टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द
टाइफुन ‘डुजुआन’ जापानतर्फ अघि बढ्दै गर्दा सोमबार सयौँ उडान रद्द गरिएका छन् भने १६ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ । मौसमविद्ले आँधीसँगै कीर्तिमानी भारी वर्षा हुन सक्ने चेतावनी दिएका छन्।
टोकियो नजिकैको कात्सुउरा सहरबाट करिब १३० किलोमिटर दक्षिणतर्फ रहेको डुजुआनले प्रतिघण्टा करिब १४४ किलोमिटरको गतिमा हावा चलाइरहेको थियो। आँधी उत्तरतर्फ अघि बढ्दै जाँदा राजधानी टोकियोसहित आसपासका क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरीको जोखिम बढेको छ ।
जापान एयरलाइन्सले १३५ र अल निप्पोन एयरवेजले १४० उडान रद्द गरेका छन्। टोकियो आसपासका नौ हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। टोकियो, चिबा, कानागावा र सिजुओका प्रिफेक्चरमा पहिरोको चेतावनी जारी गरिएको छ भने केही रेल सेवासमेत स्थगित भएका छन्।
जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार मङ्गलबारसम्म हुने कुल वर्षाले सेप्टेम्बर महिनाको औसत वर्षा नाघ्न सक्ने र केही क्षेत्रमा कीर्तिमानी वर्षा हुन सक्ने सम्भावना छ । एजेन्सीले आँधी आउनुअघि नै वर्षा र हावाको गति बढ्ने चेतावनी दिएको थियो ।
विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार राजधानी र आसपासका क्षेत्रमा १६ लाखभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। यद्यपि, यो आग्रह अनिवार्य भने होइन ।
टाइफुनका कारण हालसम्म एक व्यक्ति सामान्य घाइते भएका छन् भने नौ घरमा क्षति पुगेको बताइएको छ ।
आँधीका कारण चिबामा आयोजना भइरहेको ‘टोकियो गेम शो’ सोमबार निर्धारित समयभन्दा अगाडि नै बन्द गरिएको छ। चिबामै आयोजना हुने भनिएको ठूलो खुला सङ्गीत महोत्सव र बेसबल खेल पनि रद्द भएका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा लोकप्रिय पर्यटकीय स्थल कामाकुरा स्टेसन आसपासका सडक डुबानमा परेको देखिएको छ। कामाकुराका मेयर ताकासी मात्सुओले सडकमा पानी जमेकाले कारमा यात्रा गर्नु जोखिमपूर्ण रहेको बताउनुभएको छ ।
