Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २२ सोमबार | रासस

कर्णाली, २२ भदौः यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको ‘प्रमुख सिजन’ चलिरहेको छ । स्याउले भरिभराउ दर्जनौँ गाडी दैनिकजसो सुर्खेत, नेपालगन्ज, बुटबल, चितवन, पोखरा, काठमाडौँ, वीरगन्जलगायत देशका प्रमुख सहरमा पुगिरहेका छन् । 

अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपले अवरुद्ध भएको छ । तीन दिनदेखि स्याउ बोकेर हिँडेका गाडी सडकमै थन्किएका छन् । 

जुम्लाबाट छुटेपश्चात् एकदुई दिनमा सुर्खेत नेपालगन्ज पुग्ने लक्ष्य राखेर हिँडेका गाडी पहिरोका कारण सडकमै अलपत्र परेपछि स्याउ कुहिने हो कि भन्ने चिन्ताले उनीहरूलाई पिरोलेको छ । 

स्याउ व्यापारी मक्कर शाहीले शनिबारदेखि राजमार्गका विभिन्न ठाउँमा आएको पहिरो, ढुङ्गा र लेदोले सडक अवरुद्ध भएपछि अलपत्र परेको दुःखेसो व्यक्त गर्नुभयो । 

स्वदेशमै केही कमाउने आशा राखेर गरेको व्यवसाय बाटोकै कारण घाटा व्यहोर्नुपर्ने बाध्यता आइलागेको उहाँले जनाउनुभयो । “सडक कहिले खुल्ने हो थाहा छैन”, उहाँले भन्नुभयो, “अझै तीनचार दिनपछि मात्र बाटो खुल्छ भन्छन् । त्यतिञ्जेलसम्म स्याउ कुहिएर जाने हो कि भन्ने डर लागिरहेको छ ।”

वर्षा, बाढी र पहिरोका कारण गत वर्ष करिब रु १० लाखको घाटा भएको स्याउ व्यापारी हस्तबहादुर रावतले दुःखेसो पोख्नुभयो । उहाँका अनुसार भरपर्दो सडक नहुन्जेलसम्म व्यापारीका समस्या समाधान नहुने र यस वर्ष पनि घाटा व्यहोर्नुपर्ने अवस्था आइलागेको छ । क्षति हुँदा केही राहत दिने व्यवस्था राज्यका तर्फबाट हुनुपर्ने उहाँको भनाइ छ । 
 
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले मनसुनजन्य विपद्का कारण व्यापारीले धेरै ठूलो समस्या भोग्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष १९ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएकामा अहिलेसम्म ५० प्रतिशत निर्यात भइसकेको छ । 

पहिरोका कारण सडक अवरुद्ध हुँदा दर्जनाँै स्याउ बोेकेका गाडी अगाडि बढ्न नसक्नु व्यापारीको मात्र होइन, सिङ्गो जुम्लाले पनि क्षति व्यहोर्नुपर्ने अवस्था आइलागेको छ ।”  

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले शनिबार राति ७ः०० बजेदेखि कर्णाली राजमार्गको गगने खोलामा गएको पहिरोको कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । 

आइतबार कालीकोटको पिलीमा तथा एस मोडमा पहिरो तथा ढुङ्गा आउँदा सडकमा ठूलो क्षति पुगेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार बिहान ५ः०० बजेदेखि सडक खुलाउन कार्यालयबाट मेसिन तथा प्राविधिक टोली परिचालित गरिएको छ ।
 
उहाँले भन्नुभयो, “लेदो, ढुङ्गा र चट्टानसहितको पहिरोले राजमार्गका विभिन्न स्थानमा ठूलो क्षति भएको छ । हाल राजमार्गको अवस्था जोखिमपूर्ण तथा पूर्ण रूपले अवरुद्ध भएकाले आधिकारिक सूचना जारी नभएसम्म यस सडकखण्डमा यात्रा नगर्न यात्रु तथा सर्वसाधरणमा अनुरोध गरेका छौँ ।”

वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च हुने भएकाले  यात्रा गर्दा विशेष सावधानी र सुरक्षा अपनाउन आग्रह गरिएको कार्यालय प्रमुख महताराले बताउनुभयो । अवरुद्ध सडक सञ्चालन गराउन उच्च प्राथमिकताका साथ निरन्तरता दिइए पनि आवागमन सहज हुन तीन दिनसम्म लाग्ने कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटमा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीका अनुसार सडक अवरुद्ध भएपछि जुम्ला, कालीकोट, मुगु र हुम्लादेखि सुर्खेततर्फ आउँदै गरेका सवारीसाधन रोकिएका छन् । सुर्खेतबाट माथिल्लो कर्णाली हिँडेका सवारीसाधन दैलेखको राकम, खिड्कीज्यूला र दही खोलालगायतका क्षेत्रमा रोकिएका छन् ।

सडक अवरुद्ध भएकै कारण माथिल्लो कर्णालीबाट आएका स्याउका गाडी तीन दिनदेखि सडकमा थन्किएका छन् । यसले व्यापारीलाई मर्का पर्नुका साथै यात्रुलाई सास्ती भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan