Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिञ्चित क्षेत्रका किसानको लगत सङ्कलन गर्दै सिक्टा सिँचाइ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार | (रासस)

राँझा (बाँके), ५ असोजः बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाले आफ्नो सिञ्चित क्षेत्रका उपभोक्ता किसानको लगत सङ्कलन सुरु गरेको छ ।

    आयोजनाले पूर्वी र पश्चिम दुवै मूल नहरअन्तर्गतका शाखा, उपशाखा, प्रशाखाका जल उपभोक्ता किसानको लगत सङ्कलनका लागि स्थानीय जनप्रतिनिधिको र किसानसँग छलफल सुरु गरेको आयोजनाका निर्देशक राजु आचार्यले बताउनुभयो । 

    उहाँका अनुसार सिँचाइ सुविधाका लागि सिञ्चित क्षेत्रका किसानलाई सदस्यता प्रदान गर्न अहिले लगत सङ्कलन कार्य भइरहेको छ । यही असोजभित्र बाँकी रहेको लगत सङ्कलन पनि सक्ने गरी काम भइरहेको छ ।

    “सिँचाइ सेवा लिनका लागि जल उपभोक्ता सदस्य अनिवार्य छ । यही सदस्यताका आधारमा उपशाखा, शाखा र मूल नहर सञ्चालन समिति चयन हुनेछ”, निर्देशक आचार्यले भन्नुभयो, “लगत सङ्कलनकै आधारमा आयोजनाले सिँचाइ विस्तार र आवश्यक पूर्वाधारको काम गर्नेछ ।”

    हालसम्म आयोजनाको पश्चिम मूल नहरअन्तर्गत पेडारी, अकलघरुवा, पर्सेनीपुर शाखा र पूर्वी मूल नहरअन्तर्गत राजकुलो, फत्तेपुर शाखा, उपशाखा र प्रशाखाबाट सिँचाइ सुविधा लिनुहुने वा भविष्यमा लिने सम्पूर्ण किसान वर्ग तथा सरोकार भएका निकायका प्रतिनिधि र जनप्रतिनिधिसँग लगत सङ्कलनका लागि छलफल गरिएको निर्देशक आचार्यले जानकारी दिनुभयो । 

    किसानको घरदैलोमा लगत सङ्कलनकर्ता पुग्दा आफ्नो सही विवरण उपलब्ध गराउन अनुरोध गर्दै निर्देशक आचार्यले भन्नुभयो, “किसानको लगत आयोजनासँग भएमा कति पानी किसानलाई आवश्यक हुन्छ भन्ने जानकारी भई सोही आधारमा नहरमा पानी दिन सजिलो हुने भएकाले लगत उपलब्ध गराउनु होला ।”

    आयोजनाको आगामी योजना निर्माणमा सहज होस् भनेर आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको लगत सङ्कलन गरिरहेको आयोजनाको पूर्वी मूल नहर उपभोक्ता तदर्थ समितिका अध्यक्ष लालबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँले पूर्वी नहरको किसान लगत सङ्कलन करिव अन्तिम चरणमा पुगेको बताउनुभयो ।

    आयोजना निर्देशक आचार्यका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने यो अवधिमा पूर्वाधार निर्माणतर्फ करिब रु २४ अर्ब खर्च भइसकेको छ । मर्मतसम्भारको काम नियमित रुपमा चल्ने भए पनि आयोजना निर्माणको बाँकी काम पाँच वर्षमा सक्ने गरी अहिले काम भइरहेको छ ।

    आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको यो आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका अगैयास्थित राप्ती नदीमा ३१७ मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ । 

    नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण सुरु गरिएको यो आयोजनाको पश्चिम मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । हाल २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको आयोजना निर्देशक आचार्यले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan