डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा
एसाडिराक (फ्रान्स), १४ साउन : दक्षिणपश्चिम फ्रान्सको बोर्डो क्षेत्र आसपास फैलिएको भीषण डढेलोले जनजीवनमात्र नभई, विश्वप्रसिद्ध वाइन उद्योग, पर्यटन र स्थानीय व्यवसायमा समेत गम्भीर आर्थिक असर पार्न थालेको छ ।
यसअघि नै घट्दो वाइन खपत, बढ्दो लागत र अन्तर्राष्ट्रिय व्यापारिक दबाबसँग सङ्घर्ष गरिरहेको बोर्डोको अर्थतन्त्रमा डढेलोले थप सङ्कट थपेको व्यवसायीहरूले बताएका छन् ।
डढेलोले पेरिसको क्षेत्रफलभन्दा करिब चार गुणा ठूलो भूभाग जलाइसकेको छ भने करिब दुई लाख २० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । प्रमुख पर्यटकीय गन्तव्यहरू प्रभावित भएपछि क्षेत्रको पर्यटन गतिविधिमा उल्लेखनीय गिरावट आउने चिन्ता बढेको छ ।
बोर्डो नजिकै ग्रान्ड भेर्दुस वाइन एस्टेट सञ्चालन गर्दै आउनुभएका एडुआर्ड ले ग्रिक्स डे ला सालेले आफ्नो अङ्गुरबारीबाट टाढा जलिरहेको जङ्गलको धुवाँ देख्न र गन्ध महसुस गर्न सकिने बताउनुभयो । उहाँका अनुसार सरकारद्वारा मानिसहरूलाई प्रभावित क्षेत्रबाट टाढा रहन गरिएको आग्रहले वाइन पर्यटनमा ठूलो धक्का पुगेको छ ।
“वाइन उद्योग धेरै वर्षदेखि कठिन अवस्थामा छ । अन्तर्राष्ट्रिय भूराजनीतिक तनाव, मुद्रास्फीति, युवा पुस्तामा वाइनको घट्दो लोकप्रियता र विदेशी उत्पादकसँगको प्रतिस्पर्धाले समस्या बढाएको छ”, उहाँले भन्नुभयो, “पर्यटन मात्रै बढिरहेको क्षेत्र थियो, तर अहिले त्यसमा पनि ब्रेक लागेको छ ।”
बोर्डो क्षेत्रको प्रसिद्ध वाइन उद्योग पछिल्ला वर्षहरूमा खपत घट्दै जानुका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भन्सार शुल्कको असरसमेत खेपिरहेको छ ।
क्षेत्रीय उद्योग तथा वाणिज्य मण्डलका अध्यक्ष प्याट्रिक सेगुइनले डढेलोलाई भौतिक मात्र नभई, आर्थिक विपत्तिसमेत भएको बताउनुभयो । उहाँका अनुसार जलेका घर र जङ्गलले क्षेत्रको भविष्यप्रतिको विश्वास कमजोर बनाएको छ ।
“हामीले केवल भौतिक विनाश नभई, सम्पूर्ण क्षेत्रीय अर्थतन्त्रमा गहिरो चोट परेको अवस्था देखिरहेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार प्रभावित क्षेत्रमा करिब ३९ हजार व्यवसाय सञ्चालनमा छन् । तिनमा रक्षा तथा एयरोस्पेस क्षेत्रका एयरबस, डसोल्ट र थालेसजस्ता प्रमुख उद्योगसमेत पर्छन् ।
डढेलो सुरु हुनुअघि नै ऊर्जा लागत बढेका कारण व्यवसायको नाफा घटिरहेको थियो । जुलाई महिनाको मध्यतिर गरिएको सर्वेक्षणमा सहभागी ९४ प्रतिशत व्यवसायले आफूहरू आर्थिक कठिनाइमा रहेको बताएका थिए । साना तथा मझौला उद्यमीबाट दैनिक रूपमा सहयोगको माग आउने गरेको सेगुइनले जानकारी दिनुभयो ।
उहाँका अनुसार बोर्डो र लिबोर्नका वाणिज्य अदालतमा सन् २०२५ को जुनको तुलनामा यस वर्षको सोही अवधिमा व्यवसाय बन्द हुने घटनामा ३७ प्रतिशत वृद्धि भएको छ ।
बोर्डो क्षेत्र नरम समुद्री तट, ऐतिहासिक महल, विशाल पाइन जङ्गल, युनेस्को विश्व सम्पदा सूचीमा रहेको बोर्डो सहर तथा आर्काशोन खाडीजस्ता पर्यटकीय आकर्षणका कारण विश्वभर प्रसिद्ध मानिन्छ । तर डढेलो र त्यसपछिको निकासी अभियानले धेरै पर्यटकीय क्षेत्र सुनसान बनेका छन् ।
यद्यपि बोर्डोका मेयर थोमस काजेनाभले सम्पूर्ण क्षेत्र बन्द नभएको स्पष्ट पार्दै पर्यटकलाई भ्रममा नपर्न आग्रह गर्नुभएको छ । उहाँका अनुसार बोर्डो सहर सुरक्षित छ र यहाँका सङ्ग्रहालय, क्याफे, रेस्टुरेन्ट तथा अन्य पर्यटन पूर्वाधार नियमित रूपमा सञ्चालनमा रहेका छन् ।
“बोर्डो अझै पनि पर्यटकका लागि खुला छ । हाम्रो सहरमा जनजीवन सामान्य रूपमा चलिरहेको छ”, उहाँले भन्नुभयो ।
