जग्गाको कित्ताकाटसगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा
विराटनगर, १ मङ्सिर : विराटनगर महानगरपालिको जग्गाको कित्ताकाट खुला भएसँगै घरजग्गाको कारोबार चलायमान हुने अपेक्षा गरिएको छ ।
भूउपयोग क्षेत्र वर्गीकरणको प्रक्रिया पूरा गरी महानगरपालिकाले आवश्यक विवरण नापी कार्यालयमा पठाएपछि जग्गाको कित्ताकाटसम्बन्धी काम अघि बढाउन बाटो खुलेको हो । महानगरपालिकाले १९ वटै वडाको भूउपयोग क्षेत्र वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदन तयार गरी कार्यान्वयनका लागि नापी कार्यालय, विराटनगरमा पठाइसकेको छ ।
त्यससँगै लामो समयदेखि रोकिँदै आएको कित्ताकाट खुलाउन आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भएको महानगरपालिकाले जनाएको छ ।
नगर कार्यपालिकाको कार्यालयले यही कात्तिक २७ गते नापी कार्यालयलाई पत्र पठाउँदै भूउपयोग क्षेत्र वर्गीकरणको विवरण तथा प्रतिवेदन कार्यान्वयन गर्न अनुरोध गरेको हो । नगर कार्यपालिकाको गत असोज २३ गतेको निर्णयअनुसार भूउपयोग परिषद्बाट स्वीकृत आधार तथा मापदण्डका आधारमा तयार पारिएको विवरण नापी कार्यालयमा पठाइएको हो ।
महानगरपालिकाले वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदनसँगै १९ वटै वडाको विवरण समेटिएको विद्युतीय तथ्याङ्क फाइल र तथ्याङ्क भण्डारण प्रणालीसम्बन्धी आवश्यक कागजातसमेत नापी तथा भूमि प्रशासन कार्यालयमा उपलब्ध गराएको छ ।
भूउपयोग वर्गीकरणको विवरण आधिकारिक रूपमा सम्बन्धित कार्यालयमा पुगेपछि लामो समयदेखि कित्ताकाटको प्रतीक्षामा रहेका जग्गाधनीलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।
कित्ताकाट रोकिँदा प्रभावित हुँदै आएको जग्गा किनबेच, अंशबन्डा, जग्गा छुट्याउने तथा अन्य घरजग्गासम्बन्धी कामको सहजतासगैँ घरजग्गाको कारोबारले गति लिने विश्वास गरिएको छ ।
एक महिनाभित्रै भू–सेवा सञ्चालन गर्ने लक्ष्य
कित्ताकाट खुलाउने प्रक्रियासँगै महानगरपालिकाले जग्गासम्बन्धी सेवालाई प्रविधिमैत्री र व्यवस्थित बनाउने तयारीसमेत अघि बढाएको छ । महानगर प्रमुख नागेश कोइरालाले आगामी एक महिनाभित्र भू–सेवा सञ्चालनमा ल्याउने लक्ष्यसहित आवश्यक तयारी गरिएको जानकारी दिनुभयो ।
प्रमुख कोइरालाका अनुसार भू–सेवा सञ्चालनमा आएपछि जग्गासम्बन्धी प्रशासनिक कामलाई थप व्यवस्थित, पारदर्शी र छिटोछरितो बनाउन सहयोग पुग्नेछ । जिल्लामा रहँदा सेवाग्राहीले अनावश्यक झन्झट र समय खर्च गर्नुपर्ने अवस्था अन्त्य भई प्रविधिको प्रयोगमार्फत सेवा प्रवाह चुस्त तुल्याउने महानगरको योजना रहेको उहाँले बताउनुभयो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले भू–सेवा सञ्चालनको तयारी प्रारम्भिक चरणमा रहेको र त्यसका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक काम अघि बढाइएको बताउनुभयो ।
उहाँका अनुसार भू–सेवा प्रणाली सञ्चालनमा आएपछि जग्गासम्बन्धी विवरण व्यवस्थापन, सेवा प्रवाह र प्रशासनिक प्रक्रियामा सहजता आउने विश्वास गरिएको छ ।
घरजग्गा कारोबारले गति लिने अपेक्षा
विराटनगरका १९ वटै वडाको भूउपयोग वर्गीकरण पूरा हुनु र कित्ताकाटको प्रक्रिया खुल्नु महानगर क्षेत्रको घरजग्गा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । कित्ताकाट रोकिँदा जग्गा किनबेच, जग्गा विभाजन तथा अन्य कानुनी प्रक्रियामा समस्या झेल्दै आएका जग्गाधनीलाई यसले राहत दिने महानगरका सूचना अधिकारी अर्जुन थपलियाले बताउनुभयो ।


