चाडपर्वले सामाजिक एकतालाई अझ बलियो बनाउँछः मुख्यमन्त्री थापा
भक्तपुर, २७ भदौः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ऐतिहासिक एवं धार्मिक महत्व रहेको गुँला पर्वले समृद्ध नेवाः संस्कृति, परम्परा र सामाजिक एकतालाई अझ बलियो बनाउने बताउनुभएको छ ।
मध्यपुरथिमि नगरपालिका–७ नगदेश पुखुसीस्थित नेवाः ऐतिहासिक सांस्कृतिक भजन खलः मध्यपुरथिमिले आयोजना गरेको गुँला पर्वको समापन कार्यक्रममा मुख्यमन्त्री थापाले धार्मिक र सामाजिक एकताको बलियो आधार गुँला पर्व रहेको बताउनुभयो । उहाँले नेवाः समुदायको मौलिक कला, संस्कृति, परम्परा र धार्मिक आस्थाको संरक्षण एवं पुस्तान्तरणमा यस्ता सांस्कृतिक पर्वको महत्त्वपूर्ण योगदान रहँदै आएको बताउँदै यस्ता धार्मिक पर्वले पर्यटनको विकासमा टेवा पुर्याउने बताउनुभयो ।
प्रदेश सरकारले धार्मिक पर्यटनको विकासका लागि बजेट विनियोजन गरेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले धार्मिक, ऐतिहासिक एवं मूर्त तथा अमूर्त कला संस्कृतिको संरक्षणमा प्रदेश सरकारले अग्रस्थानमा रहेर कार्य गर्ने बताउनुभयो । उहाँले कार्यक्रममा एकमहिने गुँला पर्व सफल पार्न भूमिका निर्वाह गर्ने विभिन्न व्यक्तिलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा सङ्घीय सांसद मदनकृष्ण श्रेष्ठ, बागमती प्रदेश सदस्य सकुन्तला श्रेष्ठ, मध्यपुरपथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपपमुख विजय श्रेष्ठलायतले गुँला पर्वले नेवाःहरूको कला, संस्कृति र परम्परालाई जीवन्त राख्दै संस्कृतिको संरक्षणमा टेवा पुर्याएको बताउनुभयो ।
