Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाली चलचित्रमा हलिउड अभिनेता

न्यूजअभियान | प्रकाशित मिति : २०८० पौष २४ मंगलबार | रासस

काठमाडौँ, २४ पुस : पहिलो निर्देशकीय चलचित्र ‘बुलबुल’मार्फत नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार विजेता बन्नुभएका निर्देशक विनोद पौडेलले दोस्रो चलचित्रको निर्माण गरिरहनुभएको छ । 

नेपालीमा भूठान र अङ्ग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम राखिएको चलचित्रको अमेरिकामा यही पुस २३ गतेबाट छायाङ्कन अमेरिकाको ओहायो वरपर सुरू भएको छ । 

    हरिवंश आचार्य, दयाहाङ राई, जोयस पाण्डेय, अनुराधा मजुमदार, पूजा चन्दलामा, रिचा घिमिरेलगायत कलाकारले अभिनय गर्ने चलचित्रमा हलिउड अभिनेता ब्रुस डर्नले अभिनय गर्ने तय भएको निर्देशक पौडेलले जानकारी दिनुभयो । 

    “हामीले पठाएको कथाले उहाँलाई प्रभावित बनाएछ, त्यसैले अभिनय गर्न उहाँ तयार हुनुभयो, हलिउडका प्रसिद्ध अभिनेतासँग काम गर्न पाउँदा त्यहाँको कार्यशैली बुझ्नसमेत मद्दत गर्नेछ”, निर्देशक पौडेलले भन्नुभयो, “यो नेपाली र हलिउड चलचित्रलाई जोड्ने अवसर पनि हुनसक्छ, हामीले विना सम्झौता चलचित्र तयार गर्न सक्दो कोसिस गरिरहेका छौँ ।”

    केही समय यता नेपाली चलचित्रमा भारतीय कलाकार अनुबन्धित भएको खबर आइरहँदा हलिउड अभिनेता पनि जोडिएका छन् । भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीको देशप्रेम र जीवनयात्राको कथा समेटेर बन्न लागेको चलचित्र भूठान (द वर्ल्डस् ह्यापिएस्ट म्यान) सन् २०१९ मा बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘स्कृप्ट पिचिङ्ग’ मा समेत छानिएको थियो । 

विश्वका हरेक देशले आत्मसात् गर्ने कथा, राम्रो लेखन र यस चलचित्रमार्फत नेपाल अन्तर्राष्ट्रिय बजारमा जानसक्ने सुझाव आएपछि, विभिन्न देशका अन्तर्राष्ट्रिय समूहहरुसँग सहकार्य गर्दै चलचित्र तयार गर्न लागिएको निर्देशक पौडेलले जानकारी दिनुभयो । 

    “भुटानी शरणार्थीको कथा र संवेदनालाई लिएर विगत लामो समयदेखि अत्यन्तै मिहिन ढङ्गबाट यसको काम गरिरहेका छौँ, यो हामीले हेर्नु र बुझ्नुपर्ने कथा हो”, निर्देशक पौडेलले भन्नुभयो । उहाँले आफू सामाजिक कथा नै प्रस्तुत गर्न रुचाउने भएकाले यस विषयलाई रोजेको बताउनुभयो । चलचित्रमा सुसन प्रजापतिले छायाङ्कन, अञ्जय खड्काले सम्पादन, डिकेश खड्गी शाहीले ध्वनि सिर्जना, अञ्जन गजुरेलले कला निर्देशन गरिरहनुभएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan