नेपाल प्रत्यायन केन्द्रको शुभारम्भ
काठमाडौँ, १८ कात्तिकः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले राष्ट्रिय प्रत्यायन केन्द्र सञ्चालनमा आएसँगै नेपालको औद्योगिक विकास र व्यापारिक सहजीकरणमा सघाउ पुग्ने बताउनुभएको छ ।
राष्ट्रिय प्रत्यायन केन्द्रको आज एक कार्यक्रमबीच शुभारम्भ गर्दै नेपाली उद्योगको गुणस्तर अभिवृद्धि गराउँदै उपभोक्ताको सुरक्षा र निर्यात प्रवर्द्धनका झन्झटको अन्त्य हुने बताउनुभयो । “नेपाली उद्योगलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन पनि राष्ट्रिय प्रत्यायन केन्द्रको भूमिका महत्त्वपूर्ण हुनेछ”, उहाँले भन्नुभयो ।
राष्ट्रिय प्रत्यायन केन्द्रका कार्यकारी निर्देशक मनिषकुमार दासले नेपालमा पहिलो पटक राष्ट्रिय प्रत्यायन केन्द्र सञ्चालनमा ल्याएको बताउँदै उहाँले नेपालका औद्योगिक क्षेत्रसँग सम्बन्धित निकायले विदेशी मुलुकबाट अनुमति लिनुपर्ने बाध्यताको पनि अन्त्य भएको बताउनुभयो ।
“अबदेखि नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउने, उपभोक्ताले गुणस्तरीय र सुरक्षित वस्तु प्राप्त गर्ने सुनिश्चितता बढाउनेछ”, उहाँले भन्नुभयो, “यस केन्द्रको सञ्चालनबाट अब प्रयोगशाला, मेडिकल ल्याब, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा प्राप्त गर्ने आधार तयार भएको छ ।”
केन्द्रका निर्देशक खगेन्द्रकुमार बस्नेतले केन्द्र सञ्चालनमा आएसँगै उद्योगी तथा व्यवसायीको परीक्षण र प्रमाणीकरणसम्बन्धी समय र खर्च घटाउन, गुणस्तर सुधान गर्न तथा विदेशी निकायमा निर्भरता घटाउन सहयोग पुग्ने बताउनुभयो ।
केन्द्रका अनुसार यो सञ्चालनमा आएसँगै उद्योगको लागत घटाउने, उपभोक्ताको विश्वास बढाउने र नेपाली उत्पादनलाई विश्व बजारमा जोड्नको लागि पनि सहज हुने अपेक्षा गरिएको छ । केन्द्रमा २१ जना कर्मचारीको दरबन्दी रहेको छ ।

