चाडपर्व लक्षित बजार अनुगमन कार्ययोजना पारित
सुदूरपश्चिम, ५ असोजः दसैँ, तिहार र छठलगायत चाडपर्व नजिकिएसँगै उपभोक्ता ठगी, कालोबजारी तथा अनुचित व्यापारिक क्रियाकलाप हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीमा आज बसेको सरोकार भएकाहरूको बैठकले बजारमा हुने अवाञ्छित गतिविधि रोक्न सरकारका निकायले गर्ने अनुगमन मात्र प्रभावकारी नहुने भन्दै सचेत उपभोक्ता र जिम्मेवार व्यवसायीको दायित्व निर्वाहका लागि आग्रहसमेत गरेको छ ।
बैठकले आफ्नो क्षेत्राधिकारमा रहेर उपभोक्ताको हितलाई केन्द्रमा राखेर थप क्रियाशीलता बढाउने निर्णयसमेत गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, कैलालीका निमित्त प्रमुख तारामान रावलले जानकारी दिनुभयो । बैठकले वार्षिक निर्धारित नियमित अनुगमन लक्ष्यबाहेक चाडपर्वलाई मध्यनजर गर्दै थप अनुगमन गतिविधि तत्काल अगाडि बढाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
जिल्ला बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले चाडपर्वलाई लक्षित गरी सात क्षेत्रलाई प्राथमिकतामा राखेर बजार अनुगमन गरिने बताउनुभयो । चाडपर्वका समयमा उपभोक्ता ठगिने तथा कालोबजारी हुने घटना बढ्नसक्ने अवस्थालाई ध्यानमा राख्दै ‘चाडपर्व लक्षित बजार अनुगमन कार्ययोजना-२०८३’ पारित गरिएको जानकारी दिनुभयो ।
कार्ययोजना कार्यान्वयनका लागि तीनै तहका सरकार, उपभोक्ता अधिकारकर्मी, सरोकार भएका निकाय तथा सञ्चार क्षेत्र परिचालित हुने जनाइएको छ । कार्ययोजनाअनुसार अत्यावश्यक वस्तुको आपूर्ति तथा सार्वजनिक यातायात, होटल-रेस्टुराँ तथा खाजा घर, दैनिक उपभोग्य वस्तु तथा फेन्सी पसल, पशुजन्य तथा मासुजन्य पदार्थ, सुनचाँदी तथा आभूषण, फलफूल तथा तरकारीजन्य पदार्थ र जनस्वास्थ्य तथा औषधि क्षेत्रमा अनुगमन गरिनेछ ।
अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा चाडपर्व लक्षित बजार अनुगमन समिति र विषयगत उपक्षेत्र विभाजन गरी सम्बन्धित नियामक निकायका प्रमुखको संयोजकत्वमा सरोकार भएकासहितको टोली परिचालन गरिनेछ ।
कार्ययोजनाले बजार अनुगमनका क्रममा ‘उपभोक्ता संरक्षण ऐन, २०७५’, ‘कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२’, ‘खाद्य ऐन, २०२३’, ‘जनस्वास्थ्य ऐन, २०७५’, ‘औषधि ऐन, २०३५’, ‘नापतौल ऐन, २०२५’ लगायत प्रचलित कानुनलाई आधार बनाउने व्यवस्था गरेको छ ।
