Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महराको शुभारम्भ, स्प्राकलको सफलता : एक वर्षमै दोस्रो शाखा विस्तार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार |
newsabhiyan

काठमाडौं । सौन्दर्य तथा कस्मेटिकसम्बन्धी सेवा प्रदान गर्दै आएको स्प्राकल ब्यूटी एकेडेमीले काठमाडौंको तारकेश्वर नगरपालिका–नेपालटारमा आफ्नो दोस्रो शाखा सञ्चालनमा ल्याएको छ। होराइजन अस्पतालको अगाडि स्थापना गरिएको शाखाको मंगलबार औपचारिक उद्घाटन वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले गरेकी हुन्।


मेकअप, हेयर स्टाइलिङ, फेसियल, स्किन केयरलगायत सौन्दर्य तथा व्यक्तिगत स्याहारसम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको एकेडेमीले सञ्चालनको एक वर्षमै दोस्रो शाखा विस्तार गरेको हो। सौन्दर्य क्षेत्रमा बढ्दो आकर्षण तथा ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राख्दै सेवा विस्तार गरिएको सञ्चालकहरूले बताएका छन्।
दोस्रो शाखाको उद्घाटन गर्दै वरिष्ठ सौन्दर्यविद् महराले नेपालमै भविष्य देखेर उद्यमशीलता रोज्ने युवाहरूको प्रयास प्रशंसनीय रहेको बताइन्। अवसरको खोजीमा ठूलो संख्यामा युवा विदेशिइरहेका बेला स्वदेशमै केही गर्ने सोचका साथ व्यवसाय सुरु गर्नु सकारात्मक कदम भएको उनको भनाइ थियो।
“स्वदेशमै केही गर्छु भन्नु निकै सकारात्मक सोच हो। नेपालमा भविष्य छैन भन्दै विदेशिने युवाको संख्या बढिरहेको समयमा आफ्नै देशमा भविष्य देखेर उद्यमशीलता सुरु गर्नेहरू सम्मानका पात्र हुन्,” महराले भनिन्, “उनीहरूलाई निरुत्साहित होइन, प्रोत्साहन गर्नुपर्छ। म सधैँ उद्यमशीलता र स्वदेशमै केही गर्न चाहने व्यक्तिहरूलाई साथ दिन तयार छु।”


उनले स्वदेशमै व्यवसाय सञ्चालन गर्नु व्यक्तिगत आर्थिक उन्नतिमा मात्र सीमित नभई रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्‍याउने माध्यम भएको बताइन्। युवाहरूले नेपालभित्रै सम्भावना र अवसर खोज्नुपर्नेमा जोड दिँदै उनले उद्यमशीलतामैत्री वातावरण निर्माण गर्नुपर्ने धारणा राखिन्।
महराले स्प्राकल ब्यूटी एकेडेमीले नेपालमै व्यवसाय विस्तार गर्ने उद्देश्यसहित दोस्रो शाखा सञ्चालनमा ल्याएकोमा सञ्चालकहरूलाई शुभकामना दिँदै आगामी दिनमा थप सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।
एक वर्षअघि काठमाडौंको कालीमाटीस्थित लुम्बिनी मार्टबाट पहिलो शाखाका रूपमा सञ्चालनमा आएको एकेडेमीले छोटो अवधिमै दोस्रो शाखा विस्तार गरेको हो। एक वर्षको अवधिमा दुईवटा शाखा सञ्चालनमा ल्याउन सफल हुनु ग्राहकको विश्वास, माया र टिमको निरन्तर मेहनतको परिणाम भएको सञ्चालक रोजी शाहले बताइन्।


शाहका अनुसार व्यवसाय सुरु गर्दादेखि नै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने र उनीहरूको आवश्यकतालाई प्राथमिकतामा राख्दै काम गरिएको छ। ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र सहयोगले व्यवसायलाई थप विस्तार गर्न प्रेरणा मिलेको उनले बताइन्।
“यो ग्राहकहरूको माया र हाम्रो टिमको निरन्तर मेहनतको फल हो। एक वर्षमै दुईवटा शाखा सञ्चालनमा ल्याउन सफल हुनु हाम्रा लागि खुसीको कुरा हो,” शाहले भनिन्, “ग्राहकहरूले देखाउनुभएको विश्वासले हामीलाई अझ जिम्मेवार भएर काम गर्न प्रेरित गरेको छ। आगामी दिनमा थप मेहनत गर्दै संस्थालाई अझ ठूलो बनाउने र आवश्यकताअनुसार अन्य स्थानमा पनि शाखा विस्तार गर्ने हाम्रो योजना छ।”


नेपालटारमा दोस्रो शाखा सञ्चालनमा आएसँगै तारकेश्वर तथा आसपासका क्षेत्रका ग्राहकलाई सौन्दर्य तथा व्यक्तिगत स्याहारसम्बन्धी सेवा लिन सहज हुने उनले बताइन्। ग्राहकको आवश्यकता, रुचि र सौन्दर्य क्षेत्रको बदलिँदो प्रवृत्तिलाई ध्यानमा राखेर सेवाको गुणस्तर थप प्रभावकारी बनाउँदै लैजाने शाहको भनाइ छ।
एकेडेमीकी अर्की सञ्चालक जुनु मगरले पनि नेपालमै सम्भावना खोजेर उद्यमशीलतामा लाग्ने उद्देश्यले आफूहरू यस क्षेत्रमा आएको बताइन्। विभिन्न क्षेत्रमा काम गर्दै अनुभव हासिल गरेपछि मात्र सौन्दर्य व्यवसायमा लगानी गर्ने निर्णय गरेको उनले जानकारी दिइन्।
“नेपालमै केही गर्नुपर्छ र आफ्नै देशमा सम्भावना खोज्नुपर्छ भन्ने सोचका साथ मैले यस क्षेत्रमा लगानी गर्ने निर्णय गरेकी हुँ,” मगरले भनिन्, “कुनै पनि क्षेत्रमा सफल हुन मेहनत, अनुभव, धैर्य र निरन्तरता आवश्यक हुन्छ।”
उनले स्वदेशमै उद्यम सुरु गर्दा चुनौतीहरू रहे पनि योजनाबद्ध प्रयास, लगनशीलता र निरन्तरताबाट व्यवसायलाई अगाडि बढाउन सकिने बताइन्। युवाहरूले रोजगारीका लागि विदेश जाने विकल्पसँगै स्वदेशमै उद्यम गर्ने सम्भावनालाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको धारणा थियो।
नेपालमा सौन्दर्य तथा व्यक्तिगत स्याहारसम्बन्धी सेवाको माग बढ्दै गएकाले यस क्षेत्रमा व्यवसाय विस्तारको सम्भावना पनि उच्च रहेको सञ्चालकहरूको बुझाइ छ। ग्राहकको बदलिँदो रुचि, जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै सेवा विस्तार गर्दै एकेडेमीलाई थप व्यवस्थित बनाउने उनीहरूको योजना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan