तीन महिला फुटबल खेलाडीलाई आर्थिक सहयोग
तेह्रथुम, २७ असोज : ग्लोबल तेह्रथुम सेवा समाज दक्षिण कोरियाले तेह्रथुमबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय महिला फुटबल टोलीका तीन खेलाडीलाई आर्थिक सहयोग गरेको छ ।
समाजले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी अनु बस्नेत, राष्ट्रिय महिला फुटबल टोलीको १९ वर्षमुनिको टोलीकी खेलाडी सेमिहाङ्मा पङ्धाक र १७ वर्षमुनिको टोलीकी खेलाडी साहारा तुम्बाहाम्फेलाई जनही रु ५० हजारका दरले कूल रु एक लाख ५० हजार सहयोग गरेको हो । खेलाडीको खेलप्रतिको लगाव, मेहनत र समर्पणलाई प्रोत्साहन गर्दै मनोबल उच्च बनाउने तथा आगामी दिनमा खेल क्षेत्रमा अझ उत्साहका साथ अघि बढ्न प्रेरित गर्ने उद्देश्यले सहयोग प्रदान गरिएको संस्थाका अध्यक्ष सन्दीप हुक्पा चोङवाङले बताउनुभयो ।
समाजका विशिष्ट सल्लाहकार नवराज सिवाकोटी र सल्लाहकार रामप्रसाद उप्रेतीको पहलमा काठमाडौँमा आयोजित कार्यक्रममा तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सन्तोष सुब्बाको प्रमुख आतिथ्यमा खेलाडीलाई सहयोग रकम हस्तान्तरण गरिएको अध्यक्ष चोङबाङले बताउनुभयो ।
सन् २०१२ मा ‘दक्षिण कोरियामा छरिएर रहेका सम्पूर्ण तेह्रथुमेलीहरू एक हौँ’ भन्ने मूल नारासहित स्थापना भएको समाजले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
कोरियामा कार्यरत तेह्रथुमेलीलाई आइपर्ने समस्या समाधान, हकअधिकार र न्यायका लागि आवश्यक पहल गर्नुका साथै नेपाल तथा कोरियामा दुर्घटनामा परेका र जटिल रोगबाट ग्रसित भई उपचार गर्न आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई सहयोग गर्दै आएको समाजले जनाएको छ । तेह्रथुममा बाढीपहिरो, आगलागी, महामारीलगायत प्राकृतिक तथा अन्य विपद्का समयमा पनि समाजले आर्थिक सहयोग गर्दै आएको छ ।

