Thursday 26th of November | २०८३ मङ्सिर १० बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १० बिहीबार | रासस
newsabhiyan

 

म्याग्दी, १० मङ्सिरः चर्चित नेपाली साङ्गीतिक समूह ‘नेपथ्य’ले बुधबार साँझ म्याग्दीको सदरमुकाम बेनी बजारको खुल्ला मञ्चमा लाइभ (प्रत्यक्ष) प्रस्तुति दिएको छ । 

 

गायक अमृत गुरुङले आफ्ना लोकप्रिय गीत सुनाउँदा हजारौँ दर्शक करिब दुई घण्टासम्म झुमेका थिए । साँझ ६ः०० देखि रातो टिसर्ट र जिन्सको ज्याकेटमा स्टेज उक्लिएका अमृतलाई दर्शकले हुटिङसहित स्वागत गरे । 

 

‘आगनैभरि’ गीतबाट प्रस्तुति सुरु गरेका गुरुङको स्वरसँगै दर्शकहरुले पनि स्वरमा स्वर मिलाए । लगातार तीनवटा गीत गाएपछि दर्शकलाई अभिवादन गर्दै गुरुङले ३० वर्षअघि जोमसोममा गीतको छायाङ्कन गरेर बेनी हँुदै हिँडेर पोखरा पुगेको स्मरण गर्नुभयो । 

 

मङ्सिरको पहिलो साता धान काटेर दाइँ हाल्ने, गहुँलगायत हिउँदेबाली लगाउने समयको प्रसङ्ग निकाल्दै उहाँले धौलागिरि काखमा जन्मिएर, मानव सभ्यतासँग जोडिएको कालीगण्डकीको तिरैतिर हिँडेका पुर्खाहरुको शिरफुले भाकाको खोजीमा बेनीदेखि हिँडेर रुकुम पुगेको स्मरण गर्दै धौलागिरि बोलको गीत प्रस्तुत गर्नुभयो । 

 

‘भेडाको ऊनजस्तो’, ‘रामारामा, ‘खान्न म त लामपाते सुरती’, ‘चरी म¥यो सिसैको गोलीले माया बस्यो त्यो मीठो बोलीले’ र ‘जोमसोमे बजारमा १२ बजे हावा सरर’ लगायतका गीत प्रस्तुत गर्नुभयो । गीत गाउँदै आफैँ छमछमी नाचेका अमृतलाई खुल्लामञ्चमा भरिभराउ दर्शकले स्वर र हुटिङमार्फत साथ दिए ।

 

‘उडायो रेलैले’, ‘हो कि होइन हो’, ‘जीवन हो घामछाया’, ‘म नाचेँ छमछमी’ जस्ता गीतले पनि बेनीको माहोल ततायो । गीतबीच अमृतले नेपालको प्राकृतिक सौन्दर्यताको वर्णन, सद्भाव, सामाजिक एकताको अपिल र पुर्खाको योगदानको सम्मान गर्न अपिल गर्नुभयो । 

 

मानिस यो धरतीमा केही वर्षका लागि मात्रै पाहुना बनेर आएको उल्लेख गर्दै उहाँले पैसाको पछि नडौदिन र मानव कल्याणमा सहयोग गर्न आग्रह गर्नुभयो । समाजमा असहाय र अशक्त मानिस कठिन अवस्थामा बाँचिरहेको भन्दै उहाँले मानव कल्याणभन्दा ठूलो धर्म अरू नहुने बताउनुभयो । 

 

अन्तिमतिर अमृतले देश निर्माणका लागि सबै एकजुट हुन आह्वान गर्दै ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ प्रस्तुत गर्नुभयो । त्यसपछि ‘जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना’ गाउँदा दर्शकको उत्साह थप चुलियो । 

 

राजनीतिकर्मीहरुलाई मनपरी नगर्न खबरदारी गर्दै गुरुङले कर्मचारीलाई विचलित नभई निर्धक्क भएर न्यायको राज्य सञ्चालनको अनुरोध गर्नुभयो । अभावका बीच पनि पुर्खाले देश जोगाउन गरेको योगदान स्मरण गर्दै उहाँले विभिन्न जातजाति, धर्म र समुदाय मिलेर बस्नुपर्ने सन्देश दिनुभयो । 

 

गाउँका घरहरु खाली, खेतीयोग्य जमिन बाँझिने क्रम बढेका प्रति चिन्ता व्यक्त गर्दै पर्वतको बाँसखर्कमा बजार र बिदेशबाट फर्किएर सुन्तला फलाउने किसानको प्रशंसा गर्नुभयो । करिब दुई घण्टा चलेको प्रस्तुतिमा अमृतलाई ड्रम्समा ध्रुव लामा, बेस गिटारमा सुविन शाक्य, मादलमा शान्तिबहादुर रायमाझी, किबोर्डमा दिनेशराज रेग्मी र लिड गिटारमा निरज गुरुङले साथ दिनुभएको थियो । 

 

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा दुई घण्टासम्म सञ्चालन भएको साङ्गीतिक कार्यक्रममा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की र मुस्ताङबाट पनि दर्शक आएको स्थानीय आयोजक सोभन इन्टरटेनमेन्टका सञ्चालक सोभन श्रेष्ठले बताउनुभयो । बेनीमा १५ वर्षपछि नेपथ्यको साङ्गीतिक प्रस्तुति भएको उहाँले बताउनुभयो । 

–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan