भारतीय विदेश सचिव मिश्री आज काठमाडौं आउँदै, बालेनको भारत भ्रमणका एजेन्डाबारे छलफल हुने
काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सम्भावित भारत भ्रमणका एजेन्डा तय गर्ने तथा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल गर्ने उद्देश्यसहित उनी नेपाल आउन लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेश सचिव मिश्रीले आज र भोलि नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन्।
भ्रमणका क्रममा परराष्ट्र सचिव राई र विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा नेपाल–भारत सम्बन्धका समग्र आयामको समीक्षा गर्नुका साथै आपसी हित, साझा चासो र दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान हुने मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले भ्रमण हुन लागेको उल्लेख छ।
यसैगरी भारतीय विदेश सचिव मिश्रीले नेपालका उच्चपदस्थ विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणको तयारीका सन्दर्भमा भारतीय विदेश सचिवको यो भ्रमणलाई कूटनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ। भ्रमणका क्रममा दुई देशबीचको उच्चस्तरीय राजनीतिक संवाद, आपसी सहयोग र आगामी कूटनीतिक कार्यदिशाबारे छलफल हुने अपेक्षा गरिएको छ।
नेपाल र भारतबीच राजनीतिक, आर्थिक, व्यापारिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध रहँदै आएको छ।
पछिल्लो राजनीतिक परिवर्तनपछि दुवै देशबीचको सम्बन्धलाई नयाँ सन्दर्भमा अघि बढाउने विषय पनि यो भ्रमणको महत्त्वपूर्ण पक्ष बन्न सक्नेछ।
दुईदिने भ्रमण सम्पन्न गरी विदेश सचिव मिश्री कात्तिक १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

