जनताको बहुदलीय जनवाद र साहित्यबारे परिचर्चा
काठमाडौँ, ६ मङ्सिर: साहित्य सन्ध्याको ४८२औँ नियमित मासिक विशेष शृङ्खलामा ‘जनताको बहुदलीय जनवाद (जबज) र साहित्य’ विषयमा परिचर्चा र कविगोष्ठी आयोजना गरिएको छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले साहित्य सामाजिक रूपान्तरणको महत्वपूर्ण माध्यम भएको बताउँदै साहित्यले राजनीतिक तथा सामाजिक विकृतिविरुद्ध माझको यथार्थ चित्रण गर्दै मानिसलाई मार्गदर्शन र उत्प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।
“राजनीतिक व्यक्ति पनि साहित्यबाट प्रभावित भयो भने मात्र ऊ चिन्तनशील र विवेकी हुन्छ । साहित्य भनेको समाजलाई जोड्ने तन्तु हो”, पूर्वअर्थमन्त्री पाण्डेले भन्नुभयो, “साहित्यकारले बडो सुझबुझका साथ सिर्जनामा क्रियाशील हुनु र विकृत अवस्थाप्रति जागरण ल्याउनु आवश्यक छ ।”
समालोचक डा फणीन्द्रराज निरौलाले वाचित कवितामा मुलुकको वर्तमान सामाजिक मनोविज्ञान, असन्तोष, विद्रोह, बेथिति र अराजकताको चित्रण भएको बताउनुभयो । उहाँले सिर्जनामा आक्रोशसँगै सकारात्मकता र आशावादी दृष्टिकोण पनि अभिव्यक्त हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ओमप्रसाद कोइराला, डम्बर पहाडी ‘एलाक’, खेममराज निरौला, नवराज श्रेष्ठ, डा बद्रीविशाल पोखरेल, डा कृष्ण सुवेदी, डा गोविन्दप्रसाद आचार्य, लक्ष्मीप्रसाद थपलिया, रामचन्द्र दाहाल, गोपाल नेपाल, केदारनाथ आचार्य, ताराचन्द्र आचार्य, गणेशप्रसाद थपलिया, डा मनोज जोशी, डा हेमनाथ पौडेल, डा जगत्प्रसाद उपाध्याय, गोपालप्रसाद थपलिया, महेशराज खरेल, परशुराम परासर, पूर्णशोभा चित्रकार, डा रूपनारायण श्रेष्ठ, राधिका भण्डारी सापकोटा, कृष्णप्रसाद पौडेल जस्ताघरे, चेवन बस्नेत ठूलाघरे, लक्ष्मण तिमल्सिना, प्रशान्त खरेल, ज्ञानु विद्रोहीले रचना वाचन गर्नुभएको थियो ।
साहित्य सन्ध्याका अध्यक्ष राम विनयले संस्थाले २०३९ सालदेखि साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
