Saturday 17th of October | २०८३ कार्तिक १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १ शनिबार | रासस/एएफपी

म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई आक्रमणमा ११ जना सर्वसाधारणको मृत्यु भएको विद्रोही लडाकुले शनिबार बताएका छन् । मृतकमा छ महिला र दुई बालबालिका पनि छन् ।
    
    सन् २०२१ मा सैन्य ‘कू’ मार्फत नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्त गरिएयता म्यान्मा गृहयुद्धको चपेटामा छ ।

    मन्डाले सहरको दक्षिणपश्चिममा पर्ने येसाग्यो टाउनसिपस्थित विद्रोही समूह ‘पिपुल्स डिफेन्स फोर्स’ (पिडिएफ) को नियन्त्रणमा रहेका क्षेत्रमा शुक्रबार दिउँसो करिब २ः०० बजे हवाई आक्रमण भएको पिडिएफका सदस्य बो पावले बताउनुभयो ।

    उहाँका अनुसार आक्रमणमा छ महिला र दुई बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। मृतकमध्ये एक वर्षको बालकसमेत रहेको उहाँले बताउनुभयो, ती बालक भर्खरै हिँड्न सिक्दै थिए ।

    यस घटनाबारे प्रतिक्रिया लिन सेनासँग सम्पर्क हुन नसकेको समाचारमा जनाइएको छ ।

    सुरक्षाका कारण आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा एक प्रत्यक्षदर्शीले आक्रमणपछि तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएको बताए । उनका अनुसार सडक छेउमा रहेका ती घरमा बम खसेको थियो ।

    प्रत्यक्षदर्शीले साइकल चलाइरहेका ११ वर्षीय विद्यार्थीसहित सबै ११ जनाको घटनास्थलमै मृत्यु भएको बताए ।

    द्वन्द्व अनुगमन संस्था ‘आम्र्ड कन्फ्लिक्ट लोकेसन एन्ड इभेन्ट डेटा’ (एक्लेड) का अनुसार म्यान्मामा गृहयुद्ध सुरु भएयता एक लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
        
    सैन्य ‘कू’ पछि सेनाविरुद्ध पिडिएफको उदय भएको थियो। यससँगै लामो समयदेखि केन्द्रीय सरकारको विरोध गर्दै आएका विभिन्न जातीय अल्पसङ्ख्यक सशस्त्र समूह पनि द्वन्द्वमा सक्रिय भएका छन ्।

    सुरुआती चरणमा सेनाविरुद्ध उल्लेखनीय सफलता हासिल गरेको पिडिएफ अहिले म्यान्माको दोस्रो ठूलो सहर मन्डाले आसपासका क्षेत्रमा रक्षात्मक अवस्थामा पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan