आलेखः कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा
सुनसरी, ५ असोजः बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र कटानका कारण आफ्नो पाँच–सात बिघा जमिन गुमाइसक्नु भएको छ । चार दशकदेखि श्रीलङ्का टप्पुमा बस्दै आउनुभएका माझीको अहिले आफ्नै नाममा जमिन समेत छैन । “कति बेला कोशी आउँछ र बगाउँछ भन्ने टुङ्गो हुँदैन, अहिले त्रासमा बस्नुपरेको छ,” उहाँले भन्नुभयो, “असार महिनादेखि नै कोशीले कटान सुरु ग¥यो अहिले पानी परेका बेला कहिले राति उठेर नदीमा ठूलो बाढी पो आएको छ कि भनेर हेर्न जान्छु । बेलुका सुत्न पनि डर लाग्छ, कहिलेकाहीँ जाग्राम नै बस्नुपर्छ ।”
पहिला वन्यजन्तुको समेत त्रास हुने गरेकोमा अहिले बत्ती जडान भएपछि त्यसमा केही कमी आए पनि कोशीको डुबान र कटानको जोखिम भने उस्तै रहेको उहाँले बताउनुभयो । “अब यहाँबाट अन्तै सरेर जाऊँ भने पनि जाने ठाउँ छैन, खै के गर्ने,” उहाँले भन्नुभयो । हरेक वर्ष बर्खा सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका घटना दोहोरिन्छन् । अत्यधिक वर्षाका कारण ठूलो जनधनको क्षति हुने क्रम पनि जारी छ ।
बाढी तथा डुबानको उच्च जोखिममध्येको सुनसरी जिल्ला पनि एक हो । बर्खायाममा सप्तकोशीसहित विभिन्न नदीमा आउने बाढीले बस्ती डुबानमा पार्ने र खेतीयोग्य जमिन बगाउने क्रम दोहोरिँदै आएको छ । सप्तकोशी नदी किनारका बस्तीका लागि बाढीसँगै नदीको तीव्र कटान पनि उत्तिकै ठूलो चुनौती बनेको छ । विशेषगरी बराहक्षेत्र नगरपालिका–६ र ९ स्थित चिलिया टप्पु तथा श्रीलङ्का टप्पुका बासिन्दा वर्षेनी बाढी र कटानको दोहोरो त्रासमा जीवन बिताउन बाध्य छन् । नदीले वर्षेनी खेतीयोग्य जमिन र बस्ती कटान गर्दै जोखिम बढाइरहे पनि यसको दीर्घकालीन समाधान हुन सकेको छैन ।
बर्खा सुरु भएसँगै सप्तकोशीको बहाव बढ्दा सुनसरी र उदयपुरको सिमानामा पर्ने श्रीलङ्का टप्पुका बासिन्दाको चिन्ता पनि बढ्ने गरेको छ । बराहक्षेत्र नगरपालिका–६ का पदम राई भन्नुहुन्छ, ‘‘हामी यहाँ पहिला पहाडबाट बसाइँ सरेर आउँदा कोशी नदी बस्तीबाट धेरै टाढा बग्ने गरेको थियो । अहिले भने नदी बस्ती नजिकै आइपुगेको छ ।’’ २०७४ सालदेखि सपरिवार श्रीलङ्का टप्पुमा बस्दै आउनु भएका राईले एक बिघा जमिनमा धान र मकै खेती गर्नुका साथै गाईभैँसी पालेर जीविकोपार्जन गर्दै आउनु भएको छ । वर्षभरि मिहेनत गरेर खेतीपाती र पशुपालन गरे पनि हरेक वर्ष कोशीको कटान र बाढीले घर तथा खेत जोखिममा पार्ने गरेको उहाँले बताउनुभयो ।
तीन महिनादेखि नै कटान सुरु भएको छ । हामी सबै मिलेर श्रमदान गर्दै बालुवा र सिमेन्टका बोरा भरेर किनार जोगाउने प्रयास गरिरहेका छौँ । उहाँले भन्नुभयो, ‘‘तर ठूलो बाढी आयो भने यो प्रयासले धान्न सक्दैन । अहिलेका लागि केही राहत भए पनि यो स्थायी समाधान होइन ।’’ वर्षभरको खेतीपाती र पशुपालनबाट परिवारको गुजारा चल्ने भए पनि हरेक बर्खामा बाढी र कटानले आफूहरूको मिहेनत बगाइदिने हो कि भन्ने चिन्ता रहने गरेको उहाँले सुनाउनुभयो ।
कोशीले तीव्र कटान गर्न थालेपछि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा नगर प्रहरी संयुक्त रूपमा श्रमदान गरी अस्थायी तटबन्ध निर्माण गर्दै बस्ती जोगाउने प्रयास जारी छ । सप्तकोशी कटान नियन्त्रण समितिका अध्यक्ष जयकुमार माझीका अनुसार वर्षेनी बढ्दो कटानका कारण चिलिया टप्पु र श्रीलङ्का टप्पुको बस्ती उच्च जोखिममा पर्दै गएको छ ।
