Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार | (रासस)

काठमाडौँ, ६ मङ्सिरः प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्ग (एयर रुट)का विषयमा महत्वपूर्ण सहमति हुने सम्भावना रहेको छ । 

    प्रधानमन्त्री शाह दुईदिने भारतको राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ । यस अवसरमा नेपालले झण्डै डेढ दशकदेखि उठाइरहेको नयाँ हवाई प्रवेश बिन्दु ‘एयर रुट’ मा ‘ब्रेक थ्रु’ हुनसक्ने सम्बद्ध पक्षले जानकारी दिएको छ । झण्डै डेढ दशकदेखि कूटनीतिक तथा प्राविधिक तहमा छलफल हुँदै आएको र निष्कर्षमा पुग्न नसकेको यस विषयमा पछिल्लो समय भारतीय पक्ष सकारात्मक देखिएपछि प्रधानमन्त्रीको भ्रमणलाई निर्णायक अवसरका रूपमा हेरिएको छ । 

    नेपालले महेन्द्रनगर, नेपालगन्ज, भैरहवा र जनकपुरबाट थप हवाई मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ । पछिल्लो द्विपक्षीय छलफलमा भारत महेन्द्रनगरबाट ३९ हजार फिट उचाइबाट जहाज प्रवेश गर्न दिन सकारात्मक देखिएको छ । 

    यस्तै, भैरहवा र जनकपुरबाट कम उचाइमा हवाइमार्ग उपलब्ध गराउन सकिने जनाएको छ । 

    सकारात्मक देखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । नेपालले तत्काल सम्भव हुने तीन वटा हवाई प्रवेश मार्ग सञ्चालनमा ल्याएर बाँकी विषयलाई क्रमशः वार्ताबाट टुङ्ग्याउन प्रस्ताव गरेको छ । भारतले यी विषयमा छुट्टाछुट्टै सहमति गर्नुभन्दा समग्र प्याकेजमै समझदारी गर्नुपर्नेमा जोड दिएको छ । 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जयनारायण आचार्यका अनुसार भारतीय पक्षसँग हवाई प्रवेश बिन्दुका विषयमा प्याकेजमै छलफल भइरहेको छ । 

    “महेन्द्रनगरबाट जहाज नेपाल प्रवेश गर्न पाउने गरी हवाई मार्ग उपलब्ध गराउन भारत तयार देखिएको छ । त्यस्तै, भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउन भारत सकारात्मक छ”, उहाँले भन्नुभयो, “भारतीय पक्षले प्याकेजमै सहमति खोजेको छ । हाम्रो तर्फबाट भने छुट्टाछुट्टै सहमति गरेर पहिला तीन क्षेत्रमा हवाई प्रवेश सुरु गरौँ र बाँकी विषय क्रमशः संवादबाट टुङ्ग्याउँदै जाऔँ भन्ने प्रस्ताव गरेका छौँ ।”

    मन्त्रालयका अनुसार कुन–कुन प्रवेश बिन्दुबाट हवाई मार्ग उपलब्ध हुने भन्ने विषयमा अन्तिम टुङ्गो लागिसकेको छैन । यद्यपि, पछिल्लो छलफलमा देखिएको सकारात्मक वातावरणले प्रधानमन्त्रीको भ्रमणमा सहमति जुट्ने सम्भावना बढाएको छ ।

    नेपालले भैरहवा, जनकपुर र महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग सञ्चालन गर्ने र बाँकी विषयमा छुट्टै प्राविधिक तथा कूटनीतिक छलफल गर्ने प्रस्ताव गरेको छ । 

    महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग उपलब्ध भएमा पश्चिम क्षेत्रबाट नेपाल प्रवेश गर्ने अन्तरराष्ट्रिय उडानलाई वैकल्पिक मार्ग प्राप्त हुनेछ । यसले सिमरा प्रवेश बिन्दुमाथिको निर्भरता घटाउन र पश्चिमी क्षेत्रका विमानस्थलमा उडान सञ्चालन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

    प्रस्तावित उचाइ व्यावहारिक रूपमा कति उपयोगी हुन्छ भन्ने विषयमा प्राविधिक अध्ययन आवश्यक छ । विमानको प्रकार, उडान दिशा, हवाई यातायात व्यवस्थापन, मौसम तथा सुरक्षालाई ध्यानमा राखेर मार्ग निर्धारण गर्नुपर्ने बताइएको छ । 

