यमनमा साउदी आक्रमणमा १० जनाको मृत्यु
साना, ७ मङ्सिर : यमनको प्रमुख बन्दरगाह सहर होडेइडामा साउदी अरेबियाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । हुथी विद्रोहीसँग सम्बन्धित सञ्चारमाध्यमले सोमबार उक्त जानकारी दिएका हुन् ।
हुथीहरूको अलमसिराह टेलिभिजन च्यानलका अनुसार यमनको पब्लिक टेलिकम्युनिकेसन कर्पोरेसनसँग सम्बन्धित भवनलाई लक्षित गरी आक्रमण गरिएको हो । च्यानलले सुरुमा चार जनाको मृत्यु भएको जनाएको थियो भने केही घण्टापछि मृतकको सङ्ख्या बढाएर १० पुगेको उल्लेख गरेको छ । साउदी अरेबियाले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
यमनका विभिन्न भूभाग र होडेइडा बन्दरगाह नियन्त्रणमा राख्दै आएका इरान समर्थित हुथी विद्रोही अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको गठबन्धनसँग लामो समयदेखि सङ्घर्षरत छन् ।
साउदी नेतृत्वको गठबन्धनले आफ्नो देशको पश्चिमी लालसागर तटतर्फ प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र रोकेको जनाएको एक दिनपछि यो आक्रमण भएको हो । उक्त क्षेत्रमा प्रमुख तेल प्रतिष्ठानहरू रहेका छन् । हुथी विद्रोहीले पछिल्ला साताहरूमा विमानस्थल र सैन्य अखडालाई समेत निशाना बनाउँदै आएका छन् ।
एक दशकभन्दा बढी समयदेखि गृहयुद्धमा फसेको यमन गत जुलाईमा हुथी विद्रोही र साउदी समर्थित सरकारबीचको युद्धविराम भङ्ग भएपछि अमेरिका–इरान द्वन्द्वको चपेटामा परेको थियो । संयुक्त राष्ट्रसङ्घको पछिल्लो तथ्याङ्कअनुसार त्यसयता यमनमा एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने तीन लाखभन्दा बढी विस्थापित भएका छन् ।
