मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह
लमजुङ, ३१ भदौः लगातार वर्षा भइरहेका कारण मस्र्याङ्दी नदीमा पानीको सतह बढेको छ । भकुण्डेबेँसीस्थित मस्र्याङ्दी जलमापन केन्द्रका अनुसार अहिले नदीको जलसतह ८.२४ मिटर आसपास रहेको छ ।
उक्त केन्द्रमा १० मिटरलाई चेतावनी तह मानिएको छ । पानीको बहाव बढ्दा पछिल्ला दिनमा नदीले चेतावनी तह पटकपटक पार गरेको केन्द्रले जनाएको छ । मस्र्याङ्दी नदीमा पानीको सतह बढ्दा ‘साइरन’ बज्ने व्यवस्था गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले मस्र्याङ्दी नदीमा पानीको सतह पटकपटक बढ्ने गरेको र यसले विशेषगरी नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढाएको बताउनुभयो ।
नदी आसपासका विभिन्न स्थानमा जलविद्युत् आयोजनाले जडान गरेका साइरनबाट पानीको सतह बढेको जानकारी पाउने गरिएको उहाँले जानकारी दिनुभयो ।
पछिल्लो समय पानी पर्ने क्रम जारी रहेकाले कति बेला के हुन्छ भन्ने एकिन गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । निरन्तर वर्षाका कारण नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको उहाँको भनाइ छ ।
यसअघि २०७८ सालमा आएको बाढीले मस्र्याङ्दी नदी आसपासका क्षेत्रमा क्षति पुर्याएको थियो । सो बाढीका कारण लमजुङ–मनाङ सडकखण्डलगायतका भौतिक संरचनामा समेत क्षति पुगेको थियो ।
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार बिहान सडकको माथिल्लो भागबाट पहिरोसहित ढुङ्गा–माटो खसेर सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खुदीबाट प्रहरी सहायक हवल्दार रामकुमार श्रेष्ठको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको उहाँले जानकारीदिनुभयो ।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने पहल भइरहेको सूचना अधिकारी क्षेत्रीले बताउनुभयो । खरखरे भिर प्रहरी चौकी खुदीबाट करिब तीन किलोमिटर पश्चिममा पर्छ ।
खरखरे भिरमा वर्षायाममा पटकपटक पहिरो खस्ने गरेको छ । यसअघि पनि पहिरोका कारण सडक अवरुद्ध हुँदै आएको थियो । वर्षा जारी रहेकाले पहिरोको जोखिम कायमै रहेको र सडक खुलाउने क्रममा समेत सावधानी अपनाउनुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।
