Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार | (रासस)

धनकुटा, ६ मङ्सिर : धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको खरिद मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन् ।

    जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ धनकुटाले दूध उत्पादन लागत बढेको तर किसानले पाउने मूल्य नबढेको भन्दै मूल्य समायोजन गर्न माग गरेको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नारद कटुवालले हाल किसानले प्रतिलिटर ५० देखि ५५ रुपैयाँ मात्र पाउँदै आएको बताउँदै उक्त मूल्य बढाएर कम्तीमा ८० रुपैयाँ पुर्‍याउनुपर्ने माग गर्नुभयो ।

    उहाँका अनुसार दाना, चोकरलगायत पशु आहार तथा औषधोपचारको खर्च बढ्दा दूध उत्पादन लागत प्रतिलिटर करिब ६५ रुपैयाँ पुगेको छ । विगत तीन–चार वर्षदेखि दूधको मूल्य वृद्धि नभएको उहाँले बताउनुभयो ।

    बजारमा उपभोक्ताले दूधको मूल्य बढी तिर्नुपरे पनि किसानले पाउने मूल्य नबढ्दा दुग्ध उत्पादक मारमा परेको सङ्घको भनाइ छ । महालक्ष्मी नगरपालिका–२ की कृषक कृष्णमाया कटुवालले किसानले उत्पादन गरेको दूध प्रतिलिटर ५० देखि ५५ रुपैयाँमा बिक्री गर्नुपरेको तर उपभोक्ताले बजारमा प्रतिलिटर १२० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको बताउनुभयो । दूधको मूल्य नबढ्दा पशु आहार, औषधोपचार र अन्य व्यवस्थापन खर्च धान्न कठिन भएको उहाँले बताउनुभयो ।

    सङ्घका अनुसार धनकुटामा करिब ४० हजार किसान दुग्ध उत्पादनमा आबद्ध छन् । जिल्लामा दैनिक करिब ३० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये दुग्ध विकास संस्थानले दैनिक करिब १० हजार लिटर खरिद गर्दै आएको छ । कामधेनु, जीवन विकासलगायत निजी डेरी तथा अन्य संस्थाले पनि दूध सङ्कलन गर्दै आएका छन् । जिल्लाका २७ दुग्ध उत्पादक सहकारी संस्था तथा दूध सङ्कलन केन्द्रमार्फत किसानले दूध बिक्री गर्दै आएका छन् ।

    किसानले दुग्ध विकास संस्थानबाट भदौ १५ गतेदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार धनकुटाका किसानले संस्थानबाट करिब डेढ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

    सङ्घले मङ्सिर १५ गतेसम्म दूधको मूल्य वृद्धि नभए मङ्सिर १६ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएको छ । माग सम्बोधन् नभए गाईवस्तुसहित सडकमा उत्रिएर चक्काजाम गर्ने र उत्पादित दूध बजारमा नपठाइ भण्डारण गर्ने अध्यक्ष कटुवालले बताउनुभयो ।

    सरकारले पटकपटक दूधको मूल्य वृद्धि गर्ने आश्वासन दिए पनि कार्यान्वयन नगरेको सङ्घको आरोप छ । किसानले उत्पादन लागतका आधारमा दूधको मूल्य निर्धारण गरी दुग्ध उत्पादकलाई राहत दिन सरकारसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan