युद्धको छायामा इजरायलको चुनाव
हमासको आक्रमण, गाजामा जारी युद्ध र आन्तरिक विभाजनका बीच इजरायली मतदाताले अक्टोबर २७ मा हुने निर्वाचनबाट प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्य निर्धारण गर्नेछन् । निर्वाचनले इजरायलको राजनीति स्थायी रूपमा कट्टर दक्षिणपन्थी राष्ट्रवादतर्फ अघि बढ्ने वा त्यसलाई चुनौती दिने शक्ति बलियो हुने भन्ने सङ्केतसमेत दिनेछ ।
सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको प्रभाव इजरायली समाजमा अझै देखिन्छ । आक्रमणमा मारिएका युवाका तस्बिर सार्वजनिक स्थानमा टाँसिएका छन् । इजरायलले त्यसयता गाजामा व्यापक विनाश गरेको छ, लेबनानका केही भाग कब्जा गरेको छ र अमेरिकाको सहयोगमा इरानमा बमबारी गरेको छ । सैन्य अभियानका कारण इजरायलले पश्चिमी मुलुकबाट समेत आलोचना खेप्नुपरेको छ । नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालतको गिरफ्तारी वारेन्टसमेत सामना गर्नुभएको छ ।
इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नुभएका नेतान्याहुले सन् २०२२ मा पुनः सत्तामा फर्किएपछि अति राष्ट्रवादी दलहरूसँग गठबन्धन गर्नुभएको थियो । न्यायपालिकाको अधिकार सीमित गर्ने उहाँको प्रयासले अक्टोबर ७ को आक्रमणअघि नै देशव्यापी विरोध निम्त्याएको थियो । कब्जा गरिएको वेस्ट ब्याङ्कमा यहुदी बस्ती विस्तार र प्यालेस्टिनीमाथि बसोबासकर्ताका आक्रमणले पनि विवाद चर्काएको छ ।
विपक्षी दलहरूले अक्टोबर ७ को आक्रमण रोक्न सरकार असफल भएको विषयलाई चुनावी बहसको केन्द्रमा राखेका छन् । पूर्वसैनिक प्रमुख गदी आइसेनकोट नेतान्याहुका प्रमुख प्रतिस्पर्धीमध्ये एक हुनुहुन्छ । उहाँले सुरक्षा चेतावनी बेवास्ता गरिएको भन्दै सरकारको आलोचना गर्नुभएको छ । नेतान्याहुले भने सुरक्षा निकायका प्रमुखहरूलाई दोष दिँदै आफूलाई समयमै जानकारी नदिइएको दाबी गर्दै आउनुभएको छ । गाजाको युद्धमा आइसेनकोटका छोरा मारिनुभएको थियो ।
मोरक्कोबाट आएका यहुदी आप्रवासी परिवारमा जन्मनुभएका आइसेनकोट विभिन्न विचारधाराका मध्यमार्गी मतदातालाई एकत्रित गर्ने प्रयासमा हुनुहुन्छ । उहाँ इजरायलको पहिलो मध्यपूर्वी मूलका प्रधानमन्त्री बन्न सक्ने व्यक्तिका रूपमा पनि चर्चामा हुनुहुन्छ । यद्यपि, विपक्षी नेताहरूले नेतान्याहुको युद्ध नीतिलाई खासै चुनौती दिएका छैनन् ।
निर्वाचनमा धार्मिक तथा सामाजिक विभाजन पनि प्रमुख मुद्दा बनेको छ । नेतान्याहुले धार्मिक विद्यार्थीलाई अनिवार्य सैन्य सेवाबाट छुट दिनुभएको छ । लामो समय सैन्य सेवामा खटिएका आरक्षित सैनिकहरू यसबाट असन्तुष्ट छन् । पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटले सैन्य सेवामा दिइने सबै छुट अन्त्य गर्ने वाचा गर्नुभएको छ । विपक्षीहरूले धार्मिक प्राथमिकताअनुसार शनिबार सार्वजनिक यातायात बन्द राख्ने व्यवस्थासहितका विषयले समाज विभाजित बनाएको बताएका छन् ।
युद्धपछि केही इजरायलीमा सरकारप्रतिको समर्थन कायम छ । इरान र हिजबुल्लाहका प्रत्याक्रमणमा इजरायली नागरिक मारिए पनि गाजाबाट हुने गोलीबारी रोकिएको छ । अर्थतन्त्रमा सुधार, निर्माण गतिविधिमा वृद्धि र प्रविधि तथा रक्षा क्षेत्रको नेतृत्वमा सेयर बजार उकालो लाग्नुले सरकारलाई केही राहत दिएको छ ।
नेतान्याहुको लिकुड पार्टीले अन्तर्राष्ट्रिय आलोचक तथा न्युयोर्कका मेयर जोहरान ममदानीको तस्बिरसमेत प्रयोग गरी विपक्षीलाई हराउन आग्रह गर्ने पोस्टर सार्वजनिक गरेको छ । उहाँले अरब इजरायली दलसँग गठबन्धन नगर्ने प्रतिबद्धता जनाउनुभएको छ । देशको जनसङ्ख्याको करिब २० प्रतिशत रहेका अरब इजरायली मतदाताको सहभागिता यसपटक निर्णायक हुन सक्ने अनुमान गरिएको छ ।
निर्वाचन परिणाम नजिकिएमा नयाँ सरकार गठन गर्न हप्ता वा महिना लाग्न सक्छ । आइसेनकोटले अरब दल वा नेतान्याहुसँग गठबन्धन नगर्ने बताउनुभएको छ, तर परिस्थितिअनुसार प्रतिबद्धता बदल्न सक्ने भन्दै आलोचकहरूले शङ्का गरेका छन् ।
पूर्वसांसद उरियेल रेइचम्यानले नेतान्याहुको विजयले इजरायलको दक्षिणपन्थी राजनीतिक परिवर्तन स्थायी बनाउन सक्ने चेतावनी दिनुभएको छ । उहाँका अनुसार लोकप्रियतावादी नेताले आफ्ना समर्थकलाई राज्यका संस्थामा स्थापित गर्दै स्वतन्त्र निकायको स्वरूप बदल्न सक्छन् र यस्तो व्यवस्था स्थापित भएपछि त्यसलाई उल्ट्याउन अत्यन्त कठिन हुन्छ ।

