Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकतामा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार | (रासस-एएफपी)
newsabhiyan

सियोल, ७ मङ्सिर : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता हुन नसकेको केही दिनपछि उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रिय सार्वभौमिकता र सुरक्षालाई प्राथमिकता दिँदै वैदेशिक सम्बन्ध विस्तार गर्ने बताउनुभएको छ ।

राज्य सञ्चारमाध्यम केसीएनएका अनुसार नयाँ नियुक्त राजदूतहरूबाट ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै उहाँले स्वतन्त्रता, शान्ति र मित्रतामा आधारित विदेश नीति अघि बढाउने बताउनुभएको हो । कार्यक्रममा रुसका लागि नियुक्त राजदूत पनि सहभागी हुनुहुन्थ्यो ।

किमले बढ्दो विश्वव्यापी सुरक्षा सङ्कट तथा राजनीतिक र आर्थिक अस्थिरताबीच उत्तर कोरियाले प्रभुत्व वा विस्तारको नीति नअपनाउने बताउनुभयो । सामान्यतया वरिष्ठ अधिकारीले गर्ने राजदूतहरूको प्रमाणपत्र ग्रहण समारोहमा उहाँ स्वयं विदेशमन्त्री चो सोन हुईसँग उपस्थित हुनुभएको थियो ।

गत साता एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका लागि चीन पुग्नुभएका ट्रम्पले किमसँग भेट्ने प्रयास गर्नुभएको थियो । तर, भेटको व्यवस्था हुन नसकेपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि उहाँ बिहीबार एसियाबाट फर्किनुभएको थियो ।

किमको प्रत्यक्ष सहभागितालाई उत्तर कोरियाको सार्वभौमिकतामा आधारित कूटनीतिको सङ्केतका रूपमा विश्लेषण गरिएको छ ।

दक्षिण कोरियाको क्युङनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलले एएफपीसँग कुरा गर्दै ट्रम्पको पहलबाट प्रभावित नभई राजदूतहरूलाई स्वागत गर्नु उत्तर कोरियाले बहुध्रुवीय विश्व व्यवस्थामा आफ्नो भूमिका विस्तार गर्न चाहेको सङ्केत भएको बताउनुभयो ।

ट्रम्पको पहिलो कार्यकालमा किमसँग भएका शिखर वार्ताबाट उत्तर कोरियाको आणविक कार्यक्रम रोक्ने ठोस सम्झौता हुन सकेको थिएन ।

संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आणविक कार्यक्रम अघि बढाउँदै आफ्नो आणविक हैसियतलाई कानूनी मान्यता दिएको छ र हतियार भण्डारलाई स्थायी तथा अपरिवर्तनीय घोषणा गरेको छ ।

यसैबीच, युक्रेनविरुद्धको युद्धमा रुसलाई सैन्य सहयोग गर्न सेना परिचालन गरेपछि उत्तर कोरिया र रुसबीचको सम्बन्ध थप सुदृढ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan