सुनसरी तनावग्रस्त : एकको मृत्युपछि देवानगञ्ज–हरिनगरका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु (अपडेट)
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका थप सुरक्षाकर्मी परिचालन
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको झडपमा एक जनाको मृत्यु र सर्वसाधारण तथा सुरक्षाकर्मी घाइते भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी आदेशअनुसार हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रका तोकिएका चार किल्लाभित्र कुनै पनि व्यक्तिले आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैनन्।
प्रशासनका अनुसार कर्फ्यु हरिनगर बजार क्षेत्रको जुनिया टोलदेखि बसन्तपुर मोडसम्म, भुटाहा बजारको मोरिया धार खोलादेखि सुनसरी खोलासम्म, कप्तानगञ्ज बजारको यादव टोलदेखि नेपाल–भारत सीमा क्षेत्रसम्म, घुस्की बजारको कासिमिया मदरसादेखि हिमालय पब्लिक स्कुलसम्म तथा देवानगञ्ज बजारको मुसहर टोलदेखि गाउँपालिका कार्यालयसम्मका तोकिएका सीमाभित्र लागू गरिएको छ।
प्रहरीका अनुसार आइतबार राति साउन महिनाको बोलबम यात्राका लागि कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ गइरहेका हिन्दु धर्मावलम्बी र अर्को समुदायबीच डिजेको आवाजलाई लिएर विवाद हुँदा स्थिति तनावग्रस्त बनेको थियो। विवादले उग्र रूप लिएपछि भएको झडपका क्रममा सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो।
घटनामा ९ जना सर्वसाधारण, नेपाल प्रहरीका ८ जना र सशस्त्र प्रहरीका ५ जना गरी २२ जना घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका थप सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न कर्फ्यु जारी गरिएको स्पष्ट गर्दै आदेश उल्लंघन गर्ने व्यक्तिलाई एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ।
प्रशासनले स्थानीय बासिन्दालाई अफवाहमा नलाग्न, संयम अपनाउन र सुरक्षा निकायसँग सहयोग गर्न आग्रह गरेको छ।
