Monday 19th of October | २०८३ कार्तिक ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अमेरिकी आक्रमण भए ठूलो क्षति पु¥याउने इरानका नयाँ रक्षामन्त्रीको चेतावनी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३ सोमबार | तेहरान, १ कात्तिक ,रासस÷एएफपी :

इरानका नवनियुक्त रक्षामन्त्री मेहरदाद अखलाघीले अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही पुनःसुरु गरेमा अमेरिका र मध्यपूर्वमा रहेका उसका सहयोगीहरूले ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिनुभएको छ ।
    
    इरानी संसद्बाट विश्वासको मत प्राप्त गरेपछि आइतबार पत्रकारहरूसँग कुरा गर्दै अखलाघीले अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्ने सम्भावना न्यून रहेको बताउनुभयो । तर, त्यस्तो कदम चालिए अमेरिका र सम्पूर्ण क्षेत्रले गम्भीर परिणाम भोग्नुपर्ने उहाँको भनाइ थियो ।
    
    “जनता ढुक्क भए हुन्छ, उनीहरूले हामीमाथि आक्रमण गर्ने आँट गर्ने सम्भावना निकै कम छ । तर, यदि उनीहरूले त्यसो गरे भने, उनीहरू आफैँ र सम्पूर्ण क्षेत्रले ठूलो क्षति बेहोर्नुपर्नेछ”, अखलाघीले भन्नुभयो । 

    इरानी संसद्का सदस्यहरूले उहाँलाई नयाँ रक्षामन्त्रीका रूपमा नियुक्त गर्न अनुमोदन गरेका हुन् । सरकारी टेलिभिजनका अनुसार, आइतबार भएको मतदानमा उहाँले खसेको कुल २७७ मतमध्ये २३७ मत प्राप्त गर्नुभएको थियो । उहाँले रक्षा तथा सशस्त्र बलको रसदसम्बन्धी मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ ।
    
    अखलाघीले पूर्वरक्षामन्त्री अजिज नासिरजादेहको स्थान लिनुभएको छ । नासिरजादेहको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको आक्रमणमा मृत्यु भएको थियो । उक्त आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित वरिष्ठ सैन्य कमान्डरहरू पनि मारिएका थिए ।
    
    इरानको सरकारी समाचार संस्था आइएसएनएका अनुसार, मतदानअघि अखलाघीले आफूले जिम्मेवारी पाए देशको रक्षाका लागि संवेदनशील परिस्थितिको गहन विश्लेषण र पूर्ण तयारी आवश्यक हुने बताउनुभएको थियो । 
    
    उहाँले वर्तमान परिस्थितिको सही मूल्याङ्कन, घटनाक्रम पछाडिका कारणको बुझाइ, प्रभाव पार्ने प्रवृत्तिको पहिचान तथा भविष्यमा उत्पन्न हुनसक्ने विभिन्न अवस्थाको सामना गर्ने तयारीलाई देशको रक्षाका लागि महत्वपूर्ण मान्नुभएको छ ।
    
    सैन्य दर्जा नभए पनि अखलाघीले इरानको रक्षा मन्त्रालयमा ४२ वर्ष काम गरिसक्नुभएको छ । सन् २०१३ देखि उहाँले इरानको सरकारी हतियार उत्पादक निकाय रक्षा उद्योग सङ्गठनको नेतृत्वसमेत सम्हाल्दै आउनुभएको छ ।
    
    संयुक्त राष्ट्रसङ्घले सन् २००७ मा परमाणु तथा ब्यालेस्टिक क्षेप्यास्त्रसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोपमा अखलाघीमाथि प्रतिबन्ध लगाएको थियो ।
    
    अमेरिका र इजरायलको आक्रमणपछि इरानले प्रतिकारस्वरूप विभिन्न सैन्य कारबाही सञ्चालन गरेको थियो । यस्तो अवस्थामा नयाँ रक्षामन्त्रीको चेतावनीले मध्यपूर्वमा पुनःसैन्य तनाव बढ्नसक्ने चिन्ता थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan