आन्तरिक पर्यटकको रोजाइमा पर्दै गुठीचौर
जुम्ला, १० मङ्सिरः गुठीचौर गाउँपालिका–२ मा रहेको गुठीचौर पछिल्लो समयमा आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास भएको छ ।
पर्यटकीय सम्भावना बोकेको गुठीचौर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको वडाध्यक्ष दीपबहादुर ऐडीले जानकारी दिनुभयो । हिउँदमा यहाँ चिसो भए पनि गुठीचौर अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटन आउने गरेका छन् । विशेषरी सार्वजनिक बिदामा आन्तरिक पर्यटनको चाप बढ्ने गरेको स्थानीयले जानकारी दिएका छन् ।
स्थानीय वातावरणसँग रमाउने र मनोरम दृश्यावलोकनका लागि पर्यटन आकर्षित भएको वडाध्यक्ष ऐडीको भनाइ छ । स्थानीय सरकारले यसको प्रचारप्रसार गर्ने, पर्यटकीय गतिविधि सञ्चालन, पर्यटन प्रवद्र्धनलगायत गतिविधिलाई महत्व दिएको स्थानीय दीपक बोहोराले बताउनुभयो ।
सदरमुकाम खलङ्गाबाट त्यहाँसम्म पुग्नका लागि सडक विस्तार भएको छ । यसलाई थप स्तरवृद्धि गर्दै जाने योजना रहेको गुठीचौर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।
पर्यटकीय गतिविधि बढेपछि व्यापार–व्यवसायमा वृद्धि भएको तथा स्थानीयस्तरमा आर्थिक उन्नयन भएको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना तथा आर्थिक गतिविधि बढ्दै जाँदा सकारात्मक सन्देश प्रवाह भएको छ ।
–––
