Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ह्यारी र मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार | (रासस-एपी)
newsabhiyan

लन्डन, २९ असोज : राजकीय जिम्मेवारी त्यागेको छ वर्षपछि राजकुमार ह्यारी र उहाँकी पत्नी मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको छ ।

बिहीबार मध्य इङ्गल्यान्डको नटिङ्घममा तीन परोपकारी संस्थाको भ्रमण गर्ने दम्पतीले पुराना सम्बन्ध पुनः जोड्दै आफ्नो सार्वजनिक पहिचान स्थापित गर्ने प्रयास गर्नुभएको छ ।

राजा चार्ल्स तृतीयले दम्पती राजपरिवारका गैरकार्यरत सदस्य रहेको स्पष्ट पार्नुभएको छ । दरबारले गत सेप्टेम्बरमा उहाँहरूलाई राजपरिवारका विशेष सम्बोधन प्रयोग नगर्न र परोपकारी काम निजी नागरिकका रूपमा गर्न निर्देशन दिएको थियो ।

दम्पतीको लोकप्रियताले सक्रिय राजपरिवारका सदस्यसँग सञ्चारमाध्यमको ध्यान र जनसमर्थनका लागि प्रतिस्पर्धा गर्न सक्ने चिन्ता दरबारका केही अधिकारीमा रहेको बताइएको छ ।

भ्रमणमा युवाको सीप विकास गर्ने कम्युनिटी रेकर्डिङ स्टुडियो, खाद्य सहायता केन्द्र हिम्मा र सुविधाबाट वञ्चित युवालाई खेलकुद तथा शिक्षा उपलब्ध गराउने एपिक पार्टनर्स समावेश छन् ।

ह्यारी एक दशकभन्दा बढी समयदेखि दुई संस्थासँग आबद्ध हुनुहुन्छ भने मेघनले सन् २०१८ मा प्रकाशित पुस्तकमार्फत हिम्मासँग सहकार्य गर्नुभएको थियो ।

राजकीय जिम्मेवारी त्यागेर छ वर्षअघि क्यालिफोर्निया सर्नुभएका दम्पतीले त्यसपछि नेटफ्लिक्स र स्पोटिफाईसँग व्यावसायिक सम्झौता गर्नुभएको थियो ।

मेघनको मानसिक स्वास्थ्यप्रति दरबारले संवेदनशीलता नदेखाएको तथा राजपरिवारका केही सदस्यले जातीय विभेद गरेको आरोप लगाएपछि उहाँहरूको सम्बन्ध बिग्रिएको थियो ।

पछिल्ला महिनामा भने सम्बन्ध सुधारको सङ्केत देखिएको छ । ह्यारीले पिता राजा चार्ल्ससँग मेलमिलाप गर्न चाहेको र आफ्ना छोराछोरीले हजुरबुवालाई चिन्ने अवसर पाऊन् भन्ने इच्छा व्यक्त गर्नुभएको छ । सन् २०२४ मा क्यान्सर पत्ता लागेपछि राजा चार्ल्सको उपचार भइरहेको छ ।

ह्यारी र मेघन आफ्ना दुई छोराछोरीसँगै अक्सफोर्डको पश्चिममा रहेको कोट्सवल्ड्सको ग्रामीण क्षेत्रमा बस्दै आउनुभएको छ । यद्यपि, बेलायत फर्किएपछि पनि सुरक्षा विवाद कायम छ ।

राजकीय जिम्मेवारी त्यागेपछि हटाइएको सार्वजनिक कोषबाट उपलब्ध हुने प्रहरी सुरक्षा पुनः उपलब्ध गराउन ह्यारीले माग गर्दै आउनुभएको छ ।

आफ्नो शाही हैसियतका कारण परिवार जोखिममा परेको उहाँको भनाइ छ । सुरक्षा समस्याका कारण छोराछोरीले नयाँ शैक्षिक सत्र सुरु भएको केही दिनमै विद्यालय परिवर्तन गर्नुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan