देश जल्दा नेताको अहंकार ! कुर्सी ठूलो कि देश? सर्वदलीय बैठकले सोध्यो असहज प्रश्न
काठमाडौं । देशमा साम्प्रदायिक तनाव छ। नागरिक त्रसित छन्। सामाजिक सद्भावमा दरार पर्न नदिन सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिनुपर्ने बेला हो।
तर, यस्तो घडीमा पनि नेताहरूको प्राथमिकता एउटै टेबल होइन, आ–आफ्नो राजनीतिक हिसाब–किताब देखियो भने त्यसलाई राजनीतिक परिपक्वता भन्ने कि अहंकार? सर्वदलीय बैठकको अर्थ नै सबै दल, सबै धार र सबै नेतृत्वले राष्ट्रिय मुद्दामा साझा आवाज खोज्नु हो।
तर, त्यही बैठकमा राज्य सञ्चालनको नेतृत्व गर्ने अनुहारहरू नदेखिँदा नागरिकले स्वाभाविक रूपमा प्रश्न गर्छन्—देशभन्दा ठूलो कसको व्यस्तता थियो?
चुनावका बेला जनताको ढोका–ढोकामा पुगेर "हामी देश बनाउँछौं" भन्ने नेताहरू संकटका बेला एउटै बैठकमा बस्न नसक्ने हो भने त्यो जनादेश आखिर कसका लागि थियो? मत माग्दा जनता साझा, तर जिम्मेवारी वहन गर्ने बेला दलगत दूरी?
राजनीतिमा असहमति हुन सक्छ, विचार फरक हुन सक्छ, तर राष्ट्रिय संकटमा संवादबाट भाग्नु कुनै विचारधारा होइन, त्यो त नेतृत्वको कमजोरी हो। कुर्सी जोगाउने गणितमा व्यस्त राजनीति सडकमा बढ्दो अविश्वासको कारण बन्दै गएको छ।
विडम्बना त के छ भने, सामाजिक सञ्जालमा एक–अर्कालाई कटाक्ष गर्न समय निकाल्ने नेताहरू राष्ट्रिय सहमतिका लागि बोलाइएको बैठकमा भने समय मिलाउन सक्दैनन्।
रास्वपा शभापति रवि लामिछानेले बोलाए सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन, सांसद खुस्बु ओली, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका नेताहरु सिंहदरबार पुगेका थिए।
रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न राजनीतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताएका थिए ।
यस्तो व्यवहारले नागरिकलाई एउटा सन्देश दिन्छ—राजनीति जनताको लागि होइन, नेताको प्रतिष्ठाका लागि भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र श्रम सस्कृति पार्टीका अध्यक्षबिनाको सर्वदलीय बैठक चल्यो ।
लोकतन्त्रमा विपक्षी शत्रु होइन, प्रतिस्पर्धी हो। राष्ट्रिय संकटमा प्रतिस्पर्धीहरू पनि एउटै टेबलमा बस्छन्।बरिष्ठ पत्रकार केदार नाथ कोइराला ब्यङ्ग गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छ,सिंहदरबारमा सर्वदलीय बैठक बस्दा देशका प्रधानमन्त्री र गृहमन्त्री साउन महिना,त्यसमाथि पानी परेको मौकाछोपी,धान रोप्न किसान दाजुभाइको खेततिर जानु भयो होला !
अहिले धान नरोपे भोलि जनतालाई अनिकाल लाग्नसक्ने विषयमा उहाँहरु सचेत हुनुहुन्छ !
तर, यदि त्यो संस्कार हराउँदै गएको हो भने समस्या देवानगञ्ज, सुनसरी वा कुनै एउटा घटनामा सीमित छैन; समस्या त राजनीतिक चरित्रमै छ। आज नागरिकको प्रश्न निकै सरल छ, तर उत्तर दिन कठिन छ—देश जलिरहेको बेला नेताहरू किन एउटै टेबलमा बस्न डराउँछन्?
यदि बैठकमा नजाने निर्णय राजनीतिक सन्देश थियो भने त्यसको मूल्य जनताले तिरिरहेका छन्। यदि व्यस्तता थियो भने राष्ट्रिय प्राथमिकताको परिभाषा फेरि लेख्नुपर्ने बेला आएको छ। र यदि अहंकार थियो भने इतिहासले यस्ता अहंकारलाई कहिल्यै क्षमा गरेको छैन।
देश जल्दा नेताको अहंकारको ताप !
देश संवेदनशील मोडमा छ। सामाजिक सद्भाव जोगाउने चुनौती छ। नागरिकको मनमा डर छ। यस्तो बेला राजनीति दलहरू एउटै टेबलमा बसून्, समाधान खोजून् र जनतालाई भरोसा दिऊन् भन्ने अपेक्षा अस्वाभाविक होइन। तर, विडम्बना—हाम्रा नेताहरूलाई संकटभन्दा पनि आफ्नै राजनीतिक उचाइ ठूलो देखिन्छ।
सर्वदलीय बैठकको निम्ता आउँदा प्रश्न हुनुपर्ने थियो—"देशलाई कसरी जोगाउने?" तर व्यवहार हेर्दा प्रश्न अर्कै देखियो—"बैठक कसले बोलायो?" देशको पीडा होइन, निम्तो दिने व्यक्तिको नाम हेरेर उपस्थिति तय गर्ने राजनीति आखिर कस्तो राष्ट्रवाद हो?
चुनावमा हात जोड्दै "जनता नै मालिक" भन्ने नेताहरू संकटमा भने आफ्नै राजनीतिक इगोका कैदी बन्छन्।
जनताले दिएको मतलाई सेवाको जिम्मेवारी होइन, व्यक्तिगत प्रतिष्ठाको प्रमाणपत्र ठान्ने प्रवृत्ति झन् खतरनाक बन्दै गएको छ।
राजनीतिक दलहरू एकअर्काका प्रतिस्पर्धी हुन सक्छन्, तर राष्ट्रका शत्रु होइनन्। संकटका बेला एउटै टेबलमा बस्न नसक्ने नेतृत्वले भोलि एउटै राष्ट्रको भविष्य कसरी बनाउने? संवाद गर्न नसक्नेहरूबाट समाधानको आशा गर्नु भनेको पानीमा महल खोज्नुजस्तै हो।
अझ रमाइलो त के छ भने, सामाजिक सञ्जालमा दुई मिनेटमै लामो स्टाटस लेख्ने नेताहरू राष्ट्रिय सहमतिका लागि दुई घण्टा समय निकाल्न सक्दैनन्। फेसबुकमा राष्ट्रप्रेम उम्लिन्छ, तर बैठकको कुर्सी भने खाली रहन्छ। यस्तो राष्ट्रवाद त क्यामेराको फ्ल्याससँगै निभ्ने मैनबत्ती जस्तै भयो।
जनताले नेतालाई चुनाव जिताएर संसद्, सरकार र सत्ता चलाउन पठाएका हुन्; राजनीतिक रिसइबीको प्रदर्शन गर्न होइन।
संकटका बेला अनुपस्थिति पनि एउटा राजनीतिक सन्देश हुन्छ, तर त्यो सन्देशले जनतालाई भरोसा होइन, निराशा दिन्छ।
आज नागरिकले सोधेको प्रश्न अत्यन्त सामान्य छ—देश संकटमा पर्दा नेताहरू किन एउटै टेबलमा बस्न सक्दैनन्?
यदि व्यक्तिगत अहंकार राष्ट्रिय आवश्यकताभन्दा माथि राख्ने हो भने राजनीति सेवाको माध्यम होइन, स्वार्थको मञ्च मात्रै बन्न पुग्छ।
इतिहासले सम्झिने नेता त्यो होइन, जसले सबैभन्दा धेरै भाषण गर्यो; इतिहासले सम्झिने नेता त्यो हो, जसले सबैभन्दा कठिन समयमा सबैलाई एउटै टेबलमा ल्यायो। बाँकी त पद, शक्ति र अहंकार सबै समयसँगै इतिहासको धुलो बन्छन्।
प्रश्न यो छ की,देशलाई आगोले पोलिरहेको बेला नेताहरू अझै निम्तो दिने व्यक्तिको अनुहार हेरेर निर्णय गर्छन् भने दोष आगोको हो कि नेतृत्वको? जनताले मत नेताको अहंकार पाल्न दिएका होइनन्; संकटमा राष्ट्रलाई जोड्न दिएका हुन्।
राजनीतिक दलहरूका लागि अन्तिम घोचपेच—जनताले मत कुर्सीको उचाइ नाप्न दिएका होइनन्, संकटका बेला नेतृत्वको उचाइ देख्न दिएका हुन्।
अब पनि संवादभन्दा दूरी रोज्ने हो भने प्रश्न एउटै रहनेछ—नेताहरू राजनीति देशका लागि गरिरहेका छन् कि आफ्नै राजनीतिक अहंकारका लागि?
यो पनि पढ्नुहोस् ।
सुनसरी घटनाले फेरि उठायो सुरक्षा संयन्त्रमाथि प्रश्न : गोली अन्तिम विकल्प कि पहिलो प्रतिक्रिया ?
देवानगञ्जको चेतावनी: राजनीति होइन, न्याय र सद्भावको परीक्षा
दुई तिहाइको बल, चार महिनामै बल्झिएको संकट : रास्वपा आफ्नै निर्णयको पासोमा ?
खबरदार प्रधानमन्त्री बालेन र रास्वपा: जनसमर्थनको मादमा जनमतको हुर्मत नलियोस् !
सिंहदरबारमा ‘बालेन रूपान्तरण’: दलालको दौडधुप हरायो, रिबन काट्ने कैंचीमा खिया लाग्यो !
