Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २२ सोमबार |
newsabhiyan

ख्वप (भक्तपुर), २२ भदौ  : गए राति परेको अविरल वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति पुगेपछि भक्तपुरका किसान दुःखी बनेका छन् ।  

पाक्नै लागेको धानबालीमा क्षति पुगेपछि किसानले वर्षभरको मेहनत खेर जाने चिन्ता व्यक्त गरेका छन् । धान काट्ने समय नजिकिँदै गर्दा परेको ठूलो वर्षाले किसानको वर्षभरिको मेहनत जोखिममा परेको छ । 

रोपाइँदेखि गोडमेल, मलजल र सिँचाइ गर्दै हुर्काएको धान पाक्ने बेलामा पानी र हावाहुरीका कारण ढलेपछि उत्पादन घट्ने चिन्ता किसानमा थपिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ छालिङगका किसान सौगात गिरीका अनुसार राति परेको वर्षाले धानबालीको खेततर्फको खोला पसेपछि खेतको धानबालीमा क्षति पुगेको हो ।  

 खोलामा लामो समयदेखि जम्मा भएका फोहोरका थुप्रोसमेत खेतमा पस्दा धानबालीमा थप क्षति पुगेको उहाँले बताउनुभयो । वर्षाका कारण खेतमा पानी जम्नुका साथै कतिपय स्थानमा खोला तथा खोल्साको पानी खेतमा पस्दा धानबाली ढलेर नष्ट भएको उहाँंले जानकारी दिनुभयो ।

“वर्षे धान रोपेदेखि धान घरमा नभित्राएसम्म पानी परेपछि धान डुबानमा पर्ला कि भनेर चिन्तामा बस्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । गिरीले यसपटक पनि पाक्न ठिक्क परेको धानबाली वर्षाको पानीले ढलेर नष्ट भएपछि यहाँंका सम्पूर्ण किसानहरु दुःखी भएको बताउनुभयो । 

यहाँंका किसानहरूले वर्षायाममा खेत डुबानको समस्या समाधान गर्न खोला तथा खोल्साको उचित व्यवस्थापन, फोहर हटाउने तथा व्यवस्थित कोरिडोर निर्माण गर्न स्थानीय तहसँग माग गर्दै आएका छन् । 

समयमै समस्या समाधान नगरे हरेक वर्ष धानबालीमा क्षति पुग्ने र किसानको उत्पादन तथा आम्दानीमा असर पर्ने उहाँको भनाइ छ । भक्तपुरका  किसान रामप्यारी सुवालका अनुसार पाक्नै लागेको धान ढलेपछि धान नष्ट हुन्छ ।

उहाँका अनुसार ढलेको धान फेरि जनशक्ति लगाएर उठाउनुपर्छ अर्थात् मुठामुठा बाध्नुपर्छ । यति गर्दा पनि त्यो धान खाली बोक्रामा मात्रै सिमित हुन्छ । त्यसकारण धान फल्ने बेला त्यो खोक्रो भुस धानमा परिणत हुने  उहाँंले जानकारी दिनुभयो । 

भक्तपुर किसानको जिल्ला भनेर चिनिन्छ । जिल्लाका चार नगरपालिका–भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायणमध्ये विशेषगरी सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका विभिन्न क्षेत्रमा अझै पनि ठूलो क्षेत्रफलमा रोपाइँ गरिन्छ ।

भक्तपुरका ग्रामीण तथा शहरी क्षेत्रमा तीव्र रूपमा भइरहेको भौतिक विस्तारका कारण खेत तथा प्राकृतिक पानी बग्ने मार्गमा दबाब बढ्दै गएको छ । 

यसले ठूलो वर्षाका बेला पानीको निकास प्रभावित हुने र खेतमा डुबानको जोखिम बढाउने गरेको किसानहरूको अनुभव छ । स्थानीय तहले तत्काल क्षतिको स्थलगत अनुगमन गरी वास्तविक क्षतिको विवरण सङ्कलन तथा प्रभावित किसानलाई आवश्यक सहयोग गर्नुपर्ने मागसमेत उठेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan