इरानसँग युद्धविरामका लागि पाकिस्तानको पहल
इस्लामावाद, १ मङ्सिर : अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने प्रयास भइरहेका बेला पाकिस्तानी सेना प्रमुख असीम मुनीरले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग क्षेत्रीय शान्ति र सुरक्षाबारे छलफल गर्नुभएको छ ।
पाकिस्तानी सेनाका अनुसार सोमबार भएको भेटमा क्षेत्रीय सुरक्षा र भूराजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । सेना प्रमुख मुनीरले शान्ति र स्थिरताका लागि दुवै देशबीच निरन्तर संवाद र समन्वय आवश्यक रहेको बताउनुभएको थियो ।
पाकिस्तान भ्रमणमा रहनुभएका अराघचीसँग विदेशमन्त्री इशाक दारले पनि छलफल गर्नुभएको थियो । दारका अनुसार इरानले हर्मुज जलघाँटी पुनः खोल्न दुई दिनको प्रस्ताव अघि सारेको छ । अमेरिकाले त्यसबारे प्रतिक्रिया दिएको छैन ।
पाकिस्तानले यसअघि जुनमा अमेरिका र इरानबीच अस्थायी युद्धविराम गराउन मध्यस्थता गरेको थियो । तर, दुवै पक्षले एकअर्कालाई सहमति उल्लङ्घन गरेको आरोप लगाएपछि युद्धविराम भङ्ग भएको थियो । त्यसयता पाकिस्तान र कतारले युद्धविराम पुनः कायम गराउन कूटनीतिक प्रयास गर्दै आएका छन् ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी मुलुकलाई लक्षित गरी जवाफी आक्रमण गरेको थियो । यसले मध्यपूर्वमा हिंसा चर्काउनुका साथै विश्वव्यापी ऊर्जा मूल्य बढाएको थियो ।
युद्ध अन्त्यका लागि इरानले विदेशमा रोक्का गरिएका आफ्ना सम्पत्ति फुकुवा, प्रतिबन्धमा राहत र इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने सर्त राखेको छ ।


