आशावादी हुन गुटेरेसको आग्रह
न्युयोर्क, ५ असोज : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वका कठिन चुनौतीबीच निराश नभई आशावादी बन्न र राम्रो संसार निर्माणका लागि निरन्तर प्रयास गर्न आह्वान गर्नुभएको छ ।
महासभाको ८१औँ सत्रको उच्चस्तरीय सप्ताह सुरु हुनुअघि सामाजिक सञ्जाल एक्समार्फत सन्देश दिँदै उहाँले अहिलेको कठिन समयमा आशा कायम राख्नुपर्ने बताउनुभयो । “यी कठिन समयमा हामीले निराश होइन, आशावादी हुन रोज्नुपर्छ । हामी सबैका लागि राम्रो संसार निर्माण गर्ने प्रयास छोड्न सक्दैनौँ”, उहाँले भन्नुभयो ।
महासभाका लागि न्युयोर्कमा भेला भएका विश्व नेताहरूलाई अन्तर्राष्ट्रिय सहयोग सुदृढ गर्न आग्रह गर्दै उहाँले शान्ति, गरिमा, न्याय र मानवताका लागि एकजुट भएर सामूहिक प्रयास गर्नुपर्ने बताउनुभयो । गुटेरेसको वर्तमान कार्यकाल यस वर्षको अन्त्यमा सकिँदैछ ।
यसैबीच, क्यानाडाकी विदेशमन्त्री अनिता आनन्दले ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनसँग भेटवार्ता गरी ग्रिनल्यान्डसँगको सम्बन्ध र आर्कटिक सुरक्षाबारे छलफल गर्नुभएको छ । क्यानाडाले नुकस्थित नयाँ वाणिज्य दूतावासमार्फत ग्रिनल्यान्डसँगको सम्बन्ध विस्तार गरिरहेको उहाँले बताउनुभयो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबीच भएको सुरक्षा सम्झौताले आर्कटिक क्षेत्रमा अमेरिकाको राष्ट्रिय सुरक्षा चासो सम्बोधन गर्ने बताउनुभएको थियो ।
महासभाको ८१औँ सत्रको विषयवस्तु ‘विश्वास पुनःस्थापना, रूपान्तरण व्यवस्थापन ः सबैका लागि उपलब्धि सुनिश्चित गर्ने संयुक्त राष्ट्रसङ्घ’ रहेको छ । बङ्गलादेशका खलिलुर रहमानले सत्रको अध्यक्षता गरिरहनुभएको छ । महासभामा संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रका प्रतिनिधिले प्रमुख अन्तर्राष्ट्रिय मुद्दामा आफ्ना धारणा प्रस्तुत गर्नेछन् ।
