Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

क्यानाडा र चीनबीच थप शुल्क कटौतीमा सहमति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार | (रासस-एएफपी)

सेन्जेन (चीन), १ मङ्सिर : क्यानाडा र चीनले व्यापार विस्तार गर्ने उद्देश्यले थप भन्सार शुल्क कटौती गर्ने सहमति गरेका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच एपेक शिखर सम्मेलनका क्रममा भएको भेटवार्तापछि यस्तो सहमति भएको हो ।

कार्नीको कार्यालयका अनुसार यसबाट क्यानाडाको करिब ४० करोड क्यानेडियन डलर बराबरको निर्यातमा थप भन्सार छुट हुनेछ । यसमा चिस्यानमा राखिएको सुँगुरको मासु, माछा र समुद्री खाद्यवस्तु समावेश छन् । त्यसको बदलामा क्यानाडाले चिनियाँ स्टिल र आल्मुनियमका केही उत्पादनमा दिइएको भन्सार छुट दुई वर्ष थप्नेछ ।

अमेरिकामाथिको व्यापारिक निर्भरता घटाउन खोजिरहेका कार्नीले सन् २०३० सम्म चीनतर्फको निर्यात ५० प्रतिशतले बढाउने लक्ष्य निर्धारित समयभन्दा अगाडि नै पूरा हुने बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सीले पनि दुई देशबीचको सम्बन्ध सुधारले दुवै देशको हित र विश्वको स्थिरता तथा समृद्धिमा योगदान पुग्ने बताउनुभयो ।

वर्षौंदेखि कूटनीतिक तनाव र भन्सार शुल्क विवादमा रहेका दुई देशबीच सम्बन्ध सुधारको प्रयास भइरहेको छ । सन् २०१८ मा क्यानाडाले अमेरिकी पक्राउ पुर्जीका आधारमा हुवावेका संस्थापककी छोरीलाई पक्राउ गरेपछि चीनले दुई क्यानाडेली नागरिकलाई हिरासतमा लिएको थियो । त्यसपछि दुवै देशले एकअर्काका निर्यातमा शुल्क लगाएका थिए ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको अटोमोबाइल क्षेत्रमा दण्डात्मक शुल्क लगाउनुभएको थियो । कार्नी गत अगस्टमा अमेरिकासँगको व्यापार वार्ताबाट बाहिरिनुभएको भए पनि पछिल्लो समय दुवै देशबीच सम्झौताको सम्भावना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan