गाजामा भवन भत्किँदा कम्तीमा १९ जनाको मृत्यु
गाजा सहरमा विस्थापित प्यालेस्टाइनी परिवार बसिरहेको क्षतिग्रस्त भवन भत्किँदा बुधबार कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्। यसैबीच, साउदी अरबले पवित्र सहर मक्कातर्फ अघि बढिरहेको एउटा ड्रोनलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले खसालेको जनाएको छ।
गाजा सहरमा विस्थापित करिब छ परिवार बसोबास गरिरहेको भवन भत्किँदा १९ जनाको मृत्यु भएको गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जाहेर अल–वाहिदीले बताउनुभएको छ । मृतकमध्ये कम्तीमा आठ बालबालिका र पाँच महिला छन्। भग्नावशेषमा पुरिएकाको खोजी तथा उद्धारकार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ।
युद्धको सुरुवाती चरणमा इजरायली आक्रमणबाट भवन आंशिक रूपमा क्षतिग्रस्त भएको थियो। भवन भत्किनुको कारण भने तत्काल स्पष्ट भएको छैन। युद्धका कारण गाजाका अधिकांश भवन क्षतिग्रस्त वा नष्ट भएकाले विस्थापित परिवार त्यस्ता भवनमा फर्किनु जोखिमपूर्ण बनेको छ।
मक्का नजिकै ड्रोन खसालेको साउदी दाबी
साउदी अरबले मङ्गलबार साँझ मक्काको आकाशमा प्रवेश गर्नुअघि नै एउटा ड्रोनलाई आफ्नो रक्षा प्रणालीमार्फत रोकेर नष्ट गरेको जनाएको छ। साउदी सैन्य प्रवक्ता मेजर जनरल तुर्की अल–माल्कीले मक्काको सुरक्षा ‘अतिक्रमण गर्न नहुने सीमा’ भएको बताउँदै ‘शत्रुतापूर्ण तथा आतङ्कवादी गतिविधि’ विरुद्ध कारबाही गरिने बताउनुभयो ।
यमनका इरान–समर्थित हुथी विद्रोहीले मक्कालाई निशाना बनाएको आरोप अस्वीकार गरेका छन्। घटनापछि पाकिस्तान, टर्कीलगायत देश तथा ५७ सदस्य राष्ट्र रहेको इस्लामिक सहयोग सङ्गठन (ओआईसी) ले निन्दा गरेका छन्।
होर्मुज जलसन्धिबाट तेल प्रवाहमा सुधार
अमेरिकी सेनाको निर्देशनपछि ओमानको तट नजिकैको दक्षिणी मार्ग प्रयोग गर्दै थप तेल ट्याङ्कर सञ्चालनमा आएपछि होर्मुज जलसन्धिबाट हुने तेल प्रवाहमा केही सुधार आएको छ।
हाल जलसन्धिबाट दैनिक करिब ५० लाखदेखि ७० लाख ब्यारेल तेल प्रवाह भइरहेको अनुमान गरिएको छ। अमेरिका–इरान तनाव सुरु हुनुअघि दैनिक करिब एक करोड ५० लाख ब्यारेल तेल प्रवाह हुने गरेको थियो।
यसैबीच, साउदी अरबको पूर्व–पश्चिम पाइपलाइनमा भएको ड्रोन आक्रमणपछि मर्मतमा केही साता लाग्ने अनुमान गरिएको छ। यसबाट यान्बु बन्दरगाहमार्फत हुने साउदी तेल निर्यात दैनिक २५ लाखदेखि २७ लाख ब्यारेलसम्म घट्न सक्ने बताइएको छ। यद्यपि, ‘केप्लर’का अनुसार साउदी अरबसँग अन्य मार्गबाट दैनिक करिब ३० लाख ब्यारेलसम्म तेल आपूर्ति गर्न सक्ने ट्याङ्कर क्षमता रहेको छ।
