Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गङ्गाकुमारीको दुवै मिर्गौलाले काम नगरेपछि उपचार गर्न सहयोग जुटाइँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार | रासस

खोटाङ, ५ असोजः मिर्गाैलासम्बन्धी रोगबाट ग्रसित बराहपोखरी गाउँपालिका-२ सुन्तलेस्थित राछालुङकी ४३ वर्षीया गङ्गाकुमारी पूर्वछानेमगरको उपचारका लागि रु नौ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन भएको छ । 

    दुवै मिर्गौलाले काम गर्न छोडर समस्यामा पर्नुभएकी गङ्गाकुमारीको उपचारका लागि देश तथा विदेशमा रहनुभएका सामाजिक अभियन्ताको सहकार्यमा रु नौ लाख छ हजार ६३९ आर्थिक सहयोग सङ्कलन गरेर उपचार खर्च उपलब्ध गराइएको हो ।

    कमजोर आर्थिक अवस्थाकी गङ्गाकुमारीको उपचारका लागि करिब चार महिना सञ्चालन गरिएको आर्थिक सङ्कलन अभियानका क्रममा स्वदेश तथा विदेशमा रहनुभएका ३१९ जना दाताबाट सहयोग जुटेको भाइ इन्द्रबहादुर लिमेलमगरले जानकारी दिनुभयो । “दिदीको उपचारमा रु १५ लाखभन्दा बढी खर्च भइसक्यो । अहिले हप्तामा दुईपटक ‘डायलासिस’ गर्नुपर्छ । एकपटकमा रु सात हजार खर्च हुन्छ”, उहाँले भन्नुभयो, “घरको आर्थिक अवस्था कमजोर भएकाले अभियान सञ्चालन गर्न बाध्य भयौँ । अभियानका क्रममा रु नौ लाख छ हजार ६३९ उपचार खर्च जुटेको छ । अझै कति खर्च लाग्छ यकिन छैन ।”

    देश तथा विदेशमा रहेका अभियन्ताले अभियान सञ्चालन गर्दा जम्मा भएको आर्थिक सहयोग रकमको चेक मिर्गाैला पीडित गङ्गाकुमारीलाई हस्तान्तरण गरेका छन् । समाजका उपाध्यक्ष दिपेन बस्नेत, कोषाध्यक्ष चन्द्रकला राई र सदस्य तारानाथ श्रेष्ठ ‘उमेश’ले मिर्गाैला पीडित गङ्गाकुमारीलाई सङ्कलित रकमको चेक हस्तान्तरण गर्नुभएको हो । 

    चार छोरीकी आमा गङ्गाकुमारीको लागि उपचार खर्च जुटेपछि भाइ इन्द्रबहादुरले आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गर्ने केदार आलेमगर, अर्जुन थापामगर, रामकुमार राई, प्रकाश बन्जारा, अनिल राई, ध्यानकुमार पुमा राई, पुकल श्रेष्ठ, अशोक माले, प्रकाश खपाङ्गीमगर, मगेन्द्र आलेमगर, सन्देश मगर, दीपक मगरलगायतलाई धन्यवाद दिनुभयो । त्यस्तै, सुन्तले बचत कोष समूह (कुबेत) र बाराहापोखरी सेवा समाज (खोटाङ-काठमाडौँ) परिवारलाई पनि धन्यवाद दिनुभयो ।

    घरको कमजोर आर्थिक अवस्थाका डम्बर पूर्वछानेमगरसँग विवाह गर्नुभएकी मिर्गाैलापीडित गङ्गाकुमारीको अहिले किष्ट अस्पताल काठमाडौँमा डायलासिस भइरहेको पारिवारिक स्रोतले जनाएको छ । विगतदेखि मुटु, रक्तचाप र मधुमेहका समस्या भोगिरहनुभएकी उहाँको यसअघि वीर अस्पताल काठमाडौँमा सफल उपचार गरिएको थियो । 

    सुरुमा देखिएका सबै स्वास्थ्य समस्यामा सुधार आएपछि गङ्गाकुमारीलाई घर फर्काइएको थियो । दुई महिनापछि गत वैशाख २३ गते अचानक बेहोस भएपछि बेलका नगर अस्पताल हुँदै विराट मेडिकल कलेज पुर्‍याउँदा दुवै मिर्गाैला काम नलाग्ने भएको पत्ता लागेको भाइ इन्द्रबहादुरले जानकारी दिनुभयो ।

    छोरीहरूको पढाइका लागि छिमेकी जिल्ला उदयपुरको बेलका नगरपालिका-३ एबिसी टप्पुमा बस्दै आएका मगर परिवार गङ्गाकुमारीको स्वास्थ्यमा समस्या आएपछि कोठा भाडामा लिएर परिवारसहित ललितपुर बस्दै आउनुभएको छ । ललितपुरस्थित इमाडोल बस्दै आउनुभएका मगर परिवारका घरमुली गङ्गाकुमारीको स्वास्थ्यमा जटिल समस्या आइपरेपछि छोरीको पढाइ प्रभावित भएको जनाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan