Saturday 14th of November | २०८३ कार्तिक २८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेसको नयाँ परीक्षा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २७ शुक्रबार | कौशल कुमार भट्टराई
newsabhiyan

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टीको नेतृत्वमा पुस्तान्तरणको सन्देश दिएको छ ।

गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति बनेसँगै कांग्रेसभित्र लामो समयदेखि जमेर बसेको नेतृत्वशैली, गुटगत प्रतिस्पर्धा र संगठन सञ्चालनको तौरतरिकामा परिवर्तन आउने अपेक्षा गरिएको छ ।

यो परिवर्तन केवल नेतृत्वमा नयाँ अनुहार आउनुमा सीमित छैन, पार्टीले अब आफूलाई कसरी प्रस्तुत गर्छ र जनताको बदलिएको अपेक्षासँग कसरी जोड्छ भन्ने विषयसँग पनि सम्बन्धित छ ।

विशेषगरी युवा पुस्तामा कांग्रेसप्रति देखिएको नयाँ चासो र आकर्षणलाई पार्टीले अवसरका रूपमा लिन सक्नुपर्छ । नयाँ नेतृत्वप्रतिको उत्साहलाई स्थायी जनसमर्थनमा बदल्न भाषण, सामाजिक सञ्जालको लोकप्रियता वा महाधिवेशनको परिणाम मात्र पर्याप्त हुँदैन ।

त्यसका लागि पार्टीको व्यवहार, निर्णय प्रक्रिया र कार्यशैलीमै परिवर्तन देखिनु पर्छ । कांग्रेसको अहिलेको सबैभन्दा ठूलो चुनौती आफ्नै विगतबाट बाहिर निस्कनु हो । लामो समय सत्ताको वरिपरि घुमेको पार्टीका रूपमा कांग्रेसप्रति जनताका अनेक गुनासा छन् ।

भ्रष्टाचार नियन्त्रण, सुशासन, सार्वजनिक सेवा प्रवाह, रोजगारी र आर्थिक अवसरका विषयमा पार्टीले विगतमा अपेक्षित परिणाम दिन नसकेको आलोचना हुँदै आएको छ । त्यसैले नयाँ नेतृत्वले पुराना कमजोरीको बचाउ गर्नुभन्दा तिनलाई स्वीकार गरेर सुधारको स्पष्ट बाटो देखाउनुपर्छ ।

पार्टीभित्र निर्णय गर्ने अधिकार सीमित व्यक्तिको हातमा केन्द्रित हुने अवस्था अन्त्य गर्दै तल्लो तहका कार्यकर्ता र समर्थकको आवाजलाई महत्व दिनु आवश्यक छ ।

उम्मेदवार छनोटदेखि नीति निर्माणसम्म सदस्यको सहभागिता बढाउने, संगठनलाई नियमित गतिविधिमा सक्रिय राख्ने र नेतृत्वलाई जवाफदेही बनाउने व्यवस्था गर्न सकिए कांग्रेसको आन्तरिक जीवनमा नयाँ ऊर्जा आउन सक्छ ।

युवा पुस्तालाई केवल प्रचारमा प्रयोग गर्ने होइन, नीति निर्माण र निर्णय प्रक्रियामै जिम्मेवारी दिनुपर्छ । महिला, दलित, आदिवासी जनजाति, मधेशी तथा सीमान्तकृत  समुदायको प्रतिनिधित्व पनि औपचारिक सहभागितामा सीमित नभई नेतृत्व र अवसरसँग जोडिनुपर्छ ।

पार्टीको वैचारिक आधार लोकतन्त्र, राष्ट्रियता र सामाजिक न्यायलाई आजको समयअनुकूल व्याख्या गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता र प्रविधिका विषयमा ठोस दृष्टिकोण अघि सार्नुपर्ने आवश्यकता छ ।

यता, गगन थापाको नेतृत्व स्थापित भइसकेपछि पनि शेरबहादुर देउवा पक्षले डा।शशांक कोइरालाको समन्वयमा समानान्तर महाधिवेशनको गतिविधि अघि बढाइरहेको छ ।

यसले कांग्रेसभित्रको विवाद अझै समाप्त नभएको देखाउँछ । नेतृत्वको वैधानिकता र पार्टीको आधिकारिकतासम्बन्धी विवादलाई कानुनी तथा संस्थागत प्रक्रियाबाट टुंग्याउनु उचित हुन्छ ।

यस्ता विवादका कारण पार्टीको सम्पूर्ण शक्ति आन्तरिक खिचातानीमै खर्च हुनु कांग्रेसका लागि हितकर हुँदैन । नेतृत्व परिवर्तनपछि मूलधारमा फर्किएका नेता तथा कार्यकर्ताको सहभागितालाई थप विस्तार गर्दै असन्तुष्ट पक्षसँग संवाद गर्नु नयाँ नेतृत्वको जिम्मेवारी हो ।

त्यस्तै, गगनको नाम जोडेर विभिन्न विवाद सिर्जना गर्ने वा उनलाई कमजोर देखाउने उद्देश्यले आरोप–प्रत्यारोप चलाइएको भन्ने चर्चा पनि सुनिन्छ । यस्ता विषयमा हल्ला र आरोपभन्दा तथ्य, प्रमाण र सम्बन्धित पक्षको आधिकारिक धारणा नै निर्णायक हुनुपर्छ ।

कांग्रेसले यस्ता विवादमा अल्झिएर आफ्नो राजनीतिक उद्देश्य बिर्सनु हुँदैन । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको सरकारले करिब दुई तिहाइको समर्थनसहित शासन गरिरहेको अवस्थामा कांग्रेसले आफूलाई प्रभावकारी प्रतिपक्ष वा भावी राजनीतिक विकल्पका रूपमा तयार गर्नुपर्ने चुनौती छ ।

सरकारका राम्रा कामको समर्थन र कमजोरीको तथ्यपूर्ण आलोचना गर्दै जनताका वास्तविक समस्या उठाउन सके कांग्रेसको भूमिका अर्थपूर्ण बन्न सक्छ । सरकारको विरोध गर्नु मात्रै प्रतिपक्षको काम होइन, आवश्यक पर्दा विकल्पसहित नीति र कार्यक्रम प्रस्तुत गर्नु पनि हो ।

त्यसैले कांग्रेसले आफ्नो संगठनलाई चुनावमुखी संरचनाबाट जनतासँग निरन्तर जोडिने राजनीतिक शक्तिमा रूपान्तरण गर्नुपर्छ । गगन थापाका लागि यो नेतृत्व प्राप्तिको सफलता मात्र होइन, कांग्रेसलाई बदलिएको समयअनुकूल पुनर्गठन गर्ने अवसर पनि हो ।

उनले यो अवसरलाई व्यवहारमा उतार्न सके कांग्रेस फेरि राष्ट्रिय राजनीतिमा बलियो विकल्प बन्न सक्छÙ अन्यथा नयाँ नेतृत्वको उत्साह पनि पुरानै राजनीतिक संस्कारको भीडमा हराउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan