Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीपछिको पुनर्लाभका लागि रु सात खर्ब २३ अर्ब लाग्ने आकलन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २६ शुक्रबार |

काठमाडौँ, २६ भदौः भोटेकोशी बाढीबाट रु चार खर्ब आठ अर्ब २८ करोडभन्दा बढीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ । उक्त विपद्को द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनअनुसार पुनःनिर्माण एवं पुनःस्थापनाका लागि रु सात खर्ब २३ अर्ब ३१ करोड ५२ लाख आवश्यक पर्नेछ ।
 
राष्ट्रिय योजना आयोग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय तथ्याङ्क कार्यालय, कृषि, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलगायत निकायका प्रतिनिधि सम्मिलित समितिले तयार गरेको सो प्रतिवेदनअनुसार आगामी छ महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनःस्थापनाका लागि रु आठ अर्ब ७३ करोड ५० लाख अनुमान गरिएको छ ।
 
समितिले आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसमक्ष पेश गरेको उक्त प्रतिवेदनमा विनाशकारी बाढीबाट सात हजार ५७० वटा निजी घरहरू क्षतिग्रस्त भएको उल्लेख छ । यसबाहेक ४८ वटा सार्वजनिक भवन, १८ वटा विद्यालय, सात वटा स्वास्थ्य संस्था र ३० वटा सांस्कृतिक सम्पदामा क्षति पुगेको छ ।
 
यी सामाजिक क्षेत्रको पुनःस्थापनाका लागि रु एक खर्ब तीन अर्ब ५४ करोड ९९ लाख बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । बाढीले सडक, पुल, सुक्खा बन्दरगाह, सर्वसाधारणका घरखेत, व्यवसाय, मालवाहक कन्टेनर, नाकामा आइपुगेका सवारीसाधनलगायत बगाएको छ । आकलनअनुसार विपद्बाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि रु चार खर्ब ७३ अर्ब ५७ करोड १९ लाख लाग्ने अनुमान गरिएको छ । पूर्वाधार क्षेत्रमध्ये पनि ऊर्जा र सडकमा व्यापक क्षति पुगेको छ ।
 
७५९ मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजना र २४ मेगावाटका पाँचवटा सोलार प्लान्ट प्रभावित भएका छन् । यसका कारण ऊर्जा तथा ग्रीड प्रणालीको पुनरुत्थानका लागि मात्रै रु तीन खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार आवश्यक पर्ने देखिएको छ ।
 
बाढीबाट ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएको छ भने ३७ वटा मोटरेबल पुलमा क्षति पुगेकामा ३३ वटा बगेका छन् । यस्तै, ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि रु ७३ अर्ब ३४ करोड २९ लाख ६० हजार  लाग्ने देखिन्छ ।
 
बाढीका कारण उत्पादन क्षेत्रमा पनि ठूलो असर परेको छ । उत्पादन क्षेत्रअन्तर्गत एक हजार ८०६ हेक्टर कृषि बालीका साथै पशुपालन, पंक्षीपालन तथा माछापालन पनि प्रभावित भएको छ । त्यसैगरी, १७ वटा बैंक शाखा र चार हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् ।
 
यी क्षेत्र पुनरुत्थानका लागि रु ५० अर्ब ७७ करोड ४९ लाख लाग्ने आँकलन छ । प्रारम्भिक प्रतिवेदन स्याटेलाइट तस्बिर, ड्रोन सर्भे, सम्बन्धित मन्त्रालय, विभाग तथा निकायबाट प्राप्त तथ्याङ्क तथा विवरणको विश्लेषण गरेर तयार गरिएको होे ।
 
अध्ययन समितिका तर्फबाट राष्ट्रिय योजना आयोगका सहसचिव अर्जुन भण्डारीले प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीलाई उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan