ह्वेनसाङको ऐतिहासिक यात्रा समेटिएको पुस्तकको नेपाली संस्करण सार्वजनिक
काठमाडौं । करिब १४ सय वर्षअघि चीनबाट दक्षिण एसियाको पैदल यात्रा गरी भूगोल, समाज, संस्कृति, धर्म तथा जनजीवनबारे अभिलेख तयार गरेका चिनियाँ भिक्षु ह्वेनसाङको चर्चित कृति ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ को नेपाली संस्करण सार्वजनिक गरिएको छ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थितिमा आयोजित कार्यक्रममा पुस्तकको नेपाली संस्करण लोकार्पण गरिएको हो।
पुस्तक लोकार्पण गर्दै अध्यक्ष दाहालले ह्वेनसाङले जोखिम मोलेर यात्रा नगरेका भए दक्षिण एसियाको इतिहासका कतिपय महत्वपूर्ण पाना ओझेलमा पर्ने बताए। उनले ह्वेनसाङ, फा स्यान, अरनिको, भृकुटी तथा बुद्धभद्रको प्रसंग उल्लेख गर्दै नेपाल–चीन सम्बन्ध कूटनीतिक सम्बन्ध स्थापनाभन्दा धेरै अघिदेखि नै ज्ञान, कला, संस्कृति र नागरिकस्तरको आदानप्रदानबाट विकसित हुँदै आएको बताए।
अध्यक्ष दाहालले पुस्तकको नेपाली संस्करणले इतिहास बुझ्न तथा नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे।
पूर्वशिक्षामन्त्री रघुजी पन्तले अनुवादक फु छिआङको प्रयासको प्रशंसा गर्दै पुस्तकले नेपाल–चीनको ऐतिहासिक सम्बन्धलाई जनस्तरमा थप बलियो बनाउन सहयोग पुग्ने बताए।
