Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देवानगञ्ज र सिरहाका घटनाप्रति प्रधानमन्त्री ओलीको चिन्ता, संयमता र संवादमार्फत समाधान खोज्न आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार |
newsabhiyan

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा विगत केही दिनदेखि उत्पन्न तनावग्रस्त अवस्था, राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यस क्रममा स्थानीय युवा ओमप्रकाश मेहता र सिरहाका गणेश यादवको गोली लागेर भएको निधनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

ओलीले जारी गरेको वक्तव्यमा देवानगञ्जपछि सिरहा लगायतका विभिन्न स्थानमा समेत गोली लागी थप नागरिकको ज्यान गएको खबरले आफू अत्यन्त स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्। उनले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

वक्तव्यमा ओलीले वर्तमान संवेदनशील परिस्थितिमा सबै नागरिकलाई संयमता अपनाउन, कुनै पनि भ्रामक प्रचारको पछि नलाग्न तथा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सक्रिय हुन आग्रह गरेका छन्। उनले एमालेका नेता–कार्यकर्तासहित अन्य राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी र आम नागरिकलाई समाजमा सद्भाव कायम राख्न भूमिका खेल्न आह्वान गरेका छन्।

ओलीले नागरिकको जीउधनको सुरक्षा गर्नु र संवादमार्फत समस्याको समाधान खोज्नु सरकारको प्राथमिक दायित्व भएको उल्लेख गर्दै राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दासमेत सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता शंकास्पद तथा भर्त्सनायोग्य भएको बताएका छन्। उनले हिंसात्मक गतिविधि तत्काल रोक्न र संवादको माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।

उनले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख राजनीतिक दलहरूले आपसी आरोप–प्रत्यारोप र राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।

ओलीले द्वन्द्व र हिंसाबाट समस्याको समाधान सम्भव नभएको उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्रै वर्तमान जटिल अवस्थाबाट मुलुकलाई निकास दिन सकिने बताएका छन्। साथै, राष्ट्रको शान्ति, सुरक्षा र सामाजिक सद्भाव जोगाउन सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक एवं सामाजिक समुदायका अगुवालाई राष्ट्रिय हितका लागि एकजुट हुन आह्वान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan