Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फूलसँगै घुम्ने सपना, महसँगै फुल्दै जीवन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | सुदिप राउत/रासस
newsabhiyan

भद्रपुर (झापा), १४ साउनः काँधमा मौरीका घार, आँखामा समृद्धिको सपना । असोजको अन्तिम साता सुरु भएपछि झापाको शिवसताक्षी नगरपालिका–९ की जमुना सुवेदी भट्टराईको यात्रा घरआँगनमा सीमित रहँदैन ।

कहिले दाङ र चितवनका पहेँलै तोरीबारी, कहिले मोरङको फापरबारी त कहिले झापाकै लिच्ची बगैँचासम्म मौरीसँगै उहाँको यात्रा चलिरहन्छ । फूल जहाँ फुल्छ, त्यहीँ पुग्नुुहुन्छ उहाँ । 

‘आजग मौरी फार्म’ बाट सुरु भएको उहाँको यो ५० घार मौरीको यात्रा आज केबल मह उत्पादनमा सीमित छैन, आत्मनिर्भरता र वार्षिक लाखौँ आम्दानीको बलियो आधार बनेको छ ।

चार वर्षअघि सामान्य रूपमा सुरु भएको व्यवसायले आज उहाँलाई वार्षिक करिब आठ लाख रुपैयाँ खुद आम्दानी दिइरहेको छ । यही व्यवसायबाट घरखर्च चलिरहेको छ, छोराछोरीको शिक्षा–दीक्षा धानिएको छ, स्थानीयलाई रोजगारी मिलेको छ । 

फूल फुल्ने मौसमसँगै मौरीका घार बोकेर विभिन्न चरन क्षेत्र पुग्ने जमुनाको नियमित दैनिकी जस्तै बनेको छ । सुरुमा सानो प्रयासबाट थालिएको मौरीपालनले अहिले उहाँको परिवारलाई आत्मनिर्भर मात्र बनाएको छैन, वैदेशिक रोजगारीमा रहेका श्रीमान्लाई समेत आफ्नै माटोमा फर्काउने बलियो आधार निर्माण गरेको छ ।

“पहिला पाँच घारबाट सुरु गरेको थिएँ”, आफ्ना सुरुआती दिन सम्झँदै जमुना भन्नुहुन्छ, “मौरीसँगै सिक्दै गएँ । अहिले यही व्यवसायले परिवार धानेको छ । अब विदेशमा रहेका श्रीमान् पनि फर्किएर यही व्यवसायलाई अझ विस्तार गर्ने योजना बनाएका छौँ ।”

मौरीपालनमा सबैभन्दा ठूलो चुनौती उत्पादन होइन, चरन व्यवस्थापन हो । त्यसैले व्यावसायिक मौरीपालकहरू मौसमसँगै देशका विभिन्न भागमा घुम्छन् ।

जमुनाका अनुसार असोजको अन्त्यतिर मौरीका घार दाङ लगिन्छ । तोरी फुल्न थालेपछि करिब एक महिना त्यहीँ राखिन्छ र पहिलोपटक मह निकालिन्छ । त्यसपछि घार चितवन पुर्याइन्छ । चितवनमा तोरी र चिउरीको चरन पाइने भएकाले डेढ महिनासम्म राखेर दुई पटकसम्म मह निकालिन्छ । 

चितवनपछि यात्रा मोरङको कानेपोखरी हुँदै झापाको गौरादह पुग्छ, जहाँ फापरको फूलले मौरीलाई आकर्षित गर्छ । त्यसपछि चन्द्रगढीमा लिच्चीको मौसम र अन्तिममा धुलाबारीमाथिको जङ्गलमा जङ्गली फलफूलको चरनका लागि एक महिना राखिन्छ । “फूल जहाँ हुन्छ, मौरीलाई त्यहीँ लैजानुपर्छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले हामी पनि मौसमसँगै घुमिरहन्छौँ ।”

यही अवधिमा रानी मौरी छुट्याएर नयाँ घार विस्तार गरिन्छ । वर्षमा एकपटक पुरानो रानी हटाएर नयाँ रानी राख्ने गरिएको छ । रानी उत्पादन निकै प्राविधिक काम भएकाले चितवनबाट दक्ष प्राविधिक बोलाउने गरिएको उहाँ बताउनुहुन्छ ।

जमुनाका लागि सुरुआती दिन सहज थिएनन् । बजारको ज्ञान कम थियो । रोग नियन्त्रण, चरन व्यवस्थापन र मौरीको व्यवहार बुझ्न समय लाग्यो तर निरन्तर सिकाइ र सरकारी सहयोगले व्यवसाय विस्तारको बाटो खोल्यो । गत आर्थिक वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत चार लाख रुपैयाँ अनुदान प्राप्त भएपछि जमुनाले व्यवसाय विस्तार गर्दै मौरीको घार सङ्ख्या ५० पुर्याउनुभयो ।

उहाँका अनुसार एकपटकमा ५० घारबाट कम्तीमा २०० केजी मह उत्पादन हुन्छ । तोरी र फापरको मौसममा उत्पादित मह प्रतिकेजी रु ८०० रुपैयाँमा बिक्री हुन्छ भने जङ्गली फलफूलबाट उत्पादन हुने महको मूल्य प्रतिकेजी एक हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

घार सार्ने, मह निकाल्ने, प्याकिङ गर्ने, बजार व्यवस्थापन गर्नेलगायतका काममा स्थानीयले रोजगारी पाउने गरेका छन् । “पहिले वैदेशिक रोजगारी नै विकल्प जस्तो लाग्थ्यो”, उहाँ भन्नुहुन्छ, “तर अहिले यही व्यवसायले परिवार धानेको छ । अब श्रीमान्लाई पनि यही व्यवसायमा जोड्ने सोच छ ।”

शिवसताक्षी नगरपालिका–११ की मनु अधिकारीको कथा पनि उस्तै प्रेरणादायी छ । उहाँले एक दशकदेखि ‘मसुमी मौरी  फार्म’ सञ्चालन गर्दै आउनुभएको छ । अहिले उहाँसँग ७० घार मौरी छन् ।

आधुनिक मह प्रशोधन मेसिन जडान गरेपछि काम धेरै सहज भएको उहाँ बताउनुहुन्छ । “पहिले मह निकाल्न धेरै समय लाग्थ्यो”, उहाँ भन्नुहुन्छ, “अहिले प्रशोधन छिटो हुन्छ, गुणस्तर पनि राम्रो हुन्छ ।” 

उहाँका अनुसार राम्रो याममा एउटा घारबाट १० लिटरसम्म मह उत्पादन हुने गरेको छ । “अरू धेरै व्यवसायभन्दा मौरीपालन राम्रो लागेको छ”, उहाँ भन्नुहुन्छ, “मेहनत गर्नसके आम्दानी पनि राम्रो हुन्छ ।

विदेश जाने सोच बनाएका युवाले एकपटक मौरीपालन पनि हेर्नुपर्छ ।” उहाँले पनि गत आर्थिक वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत चार लाख रुपैयाँ अनुदान प्राप्त गर्नुभएको थियो ।

झापामा मौरीपालन व्यवसायले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने नयाँ सम्भावना देखाएको छ । घरपरिवारको जिम्मेवारीसँगै व्यवसाय सञ्चालन गर्न सकिने भएकाले महिलाको आकर्षण बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।

अहिले धेरै महिलाले आफ्नै नाममा मौरी फार्म दर्ता गरी व्यावसायिक रूपमा काम गरिरहेका छन् । जमुना र मनुको अनुभवले मौरीपालनले केबल मह उत्पादन गर्दैन, परिवारको आर्थिक अवस्था बदल्छ, महिलाको निर्णय क्षमता बढाउँछ, स्थानीय रोजगारी सिर्जना गर्छ र वैदेशिक रोजगारीको विकल्पसमेत बन्न सक्छ । 

सबैभन्दा ठूलो समस्या नक्कली महको बिगबिगी हो । बजारमा कम गुणस्तरका र मिसावटयुक्त मह सस्तो मूल्यमा बिक्री हुँदा वास्तविक उत्पादक मारमा परेको व्यवसायीहरू बताउँछन् ।

त्यसैगरी मौरीमा लाग्ने रोग, विषादीको बढ्दो प्रयोग, चरन क्षेत्र घट्दै जानु र भारतबाट आउने सस्तो महसँग प्रतिस्पर्धा गर्नुपर्ने अर्को चुनौती बनेको छ ।

मनु भन्नुहुन्छ, “हामी प्राकृतिक मह उत्पादन गर्छौँ तर बजारमा सस्तो मिसावटयुक्त मह आउँदा उपभोक्ताले फरक छुट्याउन सक्नुहुन्न ।

त्यसले वास्तविक किसानलाई असर गर्छ ।” व्यवसायीहरूका अनुसार मौरीका चरन क्षेत्र दिनप्रतिदिन घटिरहेका छन् । कृषि भूमिमा विषादीको प्रयोग बढेकाले मौरीको मृत्यु हुने समस्या पनि बढ्दै गएको छ । 

सरकारी सहयोगले बढ्दो उत्साह
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले जिल्लामा कृषि उद्यमशीलता प्रवद्र्धनका लागि मौरीपालनलगायतका व्यावसायिक खेतीलाई प्राथमिकतामा राखेर प्रोत्साहन गर्दै आएको छ ।

विशेषगरी, स्थानीय तहमा महिला उद्यमीलाई आत्मनिर्भर बनाउन अनुदान तथा प्राविधिक सहजीकरण जोडतोडका साथ अघि बढाइएको छ ।

“कृषि तथा पशुपन्छी उद्यमशीलता कार्यक्रमअन्तर्गत झापामा हालसम्म १५ वटा परियोजना सफलतापूर्वक सम्पन्न भइसकेका छन्”, कार्यक्रमका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदी भन्नुहुन्छ, “हामीले व्यावसायिक मौरीपालन, च्याउखेती, पशुपालन र तरकारी खेतीमा कृषकलाई अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएका छौँ ।

त्यसमा पनि विशेषगरी महिला उद्यमीलाई प्राथमिकतामा राखेर व्यवसाय विस्तार र प्रवद्र्धनमा सहजीकरण गरिरहेका छौँ, जसले गर्दा धेरै महिलाहरू कृषि उद्यममा स्थापित हुन सफल हुनुभएको छ ।” 

झापामा मौरीपालनको विकास र किसानलाई प्राविधिक सहयोग पुर्याउन कृषि ज्ञान केन्द्रअन्तर्गत शिवसताक्षी–११ दुधेस्थित ‘पुनिका मौरीपालन स्रोत केन्द्र’ ले महत्वपूर्ण भूमिका खेलिरहेको छ

केन्द्रका सञ्चालक तथा व्यवस्थापक अर्जुन मुखियाका अनुसार किसानहरूलाई सिपमूलक तालिमदेखि आवश्यक सहयोगी सामग्रीहरूसम्म वितरण गरिँदै आएको छ ।

“स्थानीय पालिका र विभिन्न सङ्घ–संस्थाहरूसँगको समन्वय तथा सहयोगमा गत आर्थिक वर्ष मात्रै सातवटा तालिम सञ्चालन गरेका थियौँ”, स्रोत केन्द्रका सञ्चालक मुखियाले भन्नुभयो । 

विगत दुई दशकदेखि मौरीपालनमा सक्रिय मुखियाको आफ्नै वैदेशिक रोजगारीको अनुभव र स्वदेश फिर्तीको कथा पनि प्रेरणादायी छ । रोजगारीका सिलसिलामा मलेसिया र दुबईसम्म पुग्नुभएका उहाँ वैदेशिक रोजगारी छाडेर स्वदेश फर्किएपछि पूर्ण रूपमा मौरीपालनमै लाग्नुभएको हो ।

पुनिका मौरीपालन स्रोत केन्द्रको तथ्याङ्कअनुसार शिवसताक्षी नगरपालिकामा मात्रै हालसम्म ३७ भन्दा बढी परिवारले सङ्गठित रूपमा मौरीपालन गरिरहेका छन् ।

त्यसैगरी अर्जुनधारा, बिर्तामोड र दमक नगरपालिका तथा हल्दिबारी गाउँपालिकालगायतका क्षेत्रमा नयाँ किसानहरूको आकर्षण तीव्र रूपमा बढिरहेको छ ।

जिल्लाभरको समग्र अवस्था हेर्दा करिब २०० जना किसान सक्रिय रुपमा व्यावसायिक रूपमा मौरीपालनमा जोडिएका छन् ।

स्रोत केन्द्रका अनुसार झापामा मह र मौरीजन्य सामग्री (घार, टोपी, चाका आदि) को बिक्रीबाट मात्रै वार्षिक कम्तीमा रु २० करोड बराबरको कारोबार हुने गरेको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लामा वार्षिक मह उत्पादन र कारोबार निरन्तर बढ्दो क्रममा रहेको छ ।

मौरीले मह उत्पादनसँगै कृषि बालीको परागसेचनमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले यसको संरक्षण र विस्तार आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

उचित तालिम, गुणस्तरीय रानी उत्पादन, बजार व्यवस्थापन र ‘ब्राण्डिङ’मा जोड दिन सके झापा मह उत्पादनको प्रमुख केन्द्र बन्न सक्ने उहाँको विश्वास छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan