Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जो जीवनमा कहिल्यै शिक्षा लिन्नन्, ती हुन् यी तीन !

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २४ बुधबार | जयप्रकाश आनन्द
newsabhiyan

काठमाडौं । विश्वविद्यालयमा पढ्दाका दिनहरूमा नेपाली वामपन्थी विद्यार्थी आन्दोलनमा एउटा नाम निकै चर्चित थियो—टंक कार्की।

नेपालको प्रजातान्त्रिक वामपन्थी आन्दोलनमा आफ्नो विशिष्ट स्थान बनाएका कार्की नेकपा एमालेको स्थापनाकालीन यात्राका महत्वपूर्ण पात्रमध्ये एक हुन्।

पछि चीनका लागि नेपालको राजदूतसमेत बनेका उनी राजनीतिलाई नजिकबाट देखेका, भोगेका र बुझ्ने पुस्ताका प्रतिनिधि हुन्। मैले मानेका एक मित्र तथा समकालिन नेता पनि। 

उनले हालै आफ्नो फेसबुकमा लेखेको एउटा सानो व्यंग्यात्मक टिप्पणीले भने मलाई धेरै ठूलो राजनीतिक प्रश्नतर्फ फर्कायो।

सतहमा हेर्दा त्यो टिप्पणी प्रचण्डले ‘जेन्जी आन्दोलन’को पूर्वसन्ध्यामा व्यक्त गरेको भनाइप्रतिको व्यंग्य हो। तर त्यसको गहिराइमा पुग्दा यसले प्रचण्डलाई मात्र होइन, केही समयअघिसम्म नेपालको राजनीतिको केन्द्रमा रहेका शेरबहादुर देउवा, केपी शर्मा ओली र स्वयं प्रचण्डको राजनीतिक पतनको एउटा साझा कारणतर्फ पनि संकेत गर्छ।

प्रचण्डले भनेका थिए—“पहिलाको भन्दा अझ जटिल, अझ पेचिलो, भिन्न रूपको, हतियार छैन, अर्को खालको जनयुद्ध लड्दै छौँ हामीहरू।”

क्रान्तिकारी शब्दावलीको यस्तो चमकले केही समयका लागि राजनीतिक कल्पनालाई रोमाञ्चित गर्न सक्ला। ‘जटिल’, ‘पेचिलो’, ‘भिन्न रूपको’ र ‘जनयुद्ध’—यी शब्द आफैँमा नेपाली राजनीतिक इतिहासका गहिरा स्मृति र भावनासँग जोडिएका छन्। तर प्रश्न उठ्छ—शब्द फेरिँदैमा राजनीति बदलिन्छ ? ‘जनयुद्ध’ शब्दलाई नयाँ आवरणमा दोहोर्याउँदैमा नयाँ युगको राजनीति जन्मिन्छ ? अथवा पुरानै राजनीतिक असफलतालाई नयाँ शब्दको पोशाक लगाइदिएर फेरि जनतालाई प्रभावित गर्न खोजिएको हो ?

टंक कार्कीको व्यंग्य यहीँबाट अझ रोचक बन्छ। उनको कल्पनामा जेन्जी आन्दोलनमा शहिद भएको एउटा युवक स्वर्गमा पुग्छ र बर्बरिकलाई सोध्छ—प्रचण्डले भनेको “अर्को खालको जनयुद्ध” आखिर के हो ?

बर्बरिकले आफ्नो स्मृतिको पर्दा एकछिन पनि ढिलो नगरी पछाडि फर्काउँछन्। उनले देखेको दृश्य भने निकै व्यंग्यात्मक छ—प्रचण्ड आफूले ‘टेलिपेथिक म्यासेज’ पढिरहेको जस्तो देखिन्छ।

त्यसपछि शहिदको प्रश्न अझ गम्भीर हुन्छ—त्यत्रो राज्यसत्ता, त्यत्रो पार्टी संगठन र दशकौँको राजनीतिक अनुभव भएका ओली र देउवाको हालत किन यस्तो भयो ? नेता त ‘भिजिनरी’ हुन्छन् भनिन्थ्यो नि !

बर्बरिकको उत्तरमा टंक कार्कीको व्यंग्यले अचानक नेपालको समकालीन राजनीतिको एउटा कठोर चित्र कोर्छ। उनका अनुसार ‘नायकहरू’ आफ्नै मोजमस्तीको बन्दोबस्तमा थिए, सुरापानमा मग्न थिए।

अलि पर, उनीहरूभन्दा टाढा, ‘डिप स्टेट’ भने यही मौका हो भन्दै आफ्नो कन्दनी कस्दै थियो। अनि बर्बरिक भावविह्वल भएर त्यो सुन्दर देशको भविष्य सोचिरहेका थिए। आँखा खोल्दा—सिंहदरबार र सर्वोच्च अदालत खरानी भएका थिए, वरपर डढेलो लागेको थियो।

यो केवल व्यंग्य होइन। यो हाम्रो राजनीतिक नेतृत्वको आत्ममुग्धता, आत्मतुष्टि र समयको संकेत नबुझ्ने असमर्थतामाथिको एउटा तीखो टिप्पणी पनि हो। अझ महत्वपूर्ण कुरा—यस व्यंग्यको केन्द्रमा प्रचण्ड मात्र छैनन्।

हिजो नेपाली राजनीतिमा अपराजेयजस्तै देखिएका शेरबहादुर देउवा कहाँ पुगे ? विशाल संगठन, लामो राजनीतिक अनुभव र राज्यसत्तामाथिको गहिरो पहुँच भएका केपी शर्मा ओली किन यति कमजोर राजनीतिक अवस्थामा पुगे ?

दश वर्षे सशस्त्र विद्रोहको नेतृत्व गरेर गणतन्त्रको राजनीतिको केन्द्रमा आएका प्रचण्ड स्वयं किन आफ्नै राजनीतिक भाषाको विश्वसनीयता जोगाउन संघर्षरत देखिए ?

यी तीनै नेताका राजनीतिक यात्रा, विचार र शैली अलग छन्। तर उनीहरूको पतनका कथामा एउटा समान सूत्र भेटिन्छ—समय बदलिँदा पनि आफूलाई बदल्न नसक्नु।

जनताको चेतना बदलियो। पुस्ता बदलियो। सूचना र प्रविधिले समाजको सोच्ने तरिका बदलिदियो। राज्यसँग नागरिकको सम्बन्ध बदलियो। प्रश्न सोध्ने शैली बदलियो। तर, राजनीतिक नेतृत्वको ठूलो हिस्सा भने पुरानै भाष्य, पुरानै शक्ति-समीकरण, पुरानै संगठनात्मक अहंकार र पुरानै राजनीतिक संस्कारमा अडिरह्यो।

जनताले नयाँ उत्तर खोजिरहेका बेला नेताहरू पुराना प्रश्नको पुरानै उत्तर दोहोर्याइरहेका थिए। यही अन्तरालमा ‘जेन्जी’ पुस्ता सडकमा आयो।

त्यो पुस्तालाई हिजोको जनयुद्धको गौरवगाथाले मात्र प्रभावित गर्न सकिँदैन। उसलाई पुराना राजनीतिक त्यागका कथा सुनाएर मात्र चुप लगाउन सकिँदैन। उसले सत्ता परिवर्तनभन्दा बढी शासनको चरित्र परिवर्तन खोजेको छ।

उसले नेता बदलिनुभन्दा पहिले राजनीतिक संस्कार बदलियोस् भन्ने चाहेको छ। उसले भाषणभन्दा परिणाम, नाराभन्दा उत्तरदायित्व र इतिहासको गौरवभन्दा भविष्यको भरोसा खोजेको छ।

त्यसैले ‘अर्को खालको जनयुद्ध’ भन्ने अभिव्यक्ति आफैँमा एउटा गम्भीर राजनीतिक विडम्बना बन्न पुग्छ। हतियार नभएको युद्ध भनिएला, स्वरूप फरक भएको संघर्ष भनिएला। तर प्रश्न फेरि उही हो—यो युद्ध कसका लागि ? कसका विरुद्ध ? र यसको अन्तिम लक्ष्य के हो ?

