Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जेन-जी विद्रोहपछि पनि आशा मरेन त ? लिङदेनको प्रश्न-‘देश अनिश्चितताको अँध्यारो सुरुङमा’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २८ आइतबार |
newsabhiyan

काठमाडौं, २८ भदौ ।  जेन-जी विद्रोहले सडकमा उठाएको आवाज सत्ताको गल्लीसम्म पुगे पनि त्यसको परिणाम जनताको जीवनमा आशाको उज्यालो बन्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बताउनुभएको छ।

उहाँले विद्रोहपछि परिवर्तनको अपेक्षा झन् बढेको तर त्यसअनुसार देश अघि बढ्न नसकेको भन्दै मुलुक अनिश्चितताको अँध्यारो सुरुङतर्फ धकेलिएको टिप्पणी गर्नुभएको हो।

आइतबार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै लिङदेनले जन-जी विद्रोह जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनताको आकांक्षा पूरा हुने वातावरण अझै बन्न नसकेको बताउनुभयो।

“जुन विद्रोह भएको थियो, जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनतामा आशा जाग्ने काम हुन सकेको छैन,” उहाँले भन्नुभयो, “जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अगाडि बढ्न सकेको देखिँदैन। बरु आशा जाग्नुको सट्टा अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको अवस्था छ।”

लिङदेनको यो अभिव्यक्ति केवल सरकारमाथिको टिप्पणीमा सीमित छैन। यसले जन-जी आन्दोलनपछि राजनीतिक दलहरूले आफूलाई कति बदले भन्ने मूल प्रश्नसमेत उठाएको छ।

उहाँका अनुसार राजनीतिक तरलता र अनिश्चय झन् बढ्दै गएको छ। सडकमा परिवर्तनको माग गर्ने पुस्तालाई पुरानै राजनीतिक शैली, सत्ता समीकरण र भागबण्डाको खेलले निराश बनाउने खतरा रहेको उहाँको भनाइको आशय छ।

महाधिवेशन रोकिँदैन, पार्टीभित्रै ‘सर्जरी’ आवश्यक
लिङदेनले राप्रपाको आगामी महाधिवेशन कुनै कारण वा बहानामा नरोकिने स्पष्ट पार्नुभएको छ। मङ्सिर २६, २७ र २८ गते हुने महाधिवेशनलाई पार्टी पुनर्निर्माणको अवसरका रूपमा उपयोग गर्नुपर्ने उहाँको भनाइ छ।

पार्टीभित्र देखिएका कमजोरीलाई सच्याउँदै नयाँ ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले विगतका गल्ती र कमी–कमजोरी दोहोर्याउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो।

तर लिङदेनले औंल्याएको अर्को विषय अझ राजनीतिक रूपमा विस्फोटक छ—सांसद खरिद–बिक्रीको आरोप।

‘सांसद खसी–बाख्राजस्तो बिक्री हुन तयार भएपछि के भन्ने ?’

लिङदेनले नेकपा एमालेको नामै लिएर राजनीतिक दलहरू अझै नसुध्रिएको आरोप लगाउनुभएको छ। वागमती प्रदेश सरकार निर्माणका क्रममा एमालेले राप्रपाका सांसद खरिद गरेको आरोपसमेत उहाँले लगाउनुभयो।

ठूलो राजनीतिक परिवर्तन र जन-जी विद्रोहपछि पनि सांसद खरिद–बिक्रीजस्ता विकृति दोहोरिनु दुर्भाग्यपूर्ण भएको उहाँको भनाइ छ। तर यहाँ लिङदेनले आफ्नै पार्टीलाई पनि प्रश्नको घेरामा राख्नुभएको छ।

“आफ्नै थैलो हामीले राम्रो बाँध्न नसकेपछि उनीहरूलाई मात्रै के भन्ने ? आफ्नै मान्छे खसी–बाख्राजस्तो बिक्री हुन तयार भएपछि हामीले के भन्ने ?” उहाँले प्रश्न गर्नुभयो।

यो प्रश्न विपक्षी दलतर्फ लक्षित आरोप मात्र होइन, आफ्नै दलको राजनीतिक अनुशासन र सांसदको भूमिकामाथिको आत्मसमीक्षासमेत हो।

जनताको मतबाट निर्वाचित सांसद सत्ता समीकरण बदल्ने ‘वस्तु’ बन्ने हो भने जन-जी विद्रोहले उठाएको राजनीतिक शुद्धीकरणको माग कहाँ पुग्यो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।

सडकले व्यवस्था बदल्न खोज्यो, तर राजनीति बदलियो त ?
लिङदेनको अभिव्यक्तिले यही प्रश्नलाई फेरि बहसको केन्द्रमा ल्याएको छ। जनताले खोजेको परिवर्तन केवल सरकार फेरबदल होइन, राजनीतिक संस्कारको परिवर्तन पनि हो।

सत्ता बनाउन र गिराउन सांसदको अंकगणित आवश्यक होला, तर त्यो अंकगणित नै किनबेचको आरोपसम्म पुग्यो भने लोकतान्त्रिक व्यवस्थाप्रतिको जनविश्वासमाथि नै प्रश्न उठ्छ।

राप्रपा अध्यक्षको चेतावनीको सार पनि यही देखिन्छ—जनताको विद्रोहलाई केवल सत्ता समीकरणको नयाँ गणितमा सीमित गरियो भने सडकमा उठेको असन्तोष फेरि अर्को रूप लिएर फर्किन सक्छ।

अब राजनीतिक दलहरूको अगाडि प्रश्न एउटै छ—जन-जीले दिएको चेतावनी सुन्ने कि पुरानै खेल दोहोर्याएर जनताको आशालाई फेरि अनिश्चितताको सुरुङमै धकेल्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan