एनएसजेएफ गण्डकीलाई प्रदेशस्तरीय मिडिया कप फुटसलको उपाधि
कास्की, ३ असोजः पोखरा रङ्गशाला सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल प्रतियोगिताको उपाधि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले जितेको छ ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा नेपाल पत्रकार महासङ्घ बागलुङलाई २–० गोलले पराजित गरी एनएसजेएफले उपाधि हात पारेको हो । च्याम्पियन गण्डकीले उपाधिसहित नगद रु ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता बनेको बागलुङले नगद रु ३० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बागलुङका रोहन जिसी सर्वाेत्कृष्ट खेलाडी घोषित भई नगद रु पाँच हजार प्राप्त गर्नुभयो । प्रतियोगिताको सर्वाेत्कृष्ट प्रशिक्षक गण्डकीकै धनबहादुर गुरुङ घोषित भएर नगद रु पाँच हजार पाउनुभयो ।
प्रतियोगिताको सर्वाेत्कृष्ट प्रशिक्षक र खेलाडीलाई एडभेन्चर पार्टनर गो बन्जीमार्फत फ्लाई कुपनसमेत प्रदान गरिएको छ ।
प्रतियोगिताका विजेता टिम र खेलाडीलाई गण्डकी विश्वविद्यालयका उपकुलपति डा कृष्णराज अधिकारीले पुरस्कार प्रदान गर्दै मिडियाकर्मीले खेलमार्फत स्वास्थ्य र भाइचाराको सन्देश दिन खोजेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले गण्डकी विश्वविद्यालयले पनि खेल व्यवस्थापनको अध्यापन गराइरहेको जनाउँदै आगामी शैक्षिकसत्रदेखि फुटसललाई पाठ्यक्रममा समेट्ने योजना रहेको उल्लेख गर्नुभयो ।
प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बराल, नेपाल पत्रकार महासङ्घ बागलुङका अध्यक्ष राम थापा लगायतले प्रतियोगिताले सञ्चारकर्मीका बीचमा भाइचारा र खेल विकासमा सहयोग पुगेको बताउनुभयो ।
आयोजक नयाँ लिपि मिडियाका अध्यक्ष सुरज श्रेष्ठले प्रतियोगितालाई सफल पार्न पत्रकार र पत्रकार आबद्ध संस्थाहरूको सहयोगप्रति धन्यवाद दिँदै आगामी वर्षमा निरन्तरता दिइने बताउनुभयो ।
“प्रतियोगिताको उद्देश्य खेल्नु मात्र नभएर संस्थालाई मानवीय सेवामा जोड्नु पनि हो । आर्जित मुनाफा भोटेकोशी बाढीबाट प्रभावितको हितमा खर्च गरिनेछ”, श्रेष्ठले भन्नुभयो ।
यही असोज २ गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका चार टोलीको सहभागिता थियो ।