भैरहवा र जनकपुरका लागि कम उचाइको रुट

    महेन्द्रनगरबाट उच्च उचाइमा जहाज प्रवेश गराउने प्रस्तावसँगै भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउने विषयमा भारत सकारात्मक देखिएको मन्त्रालयको भनाइ छ ।

    भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार गर्न भारतीय हवाई क्षेत्रको प्रयोग महत्वपूर्ण मानिन्छ । भारततर्फको सहज प्रवेश तथा बहिर्गमन मार्ग नहुँदा विमानस्थलको व्यावसायिक सञ्चालनमा चुनौती देखिएको छ ।

    त्यस्तै, जनकपुरबाट अन्तरराष्ट्रिय उडानका लागि उपयुक्त हवाई मार्ग उपलब्ध भएमा क्षेत्रीय हवाई सम्पर्क विस्तार गर्न सकिने अपेक्षा छ । नेपालले यी मार्गलाई प्राथमिकताका साथ अघि बढाउन खोजे पनि प्रवेश बिन्दु, उडानको उचाइ र सञ्चालन प्रक्रियाबारे प्राविधिक सहमति हुन बाँकी छ । 

    भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा ठूलो लगानी भए पनि अपेक्षित रूपमा अन्तरराष्ट्रिय उडान विस्तार हुन सकेको छैन । 

    हाल नेपाल प्रवेश गर्ने अधिकांश अन्तरराष्ट्रिय जहाजले बाराको सिमरा प्रवेश बिन्दु प्रयोग गर्नुपर्ने अवस्था छ । यसले पश्चिमी क्षेत्रका विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्दा मार्ग व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । 

    भैरहवाबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्न भारतीय हवाई क्षेत्रसँग जोडिएको सहज प्रवेश तथा बर्हिगमन मार्ग आवश्यक छ । पोखरा विमानस्थलको अन्तरराष्ट्रिय उडान विस्तारका लागि सहज हवाई सम्पर्क महत्वपूर्ण मानिएको छ ।

    थप हवाई रुट उपलब्ध भएमा अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई नेपालका क्षेत्रीय विमानस्थलमा उडान सञ्चालन गर्न सहज हुने र त्यसबाट पर्यटन, व्यापार तथा आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    विसं २०७१ साउन १८ गते भारतीय प्रधानमन्त्री मोदीको पहिलो नेपाल भ्रमणका क्रममा पश्चिमतर्फबाट थप हवाई रुट उपलब्ध गराउने विषयमा सहमति भएको थियो । त्यसबेला दुवै देशका अधिकारीलाई छ महिनाभित्र यस विषयलाई टुङ्ग्याउन भनिएको थियो । त्यसयता विभिन्न उच्चस्तरीय भ्रमण र द्विपक्षीय बैठकमा छलफल भए पनि नेपालले नयाँ हवाई प्रवेश मार्ग प्राप्त गर्न सकेको छैन ।

    विसं २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा पनि हवाई रुटको विषय प्रमुख एजेन्डामा समावेश थियो । त्यसबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई थप हवाई रुट उपलब्ध गराउने विषयमा भारत सकारात्मक रहेको बताउनुभएको थियो । 

    प्रधानमन्त्री शाहको भारत भ्रमणअघि नै हवाई रुटका विषयमा द्विपक्षीय सहमति खोज्ने उद्देश्यले नेपालले कूटनीतिक तथा प्राविधिक तहमा छलफल तीव्र पारेको थियो । 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल यस विषयमा छलफल गर्न भारत पुग्नुभएको थियो । नयाँदिल्लीमा यही मङ्सिर ४ देखि ६ गतेसम्म आयोजना भएको साङ्घाइ सहयोग सङ्गठन (एससीओ) को सिभिलाइजेशन डाइलग फोरममा सहभागी हुने क्रममा उहाँले भारतीय अधिकारी तथा सरोकारवालासँग थप हवाई रुट र पर्यटन सहकार्य विस्तारबारे छलफल गर्नुभएको थियो ।

    यसअघि नेपाली प्रतिनिधिमण्डलले नयाँदिल्लीमा भारतीय नागरिक उड्डयन मन्त्रालयका अतिरिक्त सचिव पुनित कंशलसँग छलफल गरेको थियो । प्रतिनिधिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रशासन तथा योजना महाशाखा प्रमुख जयनारायण आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिण एसिया महाशाखा प्रमुख गेहेन्द्र राजभण्डारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डङ्गोल सहभागी हुनुहुन्थ्यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan