बुढीगण्डकीमा बाढी खतरा तहभन्दा माथि, त्रिशूली आसपास उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । बुढीगण्डकी नदीमा बाढीको सतह खतरा तहभन्दा माथि पुगेपछि त्रिशूली नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीको बहाव बढ्ने र घट्ने क्रम जारी रहेकाले नदी तटीय क्षेत्रमा जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार त्रिशूली नदी बेनीघाटसम्मको क्षेत्रमा अति उच्च जोखिम रहेकाले त्यहाँ बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित तथा उच्च स्थानमा जान आग्रह गरिएको छ। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनारमा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सर्न र सुरक्षाका उपाय अपनाउन भनिएको छ।
त्यस्तै, मुग्लिनसम्मको क्षेत्रमा उच्च जोखिम रहेकाले त्यहाँका बासिन्दालाई उच्च सतर्कतामा रहन महाशाखाले अनुरोध गरेको छ।
चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यम जोखिम रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन तथा नदीको बहावमा हुने परिवर्तनबारे निरन्तर जानकारी लिन आग्रह गरिएको छ।
बाढीको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले नदी किनारमा नजाने, जोखिमपूर्ण स्थानमा आवतजावत नगर्ने र सुरक्षाकर्मी तथा स्थानीय प्रशासनको निर्देशन पालना गर्न आवश्यक छ।
बाढीसम्बन्धी थप जानकारीका लागि नेपाल बाढी सूचना फेसबुक पेज हेर्न वा ११५५ (विकल्प २) मा सम्पर्क गर्न महाशाखाले आग्रह गरेको छ।
यो पनि पढ्नुहोेस् ।
अपडेट-बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
बुढीगण्डकीमा आकस्मिक बाढी, नेपाली सेनाद्वारा ६ जनाको हवाई उद्धार
गोरखामा बुढीगण्डकी नदीको बहाव बढ्यो, स्थानीय र पर्यटक सुरक्षित स्थानतर्फ