जनताका नाममा राजनीति गर्नेहरूबाट जनतालाई नै राजनीतिक प्रयोगशाला बनाइरहने हो भने शब्द जति क्रान्तिकारी भए पनि त्यसको अन्तर्वस्तु पुरानै रहन्छ।

टंक कार्कीको व्यंग्यको अर्को पाटो अझ गम्भीर छ—बर्बरिकले देखेको ‘डिप स्टेट’को दृश्य। यसलाई शाब्दिक अर्थमा मात्र बुझ्नु आवश्यक छैन।

नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील देशमा बाह्य शक्ति, राज्यका अदृश्य शक्ति-संरचना, संस्थागत स्वार्थ र राजनीतिक नेतृत्वको कमजोरीबीचको सम्बन्धबारे प्रश्न उठ्नु स्वाभाविक हो।

जब राजनीतिक नेतृत्व आफ्नो आन्तरिक कमजोरीमा अल्झिन्छ, त्यही रिक्ततामा अरू शक्ति सक्रिय हुने ठाउँ पाउँछन्। त्यसैले देशको सार्वभौम हित र लोकतान्त्रिक संस्थाको रक्षा केवल राष्ट्रवादका भाषणबाट हुँदैन; त्यसका लागि सक्षम, सजग र उत्तरदायी राजनीतिक नेतृत्व चाहिन्छ।

बर्बरिकले अन्त्यमा देखेको सिंहदरबार र सर्वोच्च अदालतको खरानी भएको दृश्य त्यसैले अझ भयावह लाग्छ। त्यो दृश्यलाई भविष्यवाणीका रूपमा होइन, चेतावनीका रूपमा पढ्नुपर्छ।

राजनीतिक नेतृत्वले जनताको धैर्यलाई अनन्त ठान्यो भने, संस्थाहरूलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गरिरह्यो भने, सत्ता र संगठनलाई जनविश्वासको पर्याय ठानिरह्यो भने—एक दिन जनताको मौनता भंग हुन सक्छ। त्यसपछि परिवर्तनलाई कसैले आफ्नो नियन्त्रणमा राख्न सक्दैन।

‘ठक्कर खाए बुद्धि पलाउँछ’—बर्बरिकको यो वाक्य व्यंग्यभित्र लुकेको सबैभन्दा गम्भीर वाक्य हो। फ्रेन्च क्रान्तिले अन्ततः आफ्नो बाटो खोज्यो।

‘कलर रिभोल्युसन’हरू आए, गए; कतिपयमा उत्सव भयो, कतिपयमा निराशा। इतिहासले देखाएको छ—जनआक्रोशलाई धेरै समयसम्म सत्ता, संगठन र नाराले थुन्न सकिँदैन।

महाभारत मातृभूमिभित्रको युद्ध थियो। आफ्नै समाज, आफ्नै सत्ता र आफ्नै सम्बन्धहरूबीचको द्वन्द्व थियो। तर आजको ‘पेचिलो युद्ध’मा मातृभूमिको चिन्ता नै हरायो भने ? जनताको पीडा र आकांक्षा नै राजनीतिक गणितको सबैभन्दा अन्तिम विषय बन्यो भने ?

त्यसपछि प्रश्न केवल प्रचण्डको हुँदैन। प्रश्न ओलीको पनि हुन्छ, देउवाको पनि हुन्छ, र उनीहरूलाई पालैपालो सत्ताको केन्द्रमा पुर्यािउने हाम्रो राजनीतिक संस्कारको पनि हुन्छ।

सायद यही कारणले टंक कार्कीको यो सानो व्यंग्य पढिसकेपछि हाँस्नुभन्दा बढी सोच्न मन लाग्छ।

किनकि अन्तिम वाक्यमा आइपुग्दा व्यंग्य अचानक एउटा पीडादायी सत्यमा बदलिन्छ— “सब कुछ सीखा हमने, ना सीखी होशियारी।”

हामीले क्रान्ति सिक्यौँ। सत्ता परिवर्तन सिक्यौँ। आन्दोलन सिक्यौँ। सरकार बनाउने र गिराउने कला सिक्यौँ। इतिहासका ठूला–ठूला अध्याय लेख्यौँ।

तर सायद हामीले अझै सिक्न बाँकी नै छ—समयको संकेत बुझ्न, जनताको मन पढ्न र देशलाई आफ्नै राजनीतिक अहंकारभन्दा माथि राख्न। (राजदूत टंक कार्कीको पोष्टमा आधारित रहेर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan