Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बालेन–मोदी वार्तामा सीमा विवाद र हवाई रुट ओझेलमा, आर्थिक साझेदारीका १० क्षेत्रमा सहकार्यको तयारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार |
newsabhiyan

राष्ट्रिय हितका महत्वपूर्ण मुद्दा औपचारिक एजेन्डामै परेनन्, १९५० को सन्धि पुनरावलोकनदेखि ऊर्जा र कनेक्टिभिटीसम्म छलफल हुने

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार हुने उच्चस्तरीय वार्तामा नेपालको राष्ट्रिय हितसँग प्रत्यक्ष जोडिएका सीमा विवाद र थप हवाई प्रवेश मार्ग (एयर रुट) का विषयले प्राथमिकता नपाउने संकेत देखिएको छ।

लामो समयदेखि नेपालले उठाउँदै आएका यी महत्वपूर्ण विषय औपचारिक वार्ताको एजेन्डामै नपरेपछि प्रधानमन्त्री शाहको भारत भ्रमणबाट नेपालले के हासिल गर्छ भन्ने चासो कूटनीतिक वृत्तमा बढेको छ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी अधिकारीहरूका अनुसार शाह र मोदीबीच आधा घण्टाका लागि तय गरिएको एकान्त वार्ता (वान टु वान) तथा त्यसपछि हुने प्रतिनिधिमण्डलस्तरीय छलफलको औपचारिक कार्यसूचीमा सीमा विवाद र थप हवाई प्रवेश मार्गको विषय समावेश छैन। यद्यपि, अन्तिम समयसम्म यी विषयलाई छलफलमा समेट्ने र सहमति जुटाउने प्रयास जारी रहेको बताइएको छ।

नेपाल र भारतबीच यसपटक ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनःकल्पना’ शीर्षकमा विभिन्न सहमति तथा सम्झौता गर्ने तयारी गरिएको छ। त्यसअन्तर्गत व्यापार तथा आर्थिक साझेदारी, कनेक्टिभिटी, ऊर्जा, जलस्रोत, शिक्षा, प्रविधि, स्वास्थ्य, कृषि, पर्यटन र संस्कृतिलगायत १० क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।

दुई देशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानीका अवसर विस्तार गर्ने, ऊर्जा उत्पादन र प्रसारणमा सहकार्य बढाउने तथा पूर्वाधार विकासलाई गति दिने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि र प्रविधिका क्षेत्रमा अनुभव आदानप्रदान तथा संयुक्त कार्यक्रम सञ्चालन गर्ने विषयसमेत सहमति र सम्झौतामा समेटिने तयारी छ।

त्यस्तै, सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिमाथि आपसी समझदारीका आधारमा पुनर्विचार गर्ने विषय पनि वार्तामा रहने बताइएको छ।

लामो समयदेखि नेपालमा उक्त सन्धि समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवाज उठ्दै आएको छ। दुई देशबीचको बदलिँदो राजनीतिक, आर्थिक र सामाजिक परिवेशअनुसार सन्धिलाई परिमार्जन गर्ने विषयले कस्तो दिशा लिन्छ भन्ने चासो पनि उत्तिकै छ।

रामायण, बौद्ध तथा शिव–शक्ति सर्किटको विकास, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन र विभिन्न विकास परियोजनामा सहकार्य गर्ने विषयलाई पनि वार्ताको कार्यसूचीमा राखिएको छ। यी परियोजनामार्फत दुई देशबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई पर्यटन र आर्थिक गतिविधिसँग जोड्ने लक्ष्य राखिएको छ।

तर, नेपालको राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र अन्तर्राष्ट्रिय हवाई सम्पर्कसँग प्रत्यक्ष सम्बन्ध राख्ने सीमा विवाद र हवाई रुटको विषयले औपचारिक प्राथमिकता नपाउनु अर्थपूर्ण मानिएको छ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका सीमासम्बन्धी विषयमा भारतसँग कूटनीतिक संवाद गर्दै आएको छ। तर, यसपटकको उच्चस्तरीय वार्तामा सीमा विवादले औपचारिक स्थान नपाउने संकेतले नेपालको कूटनीतिक प्राथमिकताबारे प्रश्न उठाएको छ।

त्यसैगरी नेपालले भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग लामो समयदेखि आग्रह गर्दै आएको छ।

विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, अन्तर्राष्ट्रिय उडान विस्तार तथा पर्यटन प्रवर्द्धनका लागि थप हवाई प्रवेश मार्ग महत्वपूर्ण मानिन्छ। तर, यस विषयमा भारतीय पक्षबाट अहिलेसम्म ठोस सहमति जुट्न सकेको छैन।

प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ बजेर २५ मिनेटमा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। उनलाई भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिनकुमारले स्वागत गरेका थिए। विमानस्थलबाट उनी सिधै होटल ताज पुगेका थिए।

होटल ताजमा प्रधानमन्त्री शाहलाई भारतीय विदेशमन्त्री एस. जयशंकरले भेट गरेका थिए। भेटमा सोमबार हुने मोदीसँगको उच्चस्तरीय वार्ता, सम्भावित सहमति तथा सम्झौताका विषयमा छलफल भएको थियो।

जयशंकरले सामाजिक सञ्जालमार्फत नेपालसँगको विशेष मित्रतालाई भारतले सधैँ कदर गर्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहको भ्रमणप्रति खुसी व्यक्त गरेका थिए।

दुईदिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

भारतीय प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोजसमेत आयोजना गर्नेछन्। उच्चस्तरीय वार्तापछि केही विकास परियोजनाको उद्घाटन तथा शिलान्यास गर्नुका साथै विभिन्न समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ।

प्रधानमन्त्री शाहको यो भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ विश्वास र सहकार्यको आधार निर्माण गर्ने अवसरका रूपमा हेरिएको छ। तर, व्यापार, ऊर्जा र पूर्वाधारका क्षेत्रमा हुने सहकार्यसँगै नेपालको दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएका सीमा विवाद, हवाई प्रवेश मार्ग र असमानताका रूपमा उठ्दै आएका द्विपक्षीय मुद्दाले पनि उचित स्थान पाउनुपर्ने अपेक्षा छ।

भ्रमणका क्रममा हुने सहमति र सम्झौताले दुई देशबीचको सम्बन्धलाई व्यवहारिक रूपमा कति उपलब्धिमूलक बनाउँछन् भन्ने कुरा कार्यान्वयनबाटै पुष्टि हुनेछ। प्रधानमन्त्री शाह सोमबार साँझ भ्रमण सम्पन्न गरी स्वदेश फर्कने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan