निलो आकाश बचत तथा ऋण सहकारीको १९औँ वार्षिक साधारणसभा असोज ३ गते हुँदै
काठमाडौं । तिनकुने, गैरीगाउँमा रहेको निलो आकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा आगामी २०८३ साल असोज ३ गते आयोजना हुने भएको छ। संस्थाका अध्यक्ष गणेशप्रसाद अधिकारीका अनुसार साधारणसभा तिनकुनेस्थित ताज ब्याङ्क्वेटमा बिहान ८ बजेदेखि सुरु हुनेछ।
संस्थाले सम्पूर्ण शेयर सदस्यहरूलाई साधारणसभामा अनिवार्य रूपमा उपस्थित भई संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, आगामी योजना तथा नीति निर्माणमा सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ।
ज्येष्ठ शेयर सदस्य र विद्यार्थीलाई सम्मान
यस वर्षको साधारणसभामा २०८३ साल असार मसान्तसम्म ७० वर्ष उमेर पूरा भएका शेयर सदस्यहरूलाई ‘निलो आकाश ज्येष्ठ सदस्य सम्मान’ प्रदान गरिने भएको छ। सम्मानका लागि इच्छुक ज्येष्ठ शेयर सदस्यहरूले नागरिकताको प्रमाणपत्रसहित भदौ २९ गतेभित्र संस्थामा सम्पर्क गरी नाम टिपाउनुपर्ने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।
त्यस्तै, संस्थाले शेयर सदस्य तथा शेयर सदस्यका छोरा–छोरीमध्ये २०८२ सालमा एसईई वा सोभन्दा माथिल्लो तहमा उत्तीर्ण भएका विद्यार्थीहरूलाई ‘निलो आकाश शैक्षिक सम्मान’ प्रदान गर्ने भएको छ। सम्मानमा सहभागी हुन चाहने विद्यार्थी तथा अभिभावकले पनि भदौ २९ गतेभित्र नाम टिपाई आवश्यक सहयोग गर्न संस्थाले अनुरोध गरेको छ।
४२ करोडभन्दा बढीको सम्पत्ति
संस्थाले सार्वजनिक गरेको २०८३ साल असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार निलो आकाश सहकारीको कुल सम्पत्ति रु. ४२ करोड ६० लाख ९ हजार ३५१ रुपैयाँ ३४ पैसा पुगेको छ।
विवरणअनुसार संस्थाको शेयर पुँजी रु. ४ करोड ७९ लाख ३५ हजार, कुल बचत रु. ३० करोड ४५ लाख १२ हजार १३४ रुपैयाँ १५ पैसा र कुल लगानी रु. ३२ करोड ८४ लाख ४९ हजार ९४५ रुपैयाँ ७३ पैसा रहेको छ। संस्थाको तरलता रकम रु. ९ करोड ९ लाख ४९ हजार ७३ रुपैयाँ ४२ पैसा तथा तरलता प्रतिशत २९.९४ प्रतिशत रहेको विवरणमा उल्लेख छ।
त्यस्तै, संस्थामा १ हजार १५६ जना शेयर सदस्य र ४४७ जना ऋणी सदस्य रहेका छन्। संस्थाको वित्तीय विवरणले सदस्य संख्या, बचत तथा लगानी कारोबार निरन्तर विस्तार हुँदै गएको देखाएको छ।
सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
निलो आकाश बचत तथा ऋण सहकारीले बचत तथा ऋणको वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै आएको छ। संस्थाले वित्तीय साक्षरता, स्वास्थ्यसम्बन्धी कार्यक्रम, सरसफाइ, वृक्षरोपण, विद्यार्थी सम्मान तथा विभिन्न अवसरमा राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यसैगरी वार्षिक रूपमा रक्तदान कार्यक्रम गर्दै आइरहेको छ।
सदस्य केन्द्रित सेवा र सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता
१९औँ वार्षिक साधारणसभामार्फत संस्थाले विगत एक वर्षको आर्थिक तथा संस्थागत प्रगतिको समीक्षा गर्नुका साथै आगामी वर्षका लागि सदस्य केन्द्रित कार्यक्रम, वित्तीय अनुशासन, संस्थागत सुशासन तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।
अध्यक्ष अधिकारीले सदस्यहरूको विश्वास, सहभागिता र सहकार्य नै संस्थाको मुख्य शक्ति रहेको बताउँदै आगामी दिनमा पनि सदस्यको आर्थिक हितसँगै शिक्षा, स्वास्थ्य, मानवीय सेवा तथा सामाजिक क्षेत्रमा संस्थाको भूमिका थप प्रभावकारी बनाउँदै लैजाने बताउनुभएको छ।
निलो आकाश सहकारीको १९औँ वार्षिक साधारणसभा केवल आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने अवसर मात्र नभई सदस्यको सम्मान, विद्यार्थीको प्रोत्साहन र समुदायप्रतिको संस्थाको सामाजिक प्रतिबद्धता अभिव्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा समेत रहने देखिएको छ।
