ऊर्जा आक्रमण तीव्र, जेलेन्स्कीको अमेरिकी दूतसँग वार्ता
रुस र युक्रेनले एकअर्काका ऊर्जा केन्द्रमा आक्रमण तीव्र पारेका बेला युक्रेनी राष्ट्रपति भालोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनरसँग वार्ता गर्नुभएको छ । ट्रम्पले भने जेलेन्स्कीमाथि रुससँगको युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाउनुभएको छ ।
रुसी आक्रमणका कारण युक्रेनका विभिन्न क्षेत्रमा दशौँ हजार मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् भने तीन जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । जवाफमा युक्रेनले रुसको सेन्ट पिटर्सबर्गमा युद्ध सुरु भएयताकै ठूलो ड्रोन आक्रमण गरेको जनाएको छ । आक्रमणबाट तेल प्रशोधन केन्द्रसहितका संरचनामा आगलागी भएको र एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको रुसी अधिकारीहरूले बताएका छन् ।
ट्रम्पले रुसमाथि नयाँ प्रतिबन्ध लगाउन रोकेको र मस्कोसँग डिजेलसम्बन्धी सम्झौता गरेपछि अमेरिका र युक्रेनबीच मतभेद बढेको छ । ट्रम्पले सामाजिक सञ्जालमा शान्ति वार्तामा ठूलो प्रगति भइरहेको दाबी गर्दै जेलेन्स्की युद्ध अन्त्य गर्न इच्छुक नरहेको आरोप लगाउनुभएको थियो । युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गर्दा विश्व बजारमा डिजेल आपूर्तिमा असर परेको उहाँको भनाइ छ ।
अमेरिकी दूतहरूसँगको वार्तापछि जेलेन्स्कीले युद्ध अन्त्य गर्न युक्रेन रचनात्मक तथा इमानदार ढङ्गले अघि बढ्न तयार रहेको बताउनुभयो । उहाँले अमेरिकी र युरोपेली साझेदारबाट पनि त्यस्तै व्यवहारको अपेक्षा गर्नुभएको छ । वार्तामा रुसी क्षेप्यास्त्रबाट रक्षा गर्न आवश्यक अमेरिकी प्याट्रियट वायु रक्षा प्रणालीको आपूर्तिबारे पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।
जेलेन्स्कीले अमेरिकाले औपचारिक रूपमा रुसलाई समर्थन गरेमा त्यो ऐतिहासिक गल्ती हुने बताउँदै ट्रम्पले आफ्नो निर्णय परिवर्तन गर्ने आशा व्यक्त गर्नुभएको छ । अमेरिकाले केही समय रोकिएको गुप्तचर सूचना आदानप्रदान पुनः सुरु गरेकोमा भने उहाँले धन्यवाद दिनुभयो ।
जेलेन्स्कीका अनुसार रुसले ट्रम्पले प्रस्ताव गर्नुभएको ‘ऊर्जा युद्धविराम’ ७६ पटक उल्लङ्घन गरेको छ । जाडो सुरु हुनुअघि युक्रेनी नागरिकलाई ताप र विद्युत् सेवाबाट वञ्चित गर्ने उद्देश्यले रुसले आक्रमण गरिरहेको उहाँको आरोप छ । यता, रुसको लेनिनग्राद क्षेत्रका प्रमुख अलेक्जान्डर ड्रोज्डेन्कोले हवाई प्रतिरक्षा प्रणालीले १४४ युक्रेनी ड्रोन खसालेको बताउनुभएको छ । रुसी सरकारी सञ्चारमाध्यमले यसलाई युद्ध सुरु भएयताकै ठूलो आक्रमण बताएका छन् ।
सेन्ट पिटर्सबर्गमा तेल टर्मिनल, तेल भण्डारण केन्द्र र औद्योगिक गोदाममा लागेको आगो निभाइएको थिएन भने सामाजिक सञ्जाल भिकोन्टाक्टे र खुद्रा व्यापार कम्पनी ओजनले पनि आफ्ना संरचनामा असर परेको जनाएका थिए ।
क्रेमलिनले युक्रेनी आक्रमणले रुसको युद्ध लक्ष्य परिवर्तन नहुने बताएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको बाँकी भूभाग कब्जा गर्ने लक्ष्य दोहो¥याउँदै आउनुभएको छ । रुसले युक्रेनी सहरमा दैनिक ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै आएको छ भने किएभले आफ्ना आक्रमणलाई रुसी हमलाको जवाफ बताउँदै आएको छ । युक्रेनी आक्रमणले यस वर्षको सुरुतिर रुसमा देशव्यापी इन्धन अभावसमेत निम्त्याएको थियो ।