कटान नियन्त्रणका लागि यसअघि निर्माण गरिएका करिब १८ वटा स्परमध्ये नौ वटा पूर्ण रूपमा क्षतिग्रस्त भइसकेका छन् भने बाँकी स्परसमेत नदीको कटानमा पर्दै गएका छन् । “बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाको समन्वयमा श्रमदान गरेर कटान रोक्ने प्रयास गरिरहेका छौँ,”उहाँले भन्नुभयो, “बाँस गाड्ने, नाइलनको डोरीले बाँध्ने र बालुवा भरिएका बोरा राख्ने जस्ता उपाय अपनाएका छौँ । तर यी तत्कालका लागि अस्थायी उपाय मात्र हुन् । दीर्घकालीन रूपमा बलियो तटबन्ध निर्माण नगरी समस्या समाधान हुन सक्दैन ।”
सप्तकोशीले धार परिवर्तन गरेर बनाएको चिलिया टापु अहिले पनि हजारौँ मानिसको आश्रयस्थल हो । बराहक्षेत्र नगरपालिका–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–१, २ र ३ मा फैलिएको यस क्षेत्रमा हरेक बर्खासँगै नदीको बहाव बढ्ने गरेको छ । यसवर्ष पनि चिलिया र गरैया क्षेत्रमा नदीले तीव्र कटान थालेपछि सयौँ परिवार त्रासमा बाँचिरहेका छन् ।
सप्तकोशीको पश्चिमी भँगालोले धार परिवर्तन गर्दै निरन्तर कटान गरेपछि अहिले ६०० घरपरिवार उच्च जोखिममा छन् भने केही दिनअघि करिब २२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । केही परिवार अहिले पनि चौरमा टहरामा बसिरहेका छन् । बराहक्षेत्र नगरपालिका–६ का बद्रीकुमार राईका अनुसार भारत सरकारले अघिल्लो वर्ष ढुङ्गाको जाली लगाएर निर्माण गरिदिएको ‘स्पर’ हुँदाहुँदै पनि कोशीले कटान गरेको छ । बराहक्षेत्र–९ तर्फ भने यस्ता स्परसमेत नभएकाले नदीको कटान अझ तीव्र भइरहेको उहाँले बताउनुभयो ।
बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका राकेशकुमार महतोको करिब चार बिघा जग्गा सप्तकोशी नदीको कटानले बगाएपछि उहाँ अहिले अरूको जग्गा भाडामा लिएर तरकारी खेती गरिरहनुभएको छ । महतोले अहिले करिब १० कट्ठा जग्गा भाडामा लिएर टमाटर, बोडी, साग, भिन्डीलगायत मौसमी तरकारी खेती गर्नुभएको छ । त्यसमध्ये आठ कट्ठामा मल्चिङ प्रविधिबाट गोलभेँडा खेती गरिएको छ भने बाँकी जग्गामा विभिन्न मौसमी तरकारी लगाइएको उहाँले बताउनुभयो ।
“पहिला करिब चार बिघा जग्गा थियो । सबै सप्तकोशी नदीले कटान गरेर लग्यो । अहिले आफ्नो जग्गा छैन, अरूको जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेको छु,” महतोले भन्नुभयो, “पहिला बारी धेरै हुँदा तरकारी खेतीसँगै गाईभैँसी पनि पाल्थेँ । कोसी कटानले खेतीयोग्य जमिन बगाएपछि पशुपालनका लागि आवश्यक चरन गर्ने ठाउँ पनि छैन । अहिले गाईभैँसी पाल्न पनि छाडेको छु ।” अहिले तरकारीसँगै धान र मकै खेती गरेर जीविकोपार्जन गरिरहेको उहाँले बताउनुभयो । “बर्सेनि सप्तकोशीले कटान गरिरहेको छ । अहिले बसिरहेको यो सानो बास र टिनले बारेर बनाएको कटेरो घर पनि कुन दिन कोशीले बगाएर लैजाला भन्ने डर छ,” उहाँले भन्नुभयो ।
बर्खा सुरु भएपछि श्रीलङ्का टप्पुका बासिन्दाले हरेक वर्ष बाढी र कटानको त्रास भोग्दै आएका छन् । बर्सेनि खेतीयोग्य जमिन साँघुरिँदै जानु, घर नजिकै नदी आइपुग्नु र आवश्यक पर्दा बस्ती नै छाडेर हिँड्नुपर्ने अवस्था दोहोरिँदा यहाँका नागरिकका लागि बर्खायाम चिन्ताको विषय बन्ने गरेको छ । वर्षभरको खेतीपाती र पशुपालनबाट परिवारको गुजारा चल्ने भए पनि प्रत्येक वर्ष बर्खामा बाढी र कटानले सबै मिहेनत बगाइदिने चिन्ता स्थानीयलाई उस्तै रहने गरेको छ ।
उदयपुरको बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीका अनुसार बेलका–८ क्षेत्रमा गरिएको संरक्षण कार्यले केही राहत दिएको भए पनि तल्लोतटीय क्षेत्रमा नदीको कटान रोकिएको छैन । सप्तकोशीले बिस्तारै धार पश्चिमतर्फ मोड्ने संकेत देखिएको र त्यहाँ बाक्लो मानव बस्ती रहेकाले जोखिम झन् बढ्दै गएको उहाँले बताउनुभयो । गत वर्ष कटान रोक्ने उद्देश्यले निर्माण गरिएका तारजालीयुक्त संरचनासमेत अहिले नदीको बहावमा डुब्न थालेका छन् । असारदेखि सुरु भएको कटान अब झन् बढ्दै जाने खतरा रहेको छ । बलौटे माटो भएकाले दैनिक रूपमा जमिन बगिरहेको छ भने संरक्षणका लागि राखिएका ढुङ्गा र तारजाली नदीले बगाउँदै लगेको छ ।
बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की भन्नुहुन्छ, “कटान रोक्न नगरपालिकाले आफ्नो क्षमताअनुसार आवश्यक सबै स्रोतसाधन परिचालन गरेको छ ।” कटान प्रभावित क्षेत्रमा जेसिबी, ट्याक्टर, बालुवा ढुवानीका साधन, जाली, बोरा, सिमेन्टलगायत आवश्यक सामग्री उपलब्ध गराएर स्थानीय र सुरक्षा निकायसँग समन्वय गरी तटबन्ध निर्माण तथा कटान नियन्त्रणको काम भइरहेको उहाँले बताउनुभयो ।
कोशी कटानपछि विस्थापित परिवारलाई बराहक्षेत्र नगरपालिकाले तत्कालका लागि प्रतिपरिवार रु १० हजार उपलब्ध गराएको छ । नगरप्रमुख कार्कीले भन्नुभयो, “कोशीको कटान यहाँको मात्र समस्या नभई राष्ट्रिय सरोकारको विषय हो । नगरपालिकाको सीमित बजेट र स्रोत साधनले बर्सेनि दोहोरिने कटानको स्थायी समाधान सम्भव छैन । हामीले आफ्नो तर्फबाट गर्न सकिने सबै प्रयास गरिरहेका छौँ । तर सप्तकोशी जस्तो शक्तिशाली नदी नियन्त्रणका लागि वैज्ञानिक अध्ययनका आधारमा दीर्घकालीन संरचना निर्माण गर्न आवश्यक छ ।”
उपयुक्त स्थानमा ड्याम, स्पर तथा अन्य नदी नियन्त्रणका संरचना निर्माण गर्न सकिए कटान धेरै हदसम्म नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । “यदि कटान बढ्दै गएर बस्तीमा बाढी पस्यो भने ठूलो धनजनको क्षति हुन सक्छ । दीर्घकालीन समाधानका लागि सङ्घीय सरकारको सहयोग, पर्याप्त बजेट र आवश्यक परे छिमेकी मुलुकसँग कूटनीतिक पहलसमेत आवश्यक छ,” नगरप्रमुख कार्कीले भन्नुभयो ।
कोशीले निरन्तर कटान गर्न थालेपछि श्रीलङ्का टप्पुका केही बासिन्दा यस वर्ष सप्तकोसीपारि पूर्वतर्फको प्रकाशपुरमा बसाइँ सरिसकेका छन् । केही परिवार भने वर्षौंदेखि बस्दै आएको ठाउँ छाडेर झापा बसाइँ गएका छन् । श्रीलङ्का टप्पुका बालीचरण कविरथ पनि प्रकाशपुर सर्ने तयारीमा हुनुहुन्छ । “धन्न जसोतसो गरेर प्रकाशपुरमा एक कठ्ठा जग्गा जोडिएको छ । अब हामी पनि त्यतै सर्ने तयारी गर्दैछौँ । यहाँ कोसीले कटान गरिरहेको छ, ज्यान जोखिममा राखेर बस्नु हुँदैन,” उहाँले भन्नुभयो ।
करिब तीन हजार जनसङ्ख्या रहेको यस क्षेत्रमा अधिकांश परिवारको जीविकोपार्जन कृषि र पशुपालनमा आधारित छ । धान, मकै, तरकारी खेती, पशुपालन तथा दुग्ध उत्पादन यहाँको ग्रामीण अर्थतन्त्रका मुख्य आधार हुन् । हरेक बर्खामा बाढी र कटानको जोखिमसँग जुध्दै स्थानीयले श्रमदान गरेर अस्थायी तटबन्ध निर्माण तथा सामूहिक पहलमार्फत बस्ती र खेतीयोग्य जमिन जोगाउने प्रयास गर्दै आएका छन् । तर यस्ता प्रयासले तत्काल केही राहत दिए पनि दीर्घकालीन समाधान हुन सकेको छैन ।
