Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आफ्नै आवश्यकताअनुसार एआई विकास गर्न देशहरूलाई राष्ट्रसङ्घको सुझाव

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार | (रासस/सिन्ह्वा)

देशहरूले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा क्षमता विकास गर्न अत्याधुनिक एआई मोडेलमै निर्भर हुनुपर्ने आवश्यकता नरहेको संयुक्त राष्ट्रसंघीय प्यानलले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक एआई प्यानलले आइतबार सार्वजनिक गरेको दोस्रो विषयगत प्रतिवेदनमा देशहरूले विद्यमान एआई प्रणाली प्रयोग गर्न, खुला रूपमा उपलब्ध मोडेललाई सञ्चालन वा परिमार्जन गर्न अथवा आफ्नै मोडेल विकास गर्न सक्ने उल्लेख गरेको छ ।

प्यानलका अनुसार जुनसुकै बाटो अपनाए पनि त्यसको सफलता तथ्याङ्क, उपयुक्त कम्प्युटिङ क्षमता, दक्ष जनशक्ति, कार्यप्रणाली र संस्थागत संरचनामा गरिने लगानीमा निर्भर हुन्छ ।

कुन प्रविधि अपनाउने भन्ने निर्णय समाधान गर्नुपर्ने समस्या, उपलब्ध स्रोतसाधन र राष्ट्रिय प्राथमिकताका आधारमा गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

अत्याधुनिक एआई मोडेलले समग्र अर्थतन्त्रको उत्पादकत्वमा कति सुधार ल्याउँछन् भन्ने विषय अझै अनिश्चित र अध्ययनकै क्रममा रहेको प्यानलले जनाएको छ। तर, देशहरूले विशिष्ट कामका लागि सीमित उद्देश्यका एआई प्रणाली विकास गरेर वा खुला मोडेललाई स्थानीय आवश्यकताअनुसार परिमार्जन गरेर पनि एआईबाट लाभ लिन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

यसले देशहरूलाई आफ्नै आवश्यकता र प्राथमिकताअनुसार सार्वभौम एआई क्षमता विकास गर्न सहयोग पुग्ने प्यानलको भनाइ छ ।

स्थानीय भाषा र सांस्कृतिक परिवेशअनुकूल एआई मोडेल विकास गर्दै आवश्यक जनशक्ति र प्राविधिक क्षमता विस्तार गर्न सकिने पनि प्रतिवेदनमा उल्लेख छ । साथै, अत्याधुनिक एआई प्रणाली प्रयोग गर्नुअघि र प्रयोगका क्रममा प्रभावकारी सुरक्षा मापदण्ड तथा नियमन सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।

प्यानलका अनुसार यसरी अघि बढ्दा देशहरूले एआईसँग सम्बन्धित विभिन्न जोखिम न्यूनीकरण गर्दै यसको सम्भावित लाभमा व्यापक सहभागिता जनाउन सक्नेछन् ।

प्रतिवेदनले तथ्याङ्क र त्यसको व्यवस्थापनलाई सबैभन्दा बढी पुनःप्रयोग गर्न सकिने महत्वपूर्ण आधारका रूपमा औँल्याएको छ । तर, यस क्षेत्रमा हाल सबैभन्दा कम लगानी भइरहेको पनि उल्लेख गरिएको छ ।

खुला एआई मोडेल, भाडामा लिइएको कम्प्युटिङ क्षमता र व्यवस्थित स्थानीय तथ्याङ्कको प्रयोगबाट तुलनात्मक रूपमा कम खर्चमै भाषा मोडेललाई स्थानीय आवश्यकताअनुसार सफलतापूर्वक परिमार्जन गर्न सकिने प्यानलले जनाएको छ ।

उक्त विषयगत प्रतिवेदन बार्बाडोस सरकार र संयुक्त राष्ट्रसंघको सहआयोजनामा सोमबार आयोजना हुने एआई सुरक्षासम्बन्धी ब्रिजटाउन विशेष शिखर सम्मेलनअघि सार्वजनिक गरिएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan