लक्षित गरेको थियो ।
“यो कानुन भेनेजुएला गुज्रिरहेको विशेष परिस्थिति र विशेष क्षणका लागि ल्याइएको थियो,” रोड्रिगेजले भन्नुभयो ।
यो कानुन त्यसबेला पारित भएको थियो जब विवादित चुनावपछि तत्कालीन सत्तारूढ नेता निकोलस मादुरोले व्यापक धोखाधडीको आरोपका बीच जित हासिल गर्नुभएको थियो ।
जनवरीमा अमेरिकी सेनाले मादुरोलाई कब्जा गरी अमेरिकी अदालतमा मुद्दा चलाएपछि संसदीय अध्यक्षकी बहिनी डेल्सी रोड्रिगेजको नेतृत्वमा अन्तरिम सरकार चलाइरहेको छ । त्यसयता अमेरिका समर्थित सरकारले वासिङ्टनद्वारा छानिएका विपक्षी समूहसँग राजनीतिक संक्रमणका लागि वार्ता गरिरहेको छ ।
जर्ज रोड्रिगेजका अनुसार त्यो वार्तामा केही कानुनहरू पुनरावलोकन गर्ने सहमति भएको थियो, जसमा अहिले खारेज गर्न लागिएको कानुन पनि समावेश थियो ।
डेल्सी रोड्रिगेजले भेनेजुयालामा निकट भविष्यमा स्वतन्त्र र निष्पक्ष चुनाव गर्ने वाचा गर्नुभएको छ तर मिति तोकिएको छैन ।
विपक्षी नेतृ मारिया कोरिना माचाडो गत महिना निर्वासनबाट आश्चर्यजनक रूपमा फर्केपछि भेनेजुएलाको राजनीतिमा हलचल मच्चिएको छ। माचाडोले सन् २०२३ मा विपक्षी प्राथमिक चुनाव जितेर अर्को वर्ष मादुरोसँग भिड्ने तयारी गर्नुभएको थियो तर कानुनी रूपमा उहाँलाई चुनाव लड्नबाट रोकिएको थियो ।
उहाँको दलले छोटो समयमै कम चिनिएका कूटनीतिज्ञ एडमन्डो गोन्जालेज उरूत्रियालाई उहाँको स्थानमा उम्मेदवार बनाएको थियो ।
नोबेल शान्ति पुरस्कार विजेता माचाडो सङ्क्रमणकालीन वार्ताबाट बाहिर रहे पनि चुनाव भएमा उम्मेदवारी दिने व्यापक अनुमान गरिएको छ ।
